विस्थापित शिक्षक दम्पत्ति पुनर्स्थापित हुन सकेनन्

  ०७८ साउन २९ गते

पाँच वर्षअघि विस्थापित भई जिल्ला सदरमुकाम शाहीलेकमा बस्दै आएका शिवनाथ गाउँपालिका–६ कनालीका शिक्षक करन राना र उहाँकी पत्नी राजु राना हालसम्म पनि पुर्नस्थापित हुन सकेका छैनन् ।

गैरदलित बालिकालाई दलित केटासँग भगाउन सहयोग गरेको भन्दै स्थानीले धम्की दिन थालेपछि राना दम्पत्ति र उहाँको परिवार ०७४ भदौ महिनामा विस्थापित भएका हुन् । स्थानीय एक बालिका अध्ययनरथ विद्यालयकी शिक्षिका राजु रानाको मोबाईलबाट ०७३ चैत १६ गते बालिकाले फोन गरेको खुलेपछि बालिकाका आफन्तले राजु रानाकाविरुद्ध बालिका बेचबिखनको आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

सोहि आरोपमा आरोपित राजु रानालाई प्रहरीले ०७३ चैत १९ गते गिरफ्तार गरी अनुसन्धान सुरु गरेको थियो । बेचबिखन गरिएको भन्ने आरोप शिक्षिका राजु रानालाई लागेपछि प्रहरी, स्थानीय र आरोपित राजु रानाले बालिकाको खोजतलास गर्दा ०७३ चैत २५ गते पाटन नगरपालिका–६ मेल्तडका दलित केटा पवन बयानीसँग कंञ्चनपुर जिल्ला भिमदत्त नगरपालिकामा बालिका भेटिएकी थिइन् ।

बालिकाले आफूखुसि केटासँग भागेको र आफूहरुले विवाह गरेको प्रहरी समक्ष बयान दिएपछि प्रहरीले केटा–केटी दुवैलाई ०७४ वैशाख ७ गते परिवारको जिम्मा लगाएको थियो । बालिका भगाउनमा राना दम्पत्तिको सङ्लग्नता पुष्टि नभएपछि गिरफ्तार गरिएकी राजु रानालाई प्रहरीले रिहा गरेको थियो ।

शिक्षिका राजु राना स्थानीय श्री कृष्ण निमावि कनालीको बालविकास कोटामा शिक्षण गर्दै आउनु भएको भएपनि बालिकालाई भगाउन सहयोग गरेको अरोपमा विद्यालय व्यवस्थापन समितिले ०७३ चैत २५ गते विद्यालयबाट निस्कासन गरेको थियो । राजु रानाका पति करन राना शिवनाथ गाउँपालिकास्थित हिरापुृर माविमा करार सेवामा अध्यापन गराउँदै आएका भएपनि उहाँलाई पनि विद्यालय व्यवस्थापन समितिले ०७४ भदौ ११ गते निस्कासन गरेको थियो । तत्पश्चात राना दम्पती गाउँबाट विस्थापित हुन बाध्य भएका थिए ।

गाउँबाट विस्थापित भएपछि जिल्ला शिक्षा समितिले करन रानालाई सदरमुकाममै रहेको इश्वर आधारभूत विद्यालय, डोबरामा निमावि तहको राहत कोटामा र उहाँकी पत्नी राजु रानालाई जगन्नाथ आधारभुत विद्यालय, बैतडीमा शिशु कोटामा काज व्यवस्थापन गरेको थियो ।

सदरमुकाममै बसेर शिक्षण पेशा गर्दै ६ जनाको परिवार पाल्दै आएका राना परिवार फेरी समस्यामा परेका छन् । ०७६ सालमा रानाले काम गर्दै आएको इश्वर आधारभूत विद्यालय, डोबराले उहाँको कामको मुल्याङ्कन गर्दै विद्यालयको निमावि तहमा रिक्त रहेको दरबन्दीमा विद्यालय व्यवस्थापन समितिले पदस्थापन गर्ने निणर्य गरेको २० महिना पुग्नै लाग्दा पनि पदस्थापदन नभएको रानाको गुनासो छ । करन रानाको पदस्थापन नहुँदा उहाँले १४ महिनादेखि तलब समेत पाउनु भएको छैन् ।

यसैगरी राजु राना कार्यरत जगन्नाथ आधारभूत विद्यालय, नौहाटले पनि पटक–पटक काज फिर्ताको कुरा गर्ने गरेको रानाको गुनासो छ । कोभिड माहामारीका कारण अन्य आर्थिक गतिबिधि गर्न पनि नसकिएको अवस्थामा विद्यालयबाट १४ महिनासम्मको तलब समेत नपाउँदा अहिले आफ्नो परिवार जिवन र मरणको अवस्थामा रहेको राजु रानाले दुखेसो पोख्नु भयो ।

जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, शिक्षा समन्वय इकाई लगायतका निकायसँग पुर्नस्थापन गर्न पटक–पटक अनुरोध गर्दा समेत समस्या सम्बोधन नभएपछि राना दम्पत्तीले जिल्ला समन्वय समितिलाई ज्ञापन–पत्र समेत बुझाएका छन् ।

गाउँबाट विस्थापित भएको पाँच वर्ष वितिसक्दा समेत न्यायिक व्यवस्थापन तथा पुर्नस्थापित हुन नसकेको भन्दै राना दम्पत्तिले पुर्नस्थापनका लागि पहल गरि दिन मानव अधिकारकर्मी तथा जिल्लास्थित सरोकारवाला पक्षसँग पुनः अनुरोध गरेका छन् ।

राना दम्पत्ति गाउँबाट विस्तापित भएपछि इन्सेकले ०७४ सालमा स्थालगत अध्ययन गरी प्रतिवेदन तयार गर्नुको साथै विस्थापित राना परिवारलाई न्यायिक उपचारका लागि आर्थिक सहयोग समेत गरेको थियो ।


नरी बडु