विश्व उपभोक्ता अधिकार दिवसमा विभिन्न कार्यक्रम सम्पन्न

  ०७८ चैत २ गते

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा सुर्खेतमा र्‍याली सहित विभिन्न कार्यक्रम गरी चैत १ गते सम्पन्न गरिएको छ ।

‘विश्व सुरक्षित र समावेशी विद्युतीय कारोबार, उपभोक्ताको अधिकार’ भन्ने नाराका साथ सुर्खेतमा र्‍याली निकालेर वीरेन्द्रचोकमा पुगेर कोणसभा गरिएको थियो ।

उक्त कोणसभालाई सम्बोधन गर्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरीङ डम्डुल लामा (कार्चेन) ले उपभोक्ताको अधिकारप्रति विक्रेताहरू जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

स्वयम् उपभोक्ता पनि सचेत र सजग हुनुपर्ने भन्दै असल नागरिकको कर्तव्य पुरा गर्न दुवै पक्षलाई आग्रह गर्नु भयो ।

विभिन्न उपभोक्ता अधिकारसँग सम्बन्धित सरकारी कार्यालय, उपभोक्ता अधिकारकर्मी, सङ्घसंस्थाहरूको सहभागितामा विद्युतीय कारोबार गरी सञ्चालन भएका वीरेन्द्रनगरको मुख्यबजार क्षेत्रका विभिन्न डिपार्टमेन्टल स्टोर र अटो मोबाइल पसलहरूको अनुगमन गरी आवश्यक सल्लाह सुझाव दिएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनु भयो ।

जिल्ला प्रशासन कार्यालयको आयोजनामा इन्सेक कर्णाली प्रदेश, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, वीरेन्द्रनगर नगरपालिका, राष्ट्रिय उपभोक्ता मञ्च, सुर्खेत उद्योग वाणिज्य सङ्घ लगाएतको सहआयोजनामा वीरेन्द्रनगरस्थित मङ्गलगढी चोकदेखि वीरेन्द्रचोकसम्म ब्यानरसहित र्‍याली र कोणसभा पनि गरिएको थियो ।

photo20220316surkhet (1)

photo20220316surkhet (2)

photo20220316surkhet (3)


पूर्णबहादुर खड्का