शङ्कास्पद अवस्थामा भेटिएको महिलाको शव हत्या भएको माइती पक्षको आरोप

  ०८० असोज १ गते

नवराजपुर गाउँपालिका–५ की २१ वर्षीया प्रेमकुमारी यादवको शव शङ्कास्पद अवस्थामा भदौ ३० गते भेटिएको छ । शङ्कास्पद अवस्थामा भेटिएको महिलाको शव हत्या भएको माइती पक्षको आरोप रहेकाे छ ।

इलाका प्रहरी कायालयका इन्सपेक्टर गोविन्दलाल कर्णका अनुसार “मृतककी सासूले बुहारी बाँसको बलोमा सलको पासोमा झुन्डिएको अवस्थामा भेटेको भन्दै साँझ करिब पौने ८ बजेतिर प्रहरीलाई खबर गरे लगत्तै प्रहरी घटनास्थल पुगेको” जानकारी दिनु भयो । “हामी घटनास्थलमा पुग्दा पासो काटेर झुन्डिएको भनिएको शव कोठामा रहेको पलङमा सुताइएको अवस्थामा भेटिएको थियो” उहाँले बताउनु भयो । भदौ ३१ गते बिहान साढे १० बजेतिर मुचुल्का उठाई घर र माइती पक्षको सहमतिको आधारमा शव पोस्टमार्टमका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इन्सपेक्टर कर्णले बताउनु भयो । घटनाको प्रकृति हेर्दा शंकास्पद देखिए पनि प्रहरी अनुसन्धान र पोस्टमार्टम रिपोर्ट आएपछि मात्र सबै तथ्य खुल्ने इन्सपेक्टर कर्णले बताउनु भयो ।

लक्ष्मीपुरपतारी गाउँपालिका–३ माइती रहेकी प्रेमकुमारीको ०७९ फागुन २६ गते रमेशसँग सामाजिक परम्परा अनुसार मागी विवाह भएको थियो । विवाह भएको सात महिना बितिसक्दा पनि बेरोजगार रहेका रमेशले विभिन्न निहुँमा पटकपटक यातना दिँदै आएको मृतकका दाजु हरिचनकुमार यादवले बताउनु भयो । साथै “बहिनीले रमेशको अन्य महिलासँग अनैतिक सम्बन्ध रहेको हामीलाई भनेको” यादवले बताउनु भयो । बहिनी ६ महिनाको गर्भवती समेत रहेको उहाँले बताउनु भयो ।

घटना पश्चात मृतकका पति र जेठानी फरार रहेको र घटना प्रकृति हेरेर हत्या भएको आरोप लगाउँदै घटनाको सुक्ष्म अनुसन्धान गरी दोषीहरू पत्ता लगाइ कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको दाजु हरिचनले बताउनु भयो ।


दुर्गा परियार