विशेषज्ञ नहुँदा शल्यक्रिया सहितको प्रसूति सेवा प्रभावित

  ०७७ मङ्सिर १९ गते

प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा विशेषज्ञ नहुँदा शल्यक्रिया उपलब्ध गराउनु पर्ने प्रसूति सेवा प्रभावित भएको छ । शल्यक्रिया गराउनु पर्ने खालको समस्या भएका गर्भवती महिला सुत्केरी हुन धुलिखेल वा काठमाडौँ जानुपर्ने बाध्यता रहेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ६ वर्ष अघिदेखि शिल्यक्रियाको लागि आवश्यक भौतिक सुविधा उपलब्ध भए पनि नियमित शल्यक्रियाको लागि विशेषज्ञता हासिल गरेका डाक्टरको व्यवस्था नहुँदा सेवा भने निरन्तर हुन सकेको छैन ।

यस आर्थिक वर्षमा पनि सुरुदेखि नै सेवा बन्द रहेको स्वास्थ्य शाखा मन्थलीका प्रमुख केशव फुयाँलले बताउनुभयो ।

गत वर्ष पनि आर्थिक वर्षको अन्तिममा मात्र विशेषज्ञ डाक्टर ल्याइएको थियो । उहाँको असार मसान्तसम्म मात्र करार सम्झौता भएकोले साउनदेखि सो सेवा बन्द रहेको छ ।

शल्यक्रिया सहितको प्रसुति सेवाको लागि विशेषज्ञता हासिल डाक्टरलाई सेवासुविधा सोही अनुसारको दिन नसक्नु तथा जनशक्ति पनि कम हुनुले पनि नियमित डाक्टर राख्न नसिकएको फुयाँलले बताउनुभयो ।

यस वर्ष पनि डाक्टर खोजी गरिएको भए पनि आर्थिक वर्षको पाँच महिना सकिँदा समेत डाक्टर पाउन नसकेको उहाँले बताउनुभयो ।


नवराज पथिक