विस्थापित बालबालिकाको लागि विद्यालयको अभाव

  ०७८ असोज १२ गते

उत्तरगया गाउँपालिका–५ खाल्टेमा रहेको भूकम्पबाट विस्थापित क्याम्पमा रहेका ५ सय ६० जना बालबालिकाको लागि पढ्ने विद्यालयको अभाव छ ।

कोभिड–१९ को प्रभावले भएको लामो बन्दाबन्दीपछि विद्यालय खुले पनि यहाँका बालबालिकाहरू आधारभूत शिक्षा लिनका लागि दुई घण्टासम्म हिँड्नु पर्ने बाध्यता छ ।

यहाँका विस्थापित बालबालिकाहरू क्याम्प नजिकै विद्यालय नहुँदा नुवाकोटको बिदुर नगरपालिका–१० स्थित रामचन्द्र आधारभूत विद्यालय र उत्तरगया आवासीय मावि तथा रसुवाको निलकण्ठ उच्च मावि तथा ट्रिनिटी आवासीय विद्यालयमा पढ्न जाने गरेको विस्थापित क्याम्पका अगुवा छेकु लामाले बताउनु भयो ।

उत्तरगया गाउँपालिकाको कार्यालय छेवैमा रहेको क्याम्पमा विद्यालय निर्माण थालनी गरे पनि रकम अभावले भवन बन्न नसकेको स्थानीय आशा लामाले बताउनुभयो ।

नेपालको संविधानले आवासको हक नागरिकको मौलिक हकका रूपमा समेटिए पनि भूकम्पका कारण विस्थापित २ सय ६९ परिवारको बस्ती स्थानान्तरणमा ढिलाई हुँदा अझैसम्म अस्थायी टहरामै बस्न बाध्य भएका छन् ।

photorasuwa1207680612विस्थापितका बालबालिकाहरू पढ्नका लागि अस्थायी क्याम्पदेखि आउँदा जाँदा चार घण्टा समय लाग्ने टाढा रहेको रामचन्द्र आधारभूत विद्यालय धाउनु परेको खाल्टे क्याम्पका १३ वर्षीय बालक निमा शेर्पाको गुनासो छ । १३ वर्षीय बालक निमाले भन्नुभयो- 'अस्थायी क्याम्पमा भएको टिनको छाप्रोमा शीतका थोपा झरेर सुत्न निकै कठिन छ । विद्यालयबाट फर्केर छाप्रोमा नआएसमम अभिभावक र आफू पनि त्रासमै रहनु पर्ने बाध्यता छ ।'

उत्तरगया गाउँपालिकाको हाकु र डाडागाउँका २ सय ६९ परिवार खाल्टे क्याम्पमा छन् । आसपासमा अन्यत्रबाट बस्तीहरू स्थानान्तरण गरेर बसेका छन् । गाउँ नजिकै विद्यालय छैन ।

खाल्टे क्याम्पका अगुवा पूर्ण घलेले भन्नुभयो-“झण्डै ६ सय विद्यार्थी विस्थापित क्याम्पमा छन तर यहाँ अझै विद्यालय बनाउने कुनै सुरसार छैन । बालबालिकाहरूको शिक्षाको र आवासको अधिकार पनि अझै सुरक्षित हुन सकेन ।”

photorasuwa2207680612

खाल्टे क्याम्पमा विद्यालय निर्माण थालेको टहरो देखाउँदै घलेले सुनाउनुभयो खाल्टे क्याम्पका विद्यार्थीहरूका लागि विद्यालय स्थापना गर्ने सपना अधुरै रह्यो ।

निलकण्ठ उच्चमाविमा अध्यनरत १६ वर्षीया जमुना रिजालले भन्नु भयो- वर्षातमा खोला र पहिरो काटेर हावाहुरी, वर्षातको झरी र चिसोमा कुनै पर्वाह नगरी त्रासमा हिंडेर विद्यालय जानुपर्छ भने रात पनि त्रिशूली नदीको छेउमा रहेको खाल्टे क्याम्पमा त्रासदिमै रात बित्छ ।

विस्थापित क्याम्पका बृद्धबृद्धा, महिला, बालबालिकाहरू अहिले गर्मीले कष्टकर जीवन बिताउँछन् भने माघमा ठण्डीले सताउँछ ।

उत्तरगया गाउँपालिका–५ खाल्टे स्थित क्याम्पका छेकु लामाले इन्सेक प्रतिनिधीसँग भन्नुभयो “न अवास न शिक्षा अधिकार सुरक्षित छ । मानव अधिकारकर्मीहरूले हाम्रो आवाज सरकार समक्ष पुर्‍याइदिनु पर्‍यो,”

२०७२ को विनाशकारी भूकम्प गएको पाँच वर्ष बित्दा समेत विस्थापित बालबालिकाहरूका लागि विद्यालय स्थापना गर्ने सपना जस्तै भो  ।

गोसाईकुण्ड गाउँपालिकाको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा विद्यार्थी भन्दा शिक्षक सङ्ख्या बढि छ । तर, यहाँ विस्थापित बालबालिका पढाउने विद्यालय छैन ।

स्थानीय बुटी तामाङले भन्नुभयो– “विस्थापितको निजी आवास पुनर्निर्माणको हुन नसक्दा विस्थापित समूदायको बस्ती स्थानान्तरण हुन सकेन । क्याम्पमा रहेका सयौँ विद्यार्थी पढ्ने विद्यालय छैन । सानो छाप्रोमा बसेर बिहान बेलुका कसरी गृहकार्य गर्ने उनीहरूको भविष्य अन्यौलमा छ ।”

नेपालको संविधानको भाग ३ अन्तर्गत मौलिक हकको धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने उल्लेख छ । भाग ४ अन्तर्गत राज्यको निर्देशक सिद्धान्त र नीति उपदफा ‘ञ’ को ६ मा मुक्त कमैया कमलरी, हरूवा, चरुवा, हलिया भूमिहीन, सुकुम्वासी पहिचान गरी उचित बसोवासका लागि घडेरी, जीविकोपार्जनका लागि कृषि योग्य जमीनको व्यवस्था वा रोजगारीको व्यवस्था गर्द पुर्नस्थापना गर्ने उल्लेख छ ।

विस्थापित शिक्षा, स्वास्थ्य जस्ता आधरभूत अधिकार रक्षाका लागि राज्यले ध्यान दिन नसकेको खाल्टे क्याम्पका अभिभावक पर्मा लामाले बताउनुभयो । बालबालिकाको आधारभूत शिक्षाको अधिकार सुरक्षित हुनुपर्ने उहाँको धारण छ ।


हेमनाथ खतिवडा