शान्ति सुरक्षाको अवस्था सन्तोषजनक छैनः अध्यक्ष प्याकुरेल

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले निर्वाचन केन्द्रीत शान्ति सुरक्षाको अवस्था सन्तोषजनक नरहेको आरोप लगाएका छन् ।

विराटनगरमा मङ्सिर १६ गते आयोजित एक कार्यक्रममा अध्यक्ष प्याकुरेलले दुई महिना यता दिनैपिच्छे बम पड्कने घटना भइरहँदा पनि सरकारले सुरक्षा प्रदान गर्न नसकेको आरोप लगाएका हुन् ।

उनले निर्वाचनका समयमा पनि उम्मेदवारलाई सुरक्षा प्रदान गर्न सरकार गैरजिम्मेवार भएको आरोप लगाएका हुन् । अध्यक्ष प्याकुरेलले बम पड्केर सुरक्षाकर्मीको मृत्यु भएको, उम्मेद्वार घाइते/अपाङ्ग हुँदा पनि सुरक्षा व्यवस्था मजबुद बनाउनुको सट्टा सरकार 'कानमा तेल हालेर बसेको' आरोप लगाएका छन् ।

त्यसैगरी नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष ईन्द्रप्रसाद अर्यालले पर्यवेक्षक निष्पक्ष हुनुपर्ने बताए । उनले एउटा पर्यवेक्षकले गल्ती गरे त्यसले निर्वाचनको स्वच्छतामा आँच आउने भन्दै एकदमै सजग  भएर पर्यवेक्षण गर्न सुझाव दिएका छन् ।

मोरङका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिबडाले पर्यबेक्षण नाममात्रको हुन नहुने बताए । उनले  कतिपय अवस्थामा पर्यवेक्षकको कार्ड दुरूपयोग भएको पाइएको भन्दै यसको नियन्त्रण पर्यवेक्षक आफैँले गर्नुपर्ने बताए ।


इन्दिरा भट्टराई