शान्ति प्रक्रियाका बाँकी कामहरू टुङ्ग्याउने कार्यलाई उपेक्षा गरेको अधिकारकर्मीहरूको गुनासो
अधिकारकर्मी तथा द्वन्द्व पीडितहरूले शान्ति प्रक्रियाका बाँकी कामहरू टुङ्ग्याउने कार्यलाई सरकार र राजनीतिक दलहरूले उपेक्षा गरेको गुनासो गरेका छन् ।
अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा साउन ३ गते काठमाडौँमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले शान्ति प्रक्रियासँग जोडिएका महत्वपूर्ण कार्यहरू उपेक्षामा परेको बताएका हुन् ।
कार्यक्रममा इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले विस्तृत शान्ति सम्झौता पुरा भएको लामो समय बितिसक्दा पनि द्वन्द्व पीडितहरूले न्याय नपाउनु बिडम्बनापूर्ण रहेको बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले राज्य द्वन्द्व पीडितहरूका सवालमा संवेदनशील नबन्नुमा इमान्दारिताको अभाव रहेको दाबी गर्नु भयो ।
पीडितले न्याय नपाउनुका धेरै कारणहरू मध्ये पीडितहरूको एकतामा पनि कमी रहेको उहाँको भनाई छ ।
उहाँले अबको बाटो भनेको नागरिक अगुवाहरूले शक्ति प्रदर्शन गर्न पनि पछि पर्न नहुने भन्दै त्यस तर्फ आग्रह गर्नु भयो ।
यस्तै कार्यक्रममा इन्सेक कार्य समिति सदस्य शोभाकर बुढाथोकीले नेपालको सन्दर्भमा राज्य र राजनीतिक दल दुबै पक्षले पीडितलाई न्याय दिने कार्यमा सदैव अवरुद्ध गर्न खोजेको आरोप लगाउनु भयो ।
उहाँले सरकारमा रहेकाले आफूलाई बचाउने वा आफ्ना पक्षमा रहेका व्यक्तिहरूलाई आयोगमा स्थान दिने कार्यको अन्त्य आवश्यक रहेको बताउनु भयो ।
द्वन्द्व पीडित साझा चौतारीकी अध्यक्ष मैना कार्कीले सरकारले हालै एक वर्षका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोग र यसका पदाधिकारीहरूको म्याद थप गर्दै जानुले पीडितलाई थप पीडा दिएको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।
कार्कीले अबको आन्दोलनमा घरबाट चामल र दाल बोकेर भए पनि न्यायका लागि लड्ने प्रतिबद्धता जनाउँदै आदोलनको विकल्प नभएको बताउनुभयो ।
पीडितका लागि आएका राहत खाएर बाँचेको आयोग प्रति आफूहरूलाई कुनै विश्वास नभएको समेत कार्कीको भनाई छ ।
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले विगतमा इन्सेकले सङ्क्रमणकालीन न्यायका लागि सदैव पहलकदमी लिएको जानकारी गराउँदै आगामी दिनमा पनि पीडितको न्यायका लागि लड्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
उहाँले राजनीतिक दल र सरकारले द्वन्द्व पीडितहरूका समस्या समाधान गर्न इच्छुक नदेखिनु गम्भीर विषय रहेको बताउनु भयो ।
यस्तै मानव अधिकार आयोगकी उपसचिव सरिता ज्ञवालीले आयोगले पीडितका लागि गर्नुपर्ने कार्यहरू नियमित रूपमा सम्पादन गरिरहेको जानकारी दिनु भयो ।
उहाँले मानव अधिकार आयोग सँधै पीडितहरूको साथमा रहेको बताउनु भयो ।
ज्ञवालीले कानुनी कठिनाईका कारण पीडकहरूलाई कारबाहीको दायरामा ल्याउन नसकेको बताउनु भयो ।
त्यस्तै अधिकारकर्मी इन्द्र अर्यालले द्वन्द्व पीडितहरूले न्यायमा नपाउनुमा नागरिक समाज दोषी भए सच्चिनु पर्ने बताउनु भयो ।
इन्सेक मानव अधिकार प्रलेख तथा पैरवी विभाग प्रमुख श्रीराम बजगाईँले नागरिक समूहहरू बीचको छलफल नागरिक समाज भित्र मात्रै सीमित भएकाले यसलाई वृहत रूपमा अघि बढाउन आग्रह गर्नुभयो ।
यसैगरी इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले सङ्क्रमणकालीन न्यायको समयमै निरुपण नहुँदा जटिलता थपिँदै जाने बताउनु भयो ।
विमला पौडेल
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…