शङ्कास्पद क्षयरोगीको परीक्षण न्यून, एक वर्षमा तीन जनाको मृत्यु

  ०८० चैत १५ गते

नेपाल सरकारले सन् २०५० सम्म क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्य लिएको छ । क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रम सञ्चालन भएपनि स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट शङ्कास्पद क्षयरोगीको खकार सङ्कलन र परीक्षण न्यून हुने गरेको छ ।

जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सिकिस्त भएर आएका बिरामीको खकारसहित अन्य ल्याव परीक्षणबाट मात्रै क्षयरोग पत्ता लाग्ने गरेको छ । ‘स्थानीय स्वास्थ्य संस्थाले क्षयरोग शंकास्पद व्यक्तिको खकार सङ्कलन र परीक्षण न्यून हुने मुख्य समस्या बनेको छ,’ उहाँले भन्नुभयो ।

यस्तै, क्षयरोग पत्ता लागेका व्यक्ति पनि औषधि खाँदै बीचमा हराउने, रोजगारीको सिलसिलामा भारत जाने प्रचलनले उपचार पूरा नहुने गरेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयोे, ‘क्षयरोग नियन्त्रणको लागि बजेट कमी, औषधि प्रतिरोधी क्षयरोगका बिरामीको सङ्ख्या बढ्नु र उच्च जोखिममा रहेका परिवार, समुदायको खकार परीक्षण स्क्रिनिङ न्यून हुनुजस्ता समस्याले क्षयरोग फैलिने झन डर छ ।’

गत वर्ष तीन जनाको मृत्यु

गतवर्ष जुम्लामा क्षयरोगले तीन जनाको मृत्यु भएको छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्याङ्क अनुसार चन्दननाथका दुई जना र पातारासी गाउँपालिकाको एक जनाको क्षयरोगले मृत्यु भएको हो । गतवर्षको तथ्याङ्क अनुसार जुम्लामा ५३ जना महिला र ५३ जना पुरुषमा क्षयरोग देखिएको जनस्वास्थ्य प्रमुख सापकोटाले बताउनु भयो ।

कनकासुन्दरीमा ६ जना, गुठीचौरमा ८ जना, सिंजामा ९ जना, हिमामा १२ जना, तिलामा १३ जना, तातोपानीमा १४ जना, पातारासीमा १८ जना र चन्दननाथमा २६ जना क्षयरोगी रहेको तथ्याङ्क छ ।
चालु आर्थिक वर्षको साउन देखि फागुन मसान्त सम्म २१ जना पुरुष र २४ जना महिलामा क्षयरोग देखिएको छ । सिंजामा ३ जना, गुठीचौरमा ४ जना, तातोपानीमा ६ जना, तिलामा ६ जना, पातारासीमा ७ जना, कनकासुन्दरीमा ७ जना, हिमामा ९ जना र चन्दननाथका १० जनामा क्षयरोग देखिएको तथ्याङ्क छ । हिमा गाउँपालिका – बड्की गाउँमा एक जना कुष्टरोगका बिरामी रहेका छन् । उहाँले नियमित औषधि सेवन गर्दै आएको भएको प्रमुख सापकोटाले बताउनु भयो ।

दुई हप्ताभन्दा बढी खोकी लाग्ने, साँझपख ज्वरो आउने र दुब्लाउँदै जाने क्षयरोगको लक्षण हो । ‘क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्दछ । एचाईभी र मधुमेहका रोगीलाई क्षयरोग छिटो संक्रमण हुने हुन्छ । श्वास–प्रश्वास, खोक्दा, हाच्छयुँ गर्दा, जहाँ पायो त्यही थुक्दा, बोलचाल गर्दा क्षयरोगका जिवाणु हावाका माध्यमबाट स्वस्थ व्यक्तिमा सर्ने गर्दछ,’ प्रमुख सापकोटाले भन्नुभयो ।


मानदत्त रावल