व्यवस्थापनको अभावमा विद्यार्थीहरुको पढाई प्रभावित

  ०८० साउन २३ गते

बडीमालिका नगरपालिका–७ को जिल्लीगाउँ भएर लक्ष्मी माध्यमिक विद्यालय जाने बाटो र  लक्ष्मी माध्यामिक विद्यालयको भवन समेत पहिरोको उच्च जोखिमा रहेका कारण यस क्षेत्रका विद्यार्थीहरुलाई आवतजावत गर्न कठिनाइ भएपछि पठनपाठन प्रभावित भएको छ ।

पहिरोका कारण हरेक विहान बाटो बिग्रने, पानी परेको रात त्रासमा बस्नु पर्ने र नियमित रुपमा गइरहेको पहिरोको व्यववस्थापन हुन नसक्दा विद्यार्थीहरुको ज्यान जोखिममा राखेर विद्यालय पठाउन नसकिएको स्थानीय मदनराज जैशीले बताउनु भयो ।

निरन्तर रुपमा बिगरहेको पहिरोले गाउँदेखि १५ मिनेट दुरीमा पर्ने विद्यालय जान समेत विद्यार्थीलाई मुस्किल हुने गरेको विद्यालयका शिक्षक लक्ष्मण ओलीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘पहिरोका कारण विद्यार्थीहरु बाटोमै रोकिनु पर्ने अवस्था सृजना भएको छ । उनीहरुलाई पहिरो तरेर विद्यालय पुग्नै सकस् हुन्छ । कतिपय विद्यार्थी त विद्यालयसम्म नपुगी घर फर्किन्छन् ।’

यस क्षेत्रमा हिउँदको सुख्खा याममा समेत निरन्तर पहिरो बग्ने गरेकोले यसको दिर्घकालिन रोकथामका लागि स्थानीय तह र प्रदेश सरकारबाट बजेटको व्यवस्थापन गरी समाधान गर्न आवश्यक भएको बडिमालिका नगरपालिका ७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘पानी परेको दिन अभिभावकले पहिरो आउने डरले बालबालिकाहरुलाई विद्यालय नै पठाउँदैनन् । यसले बालबाबालिकाहरुको पढाइमा प्रत्यक्ष असर पारेको छ ।  कुन बेला ठुलो पहिरो खस्ने हो र पुरिने हो भन्ने जोखिम सबैमा हुने गरेको छ । विद्यालय भवन नजिकै बग्ने जिल्ली पहिरोले विद्यालय परिसरलाई समेत क्षति पुर्‍याउने अवस्था देखिएको छ ।’

लक्ष्मी माध्यमिक विद्यालय, जिल्लीमा ३ सय बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा जिल्ली, माउलेख, सिराडी, चुथीलगायतका बस्तीबाट विद्यार्थी अध्ययनका लागि आउने गर्दछन् । विद्यालय र बाटोमा समेत पहिरोको जोखिम बढिरहेको विद्यालयका प्रधानाध्याप लालचन्द्र जैशीले बताउनु भयो ।

पहिरो निरन्तर रुपमा बगिरहेकोले बालबालिकाहरुलाई विद्यालय पठाइ दिनुस् भन्ने अवस्था नभएको र हिउँद र बर्षातमा जिल्ली क्षेत्रको पहिरोले स्थानीयहरुको दैनिकी कष्टकर हुँदै गएकोले सरकारले दिर्धकालिन योजना तथा कार्यक्रम सञ्चालन गरी व्यवस्थापन गर्न आवश्यक रहेको उहाँले बताउनु भयो ।

photo20230808bajura


पदमबहादुर सिंह