विष्फोटक पदार्थ पड्किदा एक जना विद्यार्थी घाइते, घटनाका आरोपित गिरफ्तार

  ०८१ जेठ ३० गते

बेदकोट नगरपालिका–२ बसन्थला निवासी बैजनाथ माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत रुपेश धामी ०८१ जेठ २८ गते विस्फोटक पदार्थ पड्किदा गम्भीर घाइते हुनुभएको छ ।

विद्यार्थी धामीलाई बेदकोट नरगपालिका–२ बसन्थला घर भई कैलाली जिल्लाको लम्कीस्थित आर्दश नमूना माविका शिक्षक हरेन्द्र भण्डारीले विस्फोटक पदार्थ बनाउन प्रयोग गर्दा विस्फोटक पदार्थ पड्किएर गम्भीर घाइते भएको पीडितका दाजु जनक धामीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

विस्फोटनमा परी विद्यार्थी धामीको दायाँ हात पुरै छिनिएको छ भने बायाँ हात र शरीरका बिभिन्न भागमा गहिरो घाउँचोट लागेको पीडितका बाजे ध्वज ठकुल्लाले बताउनु भयो ।

शिक्षक भण्डारीले आँपखेती गर्दै आउनुभएको र आँपखेतीमा आउने जनावर तथा चराचुरुङ्गी धपाउन विस्फोटक पदार्थ बनाएर प्रयोग गर्दै आएको पीडित परिवारको आरोप छ ।

पीडित पक्षले दिनुभएको उजुरीका आधारमा आरोपितलाई जेठ २८ गते गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी उमेश जोशीले बताउनु भयो ।

शिक्षक भण्डारीले किन र कहाँबाट के कति प्रयोजनका लागि घरमा विस्फोटक पदार्थ ल्याएको भन्ने बारेमा अनुसन्धान भइरहेको र विष्फोटक पदार्थ  परीक्षणको लागी प्रयोगशालामा पठाइएको डिएसपी जोशीको भनाइ छ

पीडितको स्वास्थ्य उपचार धनगढीस्थित मायामेट्रो अस्पतालमा हुन नसकेपछि भारतको लखनउस्थित गायत्री अस्पतालमा थप उपचार भइहरेको छ ।

photo20240612kanchanpur (2)


लिली कुँवर