शङ्कास्पद हत्या घटनामा पीडित परिवारले वर्षौसम्म न्याय नपाएको गुनासो

  ०७८ कात्तिक ५ गते

एक बालिकासहित दुई जना महिलाको हत्या भएको घटना वर्षौ बितेपनि पीडित परिवारले अझै न्याय नपाएको गुनासो गरेको छ ।

खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया बालिका रीता तामाङको ०७३ माघ २६ गते हत्या गरिएको अवस्थामा खोटेहाङ गाउँपालिका–९ स्थित कुशेऔँसी भनिने जङ्गलको भीरमा शव भेटियो । हलेसी तुवाचुङ्ग नगरपालिका–७ महादेव स्थानकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्माको ०७४ जेठ १६ गते स्याउला काटेर घर फर्किरहेको अवस्थामा महादेव स्वास्थ्य चौकी नजिक शव फेला परेको थियो ।

जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्मा जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खशिवालयबाट घर फर्किएको अवस्थामा ०७४ साउन ४ गते अर्ध नग्न अवस्थामा शव फेला पर्‍यो।

जिल्लामा रहस्यमय तरिकाले हत्या भएका एक बालिकासहित दुई महिलाको परिवारले अझै न्याय नपाएको गुनासो गरेको छ ।

घटनामा संलग्नहरूको पहिचान हुन नसक्दा पीडित परिवारलाई वर्षौसम्म न्याय दिलाउन नसकेको जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत सागर शाहले बताउनु भयो ।

१७ वर्षीया बालिका रीता तामाङ सिम्मपानी बजारमा रहेको एक होटलमा काम गर्थिन । ०७३ माघ २६ गते हत्या गरिएको अवस्थामा खोटेहाङ गाउँपालिका–९ स्थित कुशेऔँसी भनिने जङ्गलको भीरमा रीताको शव भेटियो ।

रीताका ५६ वर्षीय बाबु वीरबहादुर तामाङले छोरीका हत्यारालाई कारबाही गर्न माग गर्दै ०७३ फागुन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भयो । उजुरी दिएको ६ वर्ष बितेपनि प्रहरीले घटनामा संलग्नहरूको पहिचान गरी गिरफ्तार नगर्दा आफूहरूले न्याय नपाएको वीरबहादुरले गुनासो गर्नुभयो । शवको पोष्टमार्टम ०७३ माघ २७ गते जिल्ला अस्पतालमा गरी सोही दिन शव बुझेर अन्त्येष्टी गरिएको वीरबहादुरले बताउनु भयो ।

५७ वर्षीया ज्ञानीमाया विश्वकर्माको ०७४ जेठ १६ गते स्याउला काटेर घर फर्किरहेको अवस्थामा शव फेला परेको २१ वर्षीया छोरा खेमराज विश्वकर्माले बताउनु भयो ।

आमाको शव हत्या गरिएको अवस्थामा फेला परेपछि आफूहरूले ०७४ जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपनि हालसम्म आरोपितलाई प्रहरीले गिरफ्तार गर्न नसकेको छोरा खेमराजले बताउनु भयो । शवको पोष्टमार्टम जिल्ला अस्पतालमा ०७४ जेठ १७ गते गरी सोही दिन सद्गत गरेको खेमराजले बताउनु भयो ।

आमाको हत्या भएको विषयमा ०७७ चैत महिनामा जिल्ला प्रहरी कार्यालयमा गएर अवस्था बुझ्दा दोषीको पहिचान हुन नसकेकाले कानुनी कारबाही अघि बढाउन नसकेको भनि प्रहरीले जबाफ दिएको खेमराजले बताउनु भयो ।

जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्मा जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खशिवालयबाट घर फर्किएको अवस्थामा ०७४ साउन ४ गते अर्ध नग्न अवस्थामा शव फेला परेको गाउँपालिका अध्यक्ष शङ्कर राईले बताउनु भयो ।

पीडित परिवारले दोषीलाई कारबाही गर्न माग गर्दै ०७४ साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको भए पनि हालसम्म दोषी पहिचान गरी प्रहरीले गिरफ्तार नगर्दा पीडित परिवार न्यायबाट वञ्चित हुनु परेको अध्यक्ष राईले बताउनु भयो ।

तत्कालीन अवस्थामा घटनास्थलमा मडारिएको र सङ्घर्ष गरेको भनि प्रहरीले मुचुल्का उठाए पनि अनुसन्धानलाई फराकिलो ढङ्गले अघि बढाउन नसक्दा पीडित परिवारले न्यायबाट वञ्चित हुनु पर्ने हो कि ? भन्ने प्रश्न उब्जिएको अध्यक्ष राईले बताउनु भयो । शवको पोष्टमार्टम जिल्ला अस्पतालमा साउन ६ गते गरी सोही दिन सद्गत गरिएको थियो ।

जिल्लामा भएका तीन ओटै घटना शङ्कास्पद भएपनि घटनामा संलग्नहरूको पहिचान गरी दोषीलाई कानुनी कारबाहीमा दायरामा ल्याउन ढिला हुँदा पीडित परिवारले न्याय पाउने अधिकारबाट वञ्चित हुनु पर्ने अवस्था देखिएको राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १, शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेले बताउनु भयो । उहाँले घटना शङ्कास्पद भएको र महिला भएकै कारण हत्या भएकाले अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरीलाई आयोगका तर्फबाट चिठी लेखिएको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत सागर शाहले घटनाका सम्बन्धमा हाल के भइरहेको छ भन्ने बताउन नमिले पनि प्रहरीले अनुसन्धानलाई अघि बढाई रहेको बताउनु भयो ।

यस अघिका डिएसपी विद्यानन्द माझी, नविनकिशोर प्रधान, लोकदर्शन थापा ,राजकुमार केसी, वामदेव गौतम ,नारायणप्रसाद चिमोरियाले समेत घटना अनुसन्धान भइरहेको बताए पनि अनुसन्धानको अवस्थामा भने सार्वजनिक गर्न सकेका थिएनन् ।

जिल्लामा आएका प्रमुख जिल्ला अधिकारी र डिएसपीले घटनामा संलग्नहरूको पहिचान गरी पीडित परिवारलाई न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरेपनि पीडित परिवार अझै न्याय नपाएको प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले बताउनु भयो ।

उहाँले पीडित परिवारले न्याय पाउने विषयमा मानव अधिकारकर्मी, पत्रकार, इन्सेकलगायत आवाज बुलन्द गर्न आवश्यक रहेको बताउनु भएको छ ।


तारानाथ फुयल