शान्ति सम्झौताका १४ वर्षः द्वन्द्वपीडितमाथि कुठाराघात-इन्सेक
शान्ति सम्झौताका १४ वर्षसम्म पनि द्वन्द्वपीडितले न्याय नपाएको विषयलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले द्वन्द्वपीडितमाथि भएको कुठाराघातका रुपमा चित्रण गरेको छ ।
तत्कालीन विद्रोही नेकपा माओवादी र नेपाल सरकारका बिचमा २०६३ मङ्सिर ५ गते सम्पन्न विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष पुगेको अवसरमा इन्सेककी अध्यक्ष डा इन्दिरा श्रेष्ठद्वारा मङ्सिर ६ गते जारी विज्ञप्तिमा सो कुरा चित्रण गरिएको हो ।
'द्वन्द्वपीडित र यसबाट प्रभावित व्यक्तिहरूका सरोकार र उनीहरूमाथि भएको अन्याय निरूपणका लागि गरिनुपर्ने अर्थपूर्ण पहलकदमीका रुपमा तत्कालिन विद्रोही पक्ष र नेपाल सरकारबाट यसको निरुपणका लागि गठन गरिएका सङ्क्रमणकालीन न्यायसम्बन्धी संरचना प्रभावकारी हुन नसक्नुलाई दुःखद् पक्षका रुपमा लिनु पर्दछ ।'-विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा उठाइएका मुख्य बुँदाहरू
- सत्यको खोजी, न्यायको सुनिश्चितता, परिपूरणको व्यवस्था र संरचनागत सुधारमार्फत द्वन्द्वको समयमा भएका गम्भीर मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका पीडितहरूको न्यायको सरोकारहरुलाई सम्बोधन गर्न ठोस पहलकदमी हुन नसक्नु विस्तृत शान्ति सम्झौता कार्यान्वयनको प्रमुख चुनौतीको रुपमा देखिएको हामीले महसुश गरेका छौँ ।
- सङ्क्रमणकालीन न्यायिक संरचनाहरूमा न्यायको माग गरी करिब ६३ हजार द्वन्द्वपीडितले उजुरी दर्ता गरेका छन् । इन्सेकले तयार गरेको द्वन्द्वपीडित पाश्र्वचित्रमा हत्याका घटना १३ हजार २ सय ४८ र बलपुर्वक बेपत्ता पारिएका ९ सय ३१ घटना अभिलेखित छन् । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयद्वारा प्रकाशित ‘नेपाल द्वन्द्व प्रतिवेदन २०१२’ ले सशस्त्र द्वन्द्वका क्रममा मानव अधिकार तथा मानवीय कानुन उल्लङ्घनका १० हजारभन्दा बढी घटना भएको उल्लेख गरेको छ । सङ्क्रमणकालीन न्यायका सवाल निरुपण गर्न गठित संरचनाले उजुरी दर्तामा मात्र आफ्नो भूमिका सीमित नगरी कानुनको संसोधनमार्फत् विस्तृत शान्ति सम्झौताको मर्म अनुसार कार्यसम्पादन प्रक्रियामा तदारुकता दिन इन्सेक जोडदार माग गर्दछ ।
द्वन्द्वकालीन गम्भीर अपराधमा क्षमादान दिन नमिल्ने भनी सर्वोच्च अदालतको पूर्ण इजलासको २०७७ वैशाख १४ गतेको आदेश र सर्वोच्च अदालतले २०७० पुस १८ गते जारी गरेको परमादेश र मानव अधिकारका विश्वव्यापी मान्यता अनुरूप द्वन्द्वपीडितका सवालमा विद्यमान कानुनहरूको तत्काल संशोधन गर्न इन्सेक जोडदार माग गर्दछ । साथै यससँग सम्बन्धित आवश्यक थप कानुनहरू यथाशीघ्र निर्माण गरी सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित संयन्त्रहरू सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगहरूको प्रभावकारिता सुनिश्चित गर्न पनि इन्सेक आग्रह गर्दछ ।
सम्भावित घटना नदोहोरिने सुनिश्चितता र द्वन्द्वपीडितको न्याय, दिगो शान्ति, सामाजिक न्याय, मानव अधिकार र कानुनी शासनप्रतिको प्रतिवद्धता पुरा गरी द्वन्द्वपीडितहरूको न्यायका सरोकार शीघ्र सुनिश्चित गर्नुका साथै विस्तृत शान्ति सम्झौताको अभिन्न अङ्गका रुपमा रहेको सङ्क्रमणकालीन न्यायको मर्मलाई इमान्दारिताका साथ कार्यान्वयनमा ल्याउन राजनीतिक दलहरू र नेपाल सरकारसँग इन्सेक जोडदार माग गर्दछ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
‘बालिका आमा’ को सङ्ख्या बढ्दै, एकै वर्षमा ९० किशोरीले जन्माए सन्तान
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १ सय ७३ मा ‘बाल विवाह गर्न नहुने’ सम्बन्धी व्यवस्था उल्लेख छ । जसको दफा १ मा ‘विवाह गर्ने…
कोशी प्रदेशमा प्रभावहीन बालमैत्री स्थानीय शासन अवधारणा
सरकारले बाल अधिकारको सम्मान गर्दै बालमैत्री स्थानीय तह बनाउनका लागि कार्यविधि जारी गरेपनि कोशी प्रदेशमा बालमैत्री स्थानीय शासन अवधारण गतिहीन भएको छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासनको प्रर्वदन गर्नका…
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गतको जिल्ला अस्पतालमा कार्यरत पाँच जना चिकित्सकले गत वैशाखदेखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।…
बालविवाह रोक्न बालिका बिमा
गैँडहवा गाउँपालिकाले गाउँपालिकामा जन्मिएका बालिकाहरूको बालिका बिमा गर्ने निर्णय गरेको छ । 'छोरी बचाउ छोरी पढाउ' अभियान अन्तर्गत गैँडहवा गाउँपालिकामा जन्मिएका बालिकाको प्रोत्साहन गरी छोरीको शैक्षिक विकास, छोरा र छोरी…
कोशी प्रदेशमा १ हजार ७ सय २७ जनामा डेङ्गीको सङ्क्रमण
कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीको सङ्क्रमण बढेपछि चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन । कोशी प्रदेशमा ०८१ साउनदेखि ०८१ असोज २३ गतेसम्ममा १ हजार ७ सय २७ जनामा…