शान्ति सुरक्षाका लागि मानव अधिकारकर्मीहरूको अपिल

पछिल्ला दिनमा बाँकेमा लगातार भएका अपराधिक घटनाहरूबाट आम नागरिकका शान्ति सुरक्षामा खलल् पुगिरहेको घटनाप्रति नेपालगञ्जस्थित विभिन्न मानव अधिकारकर्मीहरूको ध्यानाकर्षण भएको छ ।

मानव अधिकारकर्मीहरूको ०८० चैत २० गते हस्ताक्षरित विज्ञप्तिमार्फत उल्लेखित घटनाले आम नागरिकहरूको बाँच्न पाउने अधिकारमा खलल् पुगेको भन्दै सम्बन्धित निकाय चनाखो र प्रभावकारी भूमिका निर्वाह गर्न अपिल गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–२१ का २२ वर्षीय अरवी खाँको घाँटी रेटी चैत १८ गते हत्या गरिएको अवस्थामा शव फेला परेको घटना, होली पर्वको बेला भएका झडपहरू, दिनदहाडै भएको हत्याका अन्य अपराधका घटनाले नागरिकका जिउज्यान धनको सुरक्षामा गम्भीर चोट पुगेको छ ।

नेपालगञ्ज लगायत खजुरा गाउँपालिकामा भएका हत्या हिंसाका घटनाले स्वातन्त्रपूर्वक, भयरहित वातावरण बाँच्न पाउने नागरिकको संवैधानिक अधिकार र उपभोगमा असर परेको विज्ञप्तिमा उल्लेख छ ।

राज्य पक्षबाट शान्ति सुरक्षको जिम्मेवारी लिएका स्थानीय प्रहरी प्रशासनले शान्ति सुरक्षा प्रति चनाखो र अपराधिक घटनामा संलग्न व्यक्ति समूहको पहिचान गरी कानुनी दायरामा ल्याई पीडकलाई कारवाही र पीडितलाई न्याय दिन अपील गरिएको छ । समाजमा मानव अधिकार उल्लङ्घन तथा ज्यादितीका घटनाहरू हुन नदिन राज्यका सुरक्षा संयन्त्रहरूलाई थप चनाखो हुन र प्रभावकारी भूमिका निर्वाह गर्न समेत सम्बन्धित पक्षसँग विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, नेपालगञ्ज बार उच्च अदालत बार एशोसिएसनका अध्यक्ष चित्र बहादुर शाही, इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत्त, एडभोकेसी फोरम नेपालका वरिष्ठ प्रदेश संयोजक बसन्त गौतम, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजीत तिवारी, मानव अधिकार एलायन्सका केन्द्रीय सदस्य प्रभात कुमार ठकुरी, सामाजिक लोकतन्त्र अध्ययन केन्द्र बाँकेका संयोजक बल बहादुर चन्द, अधिवक्ता केवल सिंह थारुको संयुक्त हस्ताक्षरमा विज्ञप्ति मार्फत अपिल गरेका छन् ।


ध्रुबराज शर्मा