वीरगंज महानगरपालिका क्षेत्रभित्र कर्फ्यू आदेश जारी

  ०८० फागुन ७ गते

Photo 20240219 Parsa 2

जिल्ला प्रशासन कार्यालय पर्साले ०८० फागुन ७ गते साेमबार साँझ ५ बजेदेखि वीरगंज महानगरपालिका क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ ।

रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको मोतिपुरमा फागुन ३ गते सरस्वतीकाे मूर्ति सेलाउन जाने क्रममा दुई पक्षबीच भएको झडपको  घटनाकाे विराेधमा एक समूहले वीरगंजमा विराेध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएकाे छ ।

त्यस्तै अर्काे समूहले प्रदर्शनका विरुद्ध छपकैयाबाट विराेध प्रदर्शन शुरु गर्दै आदर्शनगर आइपुगेपछि प्रहरीले राेक्न खाेज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएकाे थियाे । झडपकाे क्रममा प्रहरीले केही राउन्ड आश्रु ग्यास समेत प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालयले पर्साले जनाएकाे छ ।

विराेध प्रदर्शन तथा झडपले सर्वसाधारणकाे सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमाेजिम अर्काे सूचना नहुन्जेलसम्मकाे लागि कर्फ्यू आदेश जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिनु भयाे ।

सिडियाे भुषालका अनुसार वीरगंज महानगरपालिकाको सीमा क्षेत्र पूर्वमा नगवा चौक (बारा जिल्ला सिमाना), पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा तथा दक्षिणमा मित्तेरीपुल (भन्सार क्षेत्र) सम्म कर्फ्यू आदेश जारी गरिएको छ ।

कर्फ्यू आदेश जारी गरिएको क्षेत्रभित्र कसैले आवत जावत गर्न, भेला हुन, बाहिर हिड्डुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ र्‍याली गर्न एवम् अन्य कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउनेगरि सोमबार बेलुका ५ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यू आदेश जारी गरिएको उहाँले जानकारी दिनु भयाे ।

Photo 20240219 Parsa 3 Photo 20240219 Parsa 1


शम्भुकुमार सुमन