शान्ति सुरक्षाको प्रत्याभूति गरः इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्रले असोज २३ गते नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनलाई अपराधिक समूहले काठमाडौँमा गोली हानी हत्या गरेको घटनाप्रति ध्यानाकर्षण जनाउँदै शान्ति सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग माग गरेको छ ।

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा असोज २४ गते जारी प्रेस विज्ञप्तिमा 'राजधानीमा भएको यो घटनाले हाम्रो देशको शान्ति सुरक्षाको अवस्था उजागर गरेको छ ।'-भनिएको छ ।

'देशमा व्याप्त दण्डहीनता र राजनीतिमा भएको अपराधिकरणका कारण यस्ता प्रकृतिका अन्य घटनाहरू हुने गरेको हामीले पटकपटक बताउँदै आएका छौँ । साना हतियारको बिगबिगी हुनु, अपराधमा संलग्नलाई राजनीतिक संरक्षण दिइनु, यस्ता घटनाहरूको प्रभावकारी अनुसन्धान र प्राप्त निष्कर्षको कार्यान्वन्यन नगरिनु जस्ता कारण अपराध कर्ममा संलग्नहरूले सजिलै उन्मुक्ति पाउने गरेका छन् ।'-विज्ञप्तिमा उल्लेख छ ।

गौचन हत्याको घटनामा संलग्नहरूको पहिचान तथा अनुसन्धान गर्ने कार्यमा नेपाल प्रहरीलाई आवश्यक सम्पूर्ण सहयोग गर्न तथा आगामी दिनमा यसप्रकारका घटना हुन नदिन विशेष कदम चाल्न इन्सेकले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।


अनलाइन डेस्क