विषयगत सङ्केत अभावले पठनपाठनमा समस्या

  ०७९ असोज ११ गते

वीरेन्द्रनगस्थित सिद्व बहिरा बाल विद्यालयमा ९६ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा १० सम्म अध्यापन भईरहेको यस विद्यालयमा बोल्न र सुन्न नसक्ने बालबालिकाहरू विशेष शिक्षाका माध्यमद्वारा अध्ययन गर्छन् । अध्ययन–अध्यापन सञ्चालन भईरहेपनि विद्यालयमा कार्यरत शिक्षकलाई विषयगत संकेत भाषाको प्रयाप्त तालिम नहुँदा विद्यार्थीको पठन–पाठनमा समस्या हुने गरेको छ । खासगरी माथिल्लो कक्षाका विद्यार्थीको पठनपाठनमा प्रयोग हुने सांकेतिक संकेत अभावले समस्या हुने गरेको छ ।

विद्यालयमा ८, ९ र १० कक्षामा जम्मा २६ जना विद्यार्थी छन् । जसमध्ये कक्षा आठमा ११ जना, नौ कक्षामा आठ जना र १० कक्षामा सात जना विद्यार्थी छन् । ‘साना कक्षामा सांकेतिक संकेत अभावले खासै समस्या दिदैन । विद्यालयका प्रद्यानाध्यापक चिन्तामणी कँडेलले भन्नु भयो, माथिल्ला कक्षामा भने यसबाट विद्यार्थी प्रभावित बन्ने गर्छन् ।’

खासगरी गणित, विज्ञान, वातावरण शिक्षा लगायतका विषयमा शिक्षकलाई अध्यापनमा समस्या हुन्छ । कक्षा १० सम्म अध्यापन गराईरहेका शिक्षकहरूमा विषयगत संकेतिक भाषाको अभाव देखिने प्रद्यानाध्यापक कँडेलले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘संकेत अभावले गर्दा शिक्षकले बुझाउन खोजेको शब्द विद्यार्थीले प्रष्ट बुझ्दैनन् । अथवा बुझाइएको शब्दले अर्को अर्थ लगाउन सक्ने जोखिम हुन्छ ।’ विषयगत संकेत अभावले प्रष्ट अर्थ जनाउन शिक्षकलाई गाह्रो पर्छ । यस अवस्थामा विद्यार्थीले पनि वास्तविक अर्थ बुझ्न नसक्ने समस्यामा कँडेलले चिन्ता व्यक्त गर्नु भयो । यो समस्या सिद्व बहिरा बाल विद्यालयको मात्र होइन, देशव्यापी रुपमा नै यो समस्या छ । कँडेलका अनुसार नेपालमा विषयगत संकेतका लागि कार्यक्रम सञ्चालन तथा अध्ययन अनुसन्धान शुरु भएका छैनन् ।

‘पुराना शिक्षकलाई विज्ञान विषय अध्यापन गराउँदा समस्या उत्पन्न हुन्छ । यस विषयमा हामी शिक्षकहरूले प्रयास पनि गरेका छौँ । उहाँले भन्नु भयो, सांकेतिक भाषाका लागि तालिम सञ्चालन गरेका थियौँ । शिक्षकहरूलाई विषयगत संकेतका लागि थप तालिमको आवश्यक छ ।’

विषयगत संकेतका विषयमा नेपालमा पुस्तकको पनि अभाव छ । प्रद्यानाध्यापक कँडेलका अनुसार अन्य मुलुकमा विषयगत संकेतको व्यवस्था गरिएको छ । तर नेपालमा भने अन्य मुलुकको संकेतले काम गर्दैन । उनीहरूको सांकेतिक भाषामा भिन्नता हुन्छ । यस समस्यामा सम्बन्धित विभागले नै पाठ्यक्रमका अनुसार सांकेतिक संकेत चिन्हहरूको विकास तथा अनुसन्धानमा ध्यान दिनुपर्ने उहाँको धारणा छ । विद्यालयमा कुल १० जना शिक्षक कार्यरत छन् । जसमध्ये ६ जना शिक्षक विशेष शिक्षा परिषद्बाट नियुक्त भएका हुन् । चार जना हेरचाहकर्ता र तीन जना कार्यालय सहयोगी गरी कुल १७ जनाको जनशक्ति विद्यालयमा उपलब्ध छ ।

कुल ९६ जना अध्ययनरत यस विद्यालयमा ८१ जना बालबालिकाले आवासीय सुविधासहितको शिक्षा लिइरहेका छन् । यसका साथै शैक्षिक सामाग्री खरिदका लागि सरकारले प्रति विद्यार्थी मासिक पाँच सय रुपियाँ उपलब्ध गराउँदै आएको छ ।

विद्यालयमा हाल कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालिकोट, हुम्ला, डोल्पा, जाजरकोट, मुगु, सल्यान जिल्लाका साथै अन्य प्रदेशका जिल्लाहरू बाँके, बर्दिया र कैलालीका विद्यार्थीहरू अध्ययनरत छन् ।

राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माका अनुसार अहिले ४७ ओटा विषयगत संकेत (साइन ल्याङवेज) छन् । शिक्षकलाई सबै विषयमा तालिमको अभाव छ । जसका कारण बालबालिकालाई पठनपाठनमा समस्या हुँदै आएको छ ।


प्रभा कुमारी रावत