वीरेन्द्रनगरमा पिउने पानीको चरम अभाव

कर्णाली प्रदेशको राजधानी वीरेन्दनगरमा पिउने पानीको चरम अभाव चुलिदै गएको छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा समेत पानीको सतह घट्दा उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो । खानेपानीका धारा जडान भएका घरधुरीमा समेत तीन देखि पाँच दिनको फरकमामात्र पानी आउने गरेको छ, त्यो पनि अपर्याप्त ।

वीरेन्द्रनगरको बाँगेसिमलकी शान्ता शाहीले हप्तामा कहिले पाँच दिनको फरकमा त कुनै साता धारामा आउँदै नआउने हुँदा पानी किनेर पिउनु पर्ने बाध्यता रहेको बताउनु भयो । परिवार सङ्ख्या ठुलो हुँदा आर्थिक आम्दानीको स्रोत नभएपनि दैनिक तीन सय रुपियाँ तिरेर पानी पिउन परिरहेको उहाँको गुनासो छ ।

‘हामीले इनार पनि बनाउन सकेका छैनौँ । धारामा पानीआउँदा टन्नै भरेर राख्थ्यौँ र त्यही चलाउँथ्यौँ,’ उनले भनिन्,‘ आजभोलि पानी आउनै छाड्यो, अब त धारामा हेर्न पनि छाडी सक्यौँ ।’ वीरेन्द्रनगरको गण्डकी लाइनकी अमृता भट्टराई खानेपानीकालागि अहिले इनारमा निर्भर रहनु परेको बताउँनु भयो । ‘धारामा आउने पानी तीन देखि चार दिनको फरकमा आउँछ,’उहाँले भन्नु भयो,‘ खानेपानीको समस्या समाधान कहिले हुने हो खै ? दिक्क लागि सक्यो ।’

प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा दिनप्रति दिन जनसङ्ख्या बढ्दो छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा यस अघि २ लाख जनसङ्ख्या रहेको उपत्यकामा ३५ हजार घरधुरी थिए । उक्त जनसङ्ख्यालाई सहज खानेपानीको आपूर्ति गर्न करिब २ सय ७८ लिटर प्रतिसेकेन्ड आवश्यक पर्दथ्यो । हाल प्रयोगमा ल्याइएका स्रोतहरूबाट १ यस २८ लिटर प्रतिसेकेन्ड पानीमात्र उपलब्ध हुने भएकाले पानीको अभाव भएको हो ।

३५ हजार घरधुरी मध्ये हालसम्म २० हजार घरधुरीमा मात्रै खानेपानीको धारा जडान भएको छ । संस्थाका अध्यक्ष कुलमणि देवकोटाका अनुसार यो वर्ष थप घरधुरीमा खानेपानीको लाइन वितरणपछि अझपानी अभाव हुने देखिन्छ । अहिले प्रयोग भइरहेको पानी आवश्यक भन्दा ५४ प्रतिशतले कम हो ।

हाल झुप्राखोला, खरिखोलाबोरीखोला, खोर्के खोला तथा बुलबुले काठकुवा खोलाबाट गरी १ सय ५७ लिटर प्रतिसेकेन्ड पानी ल्याइएर आपूर्तिको व्यवस्था मिलाइएको छ । खडेरीको समयमा माग बढ्ने भएपनि मुहानमा पानी घट्ने हुँदा खानेपानीको पहुँच सहज नभएको देवकोटाले बताउनु भयो । यस्तो खानेपानी समस्याको समाधानका लागि एउटै विकल्प हो, भेरीको पानी वीरेन्द्रनगरमा ल्याउने ।

तीन दशक पछिको जनसङ्ख्यालाई मध्यनजर गरी वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान गर्न भनेर ‘भेरी पम्पिङ’ योजना अघि बढाइएको हो । ०७७ देखि आयोजनाका लागि बजेट विनियोजन हुँदै आएको हो । भेरीको पानी पम्पिङ गरेर वीरेन्दन्रनगर ल्याउन संघीय खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा संघ, प्रदेश र स्थानीयतहको साझेदारीमा १०० मिलियन अमेरिकी डलर लागतमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत लिफ्टिङ प्रविधिमार्फत् उपत्यकामा ल्याउने भनिएको छ ।

६ वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको विषयमा हालै नगरपालिकामा बृहत् छलफल भएको छ । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाका उप–निर्देशक मधुसुधन खनालका अनुसार पानीप्रशोधन केन्द्र लेकबेसी नगरपालिकाको वन क्षेत्रमा राख्नुपर्ने जानकारी दिनु भयो ।

वन क्षेत्र भएकाले इआईए गर्नुपर्ने भएपनि अहिले सम्म त्यो काम अघि बढेको छैन । इआईए भए औपचारिक रुपमा आयोजनाको काम सुरु हुने अपेक्षा छ । दुई चरणमा सम्पन्न हुने आयोजनाका लागि पहिलो चरण अन्तर्गत ४ अर्ब ६५ करोड ३० लाख ६६ हजार बराबरको बजेट सुनिश्चित भइसकेको छ । वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालका अनुसार खानेपानी सम्बन्धमा नगरपालिकाले ऐन ड्राफ्ट गरेको छ । नगर सभाबाट पास भएपछि आयोजनाको टेन्डर प्रक्रियामा अघि बढ्नेछ । उहाँले भन्नु भयो,‘आयोजनाको दुई चरणमा काम गरिनेछ ।

पहिलो चरणको कार्यका लागि बजेट सुनिश्चित भइसक्यो । पहिलो चरणको काम तीन वर्षमा सम्पन्न हुनेछ । आफ्नै कार्यकालमा खानेपानीको समस्या समाधानगर्ने मेयर ढकालको दाबी छ ।

ढकालका अनुसार असार मसान्तसम्म आयोजनाको टेन्डर आह्वान हुनेछ । पहिलो चरणमा नदीबाट पानी पम्पिङ गर्ने, ट्याङ्की बनाउने देखि पानी वितरणसम्मको काम हुनेछ । आयोजनाले भेरी नदीमा तयार गरिने इन्टेकबाट सात किलोमिटर दूरीमा पम्पिङ गरी वीरेन्द्रनगर नगरपालिका–११, अमृत डाँडामा पानी ल्याउने छ ।

पहिलो चरणमा भेरी नदीमा इन्टेकनिर्माण, पानीप्रशोधन प्रणाली, रिजर्भ ट्याङ्कीनिर्माण र अमृत डाँडादेखि वीरेन्द्रनगरसम्मको मुख्यपानी प्रसारण लाइन विस्तार गर्ने लक्ष्य छ । दोस्रो चरणमा उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुबैतर्फ प्रसारण लाइन विस्तार गरिनेछ । भेरीको पानी चार सय मिटर उचाइमा प्रशोधन ट्याङ्की (ट्रिटमेन्ट प्लान्ट) मा खसालिने छ । त्यसपछि करिब सात किलोमिटर लामो पाइपका माध्यमबाट अमृत डाँडामा निर्माण गरिने रिजर्भ ट्याङ्कीमा पानी खसालिने छ । ५ सय ५० मिलिमिटर क्षमताको पाइप अमृत डाँडामा राखेर मुख्य ट्याङ्कीसम्म ल्याइने छ ।

अमृत डाँडामा रहने ट्याङ्की १२ हजार घनमिटरको हुनेछ । अबको ६ वर्ष भित्र भेरीको पानी वीरेन्द्रनगरमा आइपुग्ने लक्ष्य राखिएको छ । आयोजनाबाट वीरेन्द्रनगरको पाँच लाख जनसङ्ख्या लाभान्वित हुनेछन् । आयोजना सम्पन्न नहुञ्जेल सम्म भइरहेका संरचना र पम्पिङ गरिएको पानीबाट खानेपानी सहज बनाइने नगरप्रमुख ढकालले बताउनु भयो । आयोजना डिजाइन कन्सल्टेन्सी प्रशान्त मल्लका अनुसार आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब ५० करोड बराबरको बजेट अनुमान गरिएको छ । त्यसमा संघीय सरकारको ८५ करोड, वीरेन्द्रनगर नगरपालिकाको ७ करोड ३५ लाख र प्रदेश सरकारबाट १३ करोड ६५ लाख बजेट विनियोजन गर्नुपर्ने हुन्छ ।

आयोजना अगाडि बढाउन ०८० असार १० गतेभित्र खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना कार्यान्वयन ऐन २०८० स्थानीय राजपत्रमा प्रकाशित गर्नुपर्नेछ भने जग्गाप्राप्तिको लागि पनि सार्वजनिक सूचना प्रकाशन गरिसक्नुपर्ने छ । यस्तै असार मसान्त सम्म वीरेन्द्रनगर नगरपालिका, लेकबेसी नगरपालिकाबीच भेरी पम्पिङ उपआयोजनाको इन्टेक र ट्रिटमेन्ट प्लान्टको लागि जग्गा प्राप्तिसम्बन्धी सम्झौता गराइ सक्नुपर्ने छ ।

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष देवकोटाले आयोजनाको लागि अहिले सुनिश्चित भएको बजेट अपुग हुने भएकाले आठ अर्ब बजेट सुनिश्चितगरिनुपर्ने बताउनु भयो ।


प्रभाकुमारी रावत