व्यवस्थापन समिति सदस्यद्वारा शिक्षकमाथि हातपात, शिक्षकद्वारा अनिश्चितकालिन विद्यालयबन्द

विद्यालय व्यवस्थापन समितिका सदस्यले शिक्षकलाई विद्यालय हातामै गएर हातपात गरेपछि खार्पूनाथ गाउँपालिका-५ को बाग्येश्वरी आधारभुत विद्यालयमा कार्यरत शिक्षकले विद्यालयको पठनपाठन अनिश्चितकालका लागि बन्द गरेका छन् ।

विद्यालयका शिक्षक लक्ष कामीलाई व्यवस्थापन समिति सदस्य रूपसिंह भण्डारीले साउन १८ गते विद्यालयमा पढाइ भइरहेको बेला लठ्ठीले कुटपिट गरेपछि बसेको विद्यालयका शिक्षकहरूको बैठकले शिक्षकमाथि असुरक्षाको कारण देखाउँदै अनिश्चितकालिन विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक गणेशबहादुर शाहीले जानकारी दिएका छन् ।

उनका अनुसार शिक्षक कामीमाथि हातपात गर्ने भण्डारीलाई विद्यालय प्रशासनले कारबाहीको दायरामा नल्याउञ्जेलसम्म विद्यालयको पठनपाठन सुचारू गरिने छैन ।

आरोपित भण्डारीले भने विद्यालयको कक्षा ३ मा अध्ययनरत आठ वर्षीय रेशम भण्डारीलाई सरसफाई कार्य नगरेको भन्दै शिक्षक कामीले पिट्दा बालक रुँदै घर आएपछि आफूहरू रिसाएर विद्यालयमा गएको तर कुटपिट नगरेको बताए ।

विद्यालयलाई बालमैत्री वातावरणमा अध्यापन गराउने भनिएता पनि बाग्येश्वरी विद्यालयका शिक्षकले सँधै लौरोले हिर्काउने गरेका कारण बालबालिका विद्यालय जान नमानेको दावी गर्दै भण्डारीले आफूले किन बालबालिकालाई लौरोले हिर्काएको भनेर सोधेको मात्रै दावी गरे ।


नन्द सिंह