शव वाहन, सेफ हाउस र कारागारमा सवारी साधन व्यवस्था गर्न माग गर्दै इन्सेकद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  ०८१ असोज ८ गते

जिल्लामा शव वाहन, सेफ हाउस र कारागारमा सवारी साधनको व्यवस्था गर्न आग्रह गर्दै इन्सेकले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

इन्सेक खोटाङले ०८१ असोज ७ गते प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ज्ञापनपत्र पठाएको हो ।

जिल्लामा शव वाहनको व्यवस्था नहुँदा हिंसामा परेर ज्यान गुमाएका वा भवितव्यमा परि ज्यान गुमाएकाहरूको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदा ५० हजार रुपियाँ भन्दा बढी भाडा तिरेर ट्रयाक्टर रिर्जभ गर्नुपर्ने, जिल्लामा सेफ हाउस नहुँदा हिंसा पीडित महिला बालिकालाई थप हिंसामा पर्नबाट जोगाउन नसकिने अवस्था र जिल्ला कारागारमा सवारी साधनको व्यवस्था नहुँदा कैदीलाई आकस्मिक तथा नियमित स्वास्थ्यजाँचमा अस्पताल लैजान समस्या, अदालतमा तारेख वा बयानका लागि अदालतमा हाजिरीमा उपस्थित गराउन समस्या जस्ता विषयलाई इन्सेकले ज्ञानपत्रमा उल्लेख गरेको छ ।

प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्र बुझ्दै खोटाङका प्रमुख जिल्ला अधिकारी शिवबहादुर कार्कीले इन्सेकले उठाएका समस्याले जिल्लावासीलाई साँच्चिकै पीडा दिएको बताउनु भयो । उहाँले हिंसामा परेर होस् वा भवितव्यमा परेर ज्यान गुमाएकाहरूको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउनुपर्ने र जिल्लामा सरकारी शव वाहन नहुँदा ५० हजार रुपियाँ भन्दा बढी भाडा तिरेर ट्रयाक्टर रिर्जव गर्नुपर्ने अवस्थाले नागरिक थप पीडामा परेको बताउनु भयो ।

घरेलु हिंसामा परेका वा हिंसा पीडित महिला बालिकालाई तत्कालै उद्दार गर्नुपर्ने अवस्थामा जिल्लामा सेफ हाउस नहुँदा हिंसा पीडितहरूको संरक्षण गर्न नसकिएको बताउनु भयो ।

इन्सेकले ज्ञापनपत्रमा जिल्ला कारागारमा सवारी साधन नभएको विषयलाई समावेश गरेको भन्दै प्रमुख जिल्ला अधिकारी कार्कीले राज्यका संयन्त्रले उठाउनुपर्ने विषय इन्सेकले उठाएका कारण मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा इन्सेकको भूमिका साँच्चिकै अग्रस्थानमा रहेको बताउनु भयो ।

इन्सेक खोटाङ प्रतिनिधि तारानाथ फुयलले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउने क्रममा पत्रकार, अधिकारीकर्मी, जिल्लास्थित सरकारी कार्यालयका प्रतिनिधिलगायतको उपस्थिती रहेको थियो ।

Photo 20240922 Khotang (2)

Photo 20240922 Khotang (1)


तारानाथ फुयल