विशेषज्ञ चिकित्सक जिल्लामा नबस्दा स्वास्थ्य सेवा प्रभावित

जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रलगायतका स्वास्थ्य संस्थामा दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी नबस्दा सर्वसाधारण गुणस्तरीय सेवाबाट वञ्चित भएका छन् ।

त्यस्तै स्वास्थ्य संस्थामा औषधि अभाव, उपकरण, भौतिक पूर्वाधारको कमीले स्थानीयबासीले जिल्ला भित्रै उपचार पाउन सकेका छैनन् । प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा र गर्खाकोटमा पाँच महिनादेखि डाक्टर छैनन् । लिम्सामा कार्यरत डाक्टर सन्दिप किरण प्रधान र गर्खाकोटका डाक्टर पवन शाक्य अध्ययनको सिलसिलामा काठमाडौँ गएपछि बिरामीहरू सेवाबाट वञ्चित बनेका हुन् ।

छेडागाड नपा–१० नल्फुकी ३८ वर्षीया पञ्चकला नाथ योगीको सामान्य ज्वरोको कारण भदौ २८ गते मृत्यु भयो । थलह बजारस्थित जयलक्ष्मी मेडिकल फर्ममा उपचार गर्ने क्रममा योगीको मृत्यु भएको हो । गैरकानुनी रूपमा सञ्चालित उक्त मेडिकलका सञ्चालक तिलक बोहराको लापरवाहीले उनको ज्यान गएको आफन्तको आरोप छ ।

गत साउन दोस्रो हप्ता रुकुम चौरजहारीस्थित मिसन अस्पतालमा भेरी नपा–१३ कुदुकी २८ वर्षीया यशोदा मल्लको मृत्यु भयो । मृगौलामा समस्या आएपछि अस्पतालमा भर्ना भएकी मल्ललाई स्वास्थ्यकर्मीले लगाएको ‘गलत’ सुईको असरबाट मृत्यु भएको परिवारजनको आरोप छ ।

कुशे गाउँपालिका–७ गुमौरीका ५० वर्षीय लक्ष्यवीर शाही गत असार १५ मा रुखबाट खसेर घाइते भए । घाँस काटने क्रममा रुखबाट लडेर घाइते भएका शाहीको उपचारका लागि स्वास्थ्य संस्था ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भयो  ।

गत हप्ता मोटरसाइकल दुर्घटनामा घाइते भएकी भेरी नपा–१ की रीता वादीको जाजरकोट अस्पतालमा उपचार हुन सकेन । बायाँ गोडा भाँचिएकी उनलाई उपचारका लागि नेपालगञ्ज पुर्‍याउनु पर्‍यो ।

यसै गरी बच्चा जन्माउन नसकेकी कुश गाउँपालिका–४, तम्तीकी ४० वर्षीया विपना शाहीको जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेपछि शिक्षण अस्पताल नेपालगञ्ज पुर्‍याइयो । बेलैमा नेपालगञ्ज पुर्‍याइएकाले उनको ज्यान जोगियो । सुत्केरी व्यथाले च्यापेको चार दिनपछि शाहीको शल्यक्रिया गरिएको थियो ।

यी प्रतिनिधि उदाहरण मात्र हुन् । गुणस्तरीय उपचार सेवा अभावमा यहाँका सर्वसाधरणको अकालमै ज्यान जाने गरेको छ । त्यस्तै सयौँ बिरामी उपचारका लागि नेपालगञ्ज, सुर्खेतलगायतका अस्पताल जानुपर्ने बाध्यता छ । जिल्लामा गुणस्तरीय उपचारको गतिलो व्यवस्था नहुँदा जिल्लाबासी पटकपटक विभिन्न महामारी प्रकोपबाट पीडित भइरहेका छन् ।

गर्खाकोट, लिम्सालगायत दुर्गमबासीले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नु भनेको ‘आकाशको फल आँखा तरी मर’ जस्तै भएको स्थानीय रेशमबहादुर शाहीले बताए । भाइरल ज्वरो, आउँ र टाइफाइडका बिरामी उपचारका लागि स्वास्थ्य संस्था आउँदा पनि रित्तै फर्कनु परेको शाहीको आरोप छ । ‘सामान्य बिरामीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्य छ ।’–उनले भने ।

जिल्ला अस्पताल १५ बाट ५० शैयामा स्तरवृद्धि भएको तीन वर्ष पुगेको छ । तर, बिरामीलाई प्रदान गर्ने सेवा भने १५ शैया भन्दा पनि कमजोर रहेको स्थानीयको आरोप छ । अस्पतालमा विशेषज्ञ चिकित्सक, उपकरण, भौतिक पुर्वाधार, ब्लड बैङ्कको अभाव पनि छँदैछ ।

दरबन्दी अनुसार विशेषज्ञ डाक्टर पठाउन स्वास्थ्य मन्त्रालय स्वयम् बाधक बनेको स्वास्थ्यकर्मीहरूको आरोप छ । मन्त्रालयले विशेषज्ञ चिकित्सक पठाउन ढिला गर्दा उपचार सेवा प्रभावाहीन बनेको छ ।

विशेषज्ञ चिकित्सक, औषधिलगायतको अभावले जिल्लामा सामान्य रोग पनि महामारी बन्ने गरेको छ । निमोनिया, जटिल सुत्केरी र हातगोडा भाँचिएकालाई जिल्ला बाहिर जानै पर्ने बाध्यता छ । सरकारले दुर्गमको स्वास्थ्य सेवामा व्यवस्था गरेको भेरी नपा–३, का वडा अध्यक्ष लिलाबहादुर शाह बताउँछन् ।

‘सर्वसाधारणले घर छेउकै अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा पाउने कहिले ?’–शाहले भने–‘अस्पताललाई ५० शैया बनाउने तर सोही अनुसार सेवा सुविधा नदिनु सरकारको गैरजिम्मेवारीपना हो ।’

अहिले अस्पतालमा दुई जना करारसहित चार जना मेडिकल अधिकृत छन् । यहाँ नौ विशेषज्ञ चिकित्सक, चार मेडिकल अधिकृत र ४६ सहायक स्तरका स्वास्थ्यकर्मीको दरबन्दी थियो तर विशेषज्ञ चिकित्सक भने अहिलेसम्म अस्पताल पुगेका छैनन् ।

अस्पतालमा ११ औँ तहका प्रमुख मेडिकल सुररिटेण्डेण्ट, बाल रोग, स्त्री रोग, मानसिक, जनरल फिजियसन, रेडियोलोजिस्ट, हाडजोर्नी, जनरल सर्जन र एनेस्थेसियासमेत नौ विशेषज्ञको दरबन्दी रिक्त रहेको बताउँछन् जिल्ला अस्पताल जाजरकोटका प्रमुख डाक्टर राजेन्द्र लामा ।

प्रमुख लामा भन्छन्–‘जिल्लामा चिकित्सक नबस्दा स्वास्थ्य सेवा प्रभावित त बनेकै छ । हामीलाई समेत काम गर्न गार्‍हो भएको छ । कसरी काम गर्ने ? निकै समस्या छ ।’


दिनेशकुमार श्रेष्ठ