विष्फोटक पदार्थले स्थानिय त्रसित

सशस्त्र द्वन्द्वको समयमा बिच्छाइएका विष्फोटक पदार्थले सङ्खुवासभा चैनपुरका स्थानीयलाई अझैसम्म पनि त्रसित बनाउने गरेको छ ।

पुस २० गते मात्रै पनि चैनपुर नगरपालिका–७ मा विष्फोटक पदार्थ फेला परेको छ । द्वन्द्वका समयमा सशस्त्र प्रहरीले आफ्नो व्यारेक आसपास राखेका विष्फोटक पदार्थ हटाइसकेको दावी गरिरहे पनि बेलाबेलामा सो ठाउँमा विष्फोटक पदार्थ फेला पर्ने गरेका छन् ।

सो ठाउँमा ०७५ साउन ७ गते पनि एक विष्फोटक पदार्थ भेटिएको र त्यसलाई सेनाले निष्क्रिय पारेको थियो ।

त्यो बेला पनि सेनाले सो पदार्थ द्वन्द्वताकाकै भएको निष्कर्ष निकालेको थियो । पुस २० गते पनि चैनपुर नगरपालिका–७ का स्थानीयहरूले पुरानो क्याम्पभित्र रहेको सिद्धमन्दिर जाने बाटो खन्ने क्रममा शङ्कास्पद अवस्थामा फेला पारेपछि नजिकै रहेको इलाका प्रहरी कार्यालय चैनपुरलाई खबर गरेका थिए ।

शङ्कास्पद वस्तु अनुसन्धान गर्दा विष्फोटक पदार्थ नै रहेको पुष्टि भएको इलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर मिङमा शेर्पाले जानकारी दिए ।

दुई वर्षअघि सशस्त्र प्रहरी बसेको पुरानो क्याम्पबाट अहिले दुई किलोमिटर टाढा सारिएको छ । सशस्त्रको पुरानो ब्यारेक भएको स्थानमा गत वर्ष समेत विष्फोटक पदार्थ आफैँ पड्किएको थियो ।

विष्फोटक पदार्थ भेटिएपछि नेपाली सेनाको २ नम्बर बाहिनी हिलेलाई खबर गरिएको इन्स्पेक्टर शेर्पाले बताए । उनले द्वन्द्वकालमा क्याम्पको सुरक्षाका लागि सशस्त्र प्रहरीले राखेका विष्फोटक पदार्थ भेटिएको बताए ।

सो विष्फोटक पदार्थलाई पुस २१ गते बिहान नेपाली सेनाको २ नं बाहिनी हिलेको टोलीले निष्क्रिय पारेको शेर्पाले जानकरी दिए ।

सो विष्फोटक पदार्थ भेटिएपछि स्थानीय त्रसित बनेका छन् । स्थानीय पदम अधिकारीले सो ठाउँमा सम्बन्धित निकायले विशेष सुरक्षा अपनाएर खोज अनुसन्धान गर्न माग गरे ।

उनले भने–‘यहाँ पटकपटक यस्तो चिजबिज भेटिने गरेको छ । सम्बन्धित निकायले अनुसन्धान गर्नु पर्नेमा अहिलेसम्म गरेका छैनन् । यस्तो विष्फोटक पदार्थ पटकपटक भेटिँदा हामीलाई बाहिर निस्कन पनि डर लाग्छ ।’


बाबुराम बास्तोला