विष सेवन गराएर भाउजुको हत्या आरोप, देवर फरार

  ०८० असोज १ गते

कोशी गाउँपालिका-७ हरिपुरकी ३० वर्षीया उषा महतोको विष सेवन गराएर हत्या गरेको प्रहरीले जनाएको छ । भाउजुको हत्या गरेको आरोप लागेका १९ वर्षीय देवर सन्तोष महतो फरार भएको प्रहरीले जानकारी दिएको छ । एक वर्षअघि दाजुको मृत्यु भएको र भाउजुलाई अंश दिनु पर्ने भएकाले देवरले ०८० भदौ ३० गते झुक्यानमा पारी विष सेवन गराएर हत्या गरेको पीडित पक्षको आरोप छ ।

झुक्यानमा पारी विष खुवाएको, विषका कारण पीडित उषा महतो अचेत भएपछि सन्तोषले जिल्ला अस्पतालमा भदौ ३० गते राति उपचारका लागि भर्ना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविनकृष्ण भण्डारीले बताउनु भयो ।

भाउजुलाई अस्पतालमा भर्ना गराएर देवर भारततर्फ भागेकाले घटना शङ्कास्पद भएको डिएसपी भण्डारीले बताउनु भयो । घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरू गरेको छ ।

जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि भदौ ३० गते राति अस्पतालले बिरामीलाई कोशी अस्पताल, विराटनगर रेफर गरेको थियो । विष सेवनबाट आमाको भदौ ३१ गते कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मृतकका १२ वर्षीय छोराले बताउनु भयो । शवको पोष्टमार्टम असोज १ गते गरिने तयारी गरिएको छ ।


जयकृष्ण यादव