व्यास नगरपालिकाकाे न्यायिक समितिमा एक वर्षमा ५४ उजुरी, २० फर्छ्यौट

व्यास नगरपालिकाको न्यायिक समितिमा एक वर्षमा ५४ उजुरी दर्ता भएका छन् । ति मध्ये २० उजुरी फर्छ्यौट भएका छन् । गत आर्थिक वर्ष २०७९/०८० मा परेका ५४ उजुरीमध्ये अधिकांश मेलमिलापबाट समाधान गरिएको उपप्रमुख एवंम् न्यायिक समिति संयोजक इन्दिरा दरैले जानकारी दिनु भयो ।

जसमध्ये १३ ओटा मिलापत्रबाट फर्छ्यौट  भएका छन् । सात ओटा उजुरी सर्वसम्मत ढङ्गबाट फर्छ्यौट  भएका छन् । नगरपालिकाको न्यायिक समितिमा ३८ ओटा उजुरी प्रक्रियामा रहेको संयोजक दरैले बताउनु भयो । आर्थिक वर्ष ०७९/०८० मा अघिल्लो वर्षको १० ओटा उजुरी सारिएको बताइएको छ । नगरपालिकामा सबैभन्दा धेरै जग्गा विवादका उजुरी रहेको नगरपालिका न्यायिक समितिको सचिवालयले जनाएको छ ।

जग्गाको साँध सिमाना मिचेको, भोग चलन गरेको जग्गाबाट हटाउन खोजेको, एकको नाममा रहेको जग्गा अर्कैले भोग चलन गरेको, पति पत्नीबीचको विवाद, घरेलु हिंसालगायतका विषयमा उजुरी दर्ता हुने गरेका छन् । नगरपालिकाले वडाबाटै मेलमिलाप गराउन हरेक वडामा मेलमिलाप केन्द्र पनि बनाएको छ । वडाले फर्छ्यौट गर्न नसकेको उजुरी नगरपालिकामा आउने गरेको उपप्रमुख दरैले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘वडातह बाटै हामीले मुद्दालाई मिलापत्र गर्न लगाउछौं, वडामा रहेको मेलमिलापले नसकेपछि न्यायिकमा दर्ता गराई उजुरीको छिनोफानो गराईन्छ ।’ उहाँले भन्नुभयो ‘तीन देखि पाँच पटक सम्म एउटै उजुरीमा छलफल गराउदाँ उजुरीको छिनोफानोमा समय लाग्ने गरेको छ । हामीले मिलापत्रबाटै उजुरीको छिनोफानो गराउनेमा जोड दिने गरेका छौं ।’

चालु वर्ष ०८०/८१ म तीन ओटा मुद्दा दर्ता भएका छन् । जसमा चालु वर्ष र अघिल्लो वर्षको एक/एक मुद्दाको फर्छ्यौट  भएको छ भने दुई ओटा उजुरी प्रक्रियामा रहेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४९ (२) अनुसार पेस भएको विवादको निवेदनको कारबाही र किनारा गर्दा सम्भव भएसम्म मेलमिलाप गर्न प्रोत्साहित हुने गरी दुवै पक्षको सहमतिमा मिलापत्र गराइएको बताइएको छ ।


प्रकाशचन्द्र भट्टराई