विस्थापित पत्रकार न्यौपाने पुनर्स्थापित

  ०७८ भदौ २८ गते

समाचार प्रकाशनको विषयलाई लिएर मार्ने धम्की आएपछि असुरक्षाको महसुस गर्दै सुर्खेत विस्थापित पत्रकार विस्नप्रसाद न्यौपानेलाई भदौ २६ गते पुनर्स्थापित हुनुभएको छ ।

पचालझरना गाउँपालिका –८ निवासी  ३० वर्षीय पत्रकार न्यौपानेलाई नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति र इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको सहजीकरणमा आफ्नै जिल्ला कालिकोटमा पुनर्स्थापित हुनु भएको हो ।

कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बलात्कारको आरोप शिर्षकको समाचार अन्नपूर्ण पोष्ट पत्रिकामा भदौ ६ गते प्रकाशित भएपछि मन्त्रीका स्वकीय सचिव प्रेम बुढा र मन्त्रीका भान्जा नन्दकृष्ण अधिकारी, साला केशन शाही, खाँडाचक्र नपा–२ का वडाध्यक्ष विर्खसिंह विक लगायतले फोन र सामाजिक सञ्जालमार्फत मार्ने धम्की दिएको पीडितले आरोप लगाउनु भयो ।

स्वकीय सचिव प्रेम बुढा र नन्द कृष्ण अधिकारीले भदौ ७ गते राति सुर्खेत वीरेन्द्रनगर नपा–३ स्थित घरमा ढुङ्गा प्रहार गरेको न्यौपानेले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

धम्कीपछि सुर्खेत बस्दैआएका पत्रकार न्यौपानेलाई भदौ २६ गते कालिकोट जिल्ला सदमुकाम मान्ममा एक कार्यक्रमकाबिच न्यौपानेलाई पुनर्स्थापना गरिएको हो ।

कार्यक्रममा राजनीति दल, स्थानीय प्रशासन, पत्रकार महासंघ र इन्सेकले पत्रकार न्यौपानेलाई जिल्लामै बसेर निर्वाध रूपमा पत्रकारिता गर्न पाउने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए ।

Photo20210913 Kalikot

 


कालीबहादुर मल्ल