विविध कार्यक्रम गरी आप्रवासी कामदार दिवस मनाइयो

आप्रवासी कामदार र तीनका परिवारका सदस्यको अधिकारको माग गर्दै पुस ३ गते कास्कीमा प्रभातफेरीलगायतका कार्यक्रम गरी आप्रवासन दिवस मनाइएको छ ।

photo20161218kaki

अन्तर्राष्ट्रिय आप्रवासन दिवस-२०१६ मूल समारोह समिति कास्कीको आयोजनामा गरिएको प्रभातफेरी पोखराको सिर्जनाचोकबाट सुरू भई जिल्ला प्रशासन कार्यलय कास्की परिसरमा कोणसभामा परिणत गरिएको थियो ।

मूल समारोह समितिमा जिल्ला विकास समिति कास्की, जिल्ला प्रशासन कार्यालय कास्की, श्रम कार्यालय कास्की, महिला तथा बालबालिका कार्यालय कास्की, राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यलय, गैर सरकारी संस्था महासङ्घ कास्की, शान्तिका लागि नागरिक समाजको सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल, इन्सेक क्षेत्रीय कार्यलय, एशियन फोरम, गुञ्जन नेपाल कास्कीलगायत मानव अधिकार तथा आप्रवासी कामदारको अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाहरूको सहभागिता रहेको थियो ।

कोणसभामा बोल्दै कास्कीका स्थानीय विकास अधिकारी बलराम ढकालले वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूले पठाएको विप्रेषणले मुलुक धानिरहेको हुँदा उनीहरूलाई सम्मानपूर्ण व्यवहार गर्नुपर्ने बताए ।

उनले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको पारिवारिक समस्या बढिरहेको हुनाले वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूका परिवारलाई उचित परामर्शको आवश्यकता रहेको समेत बताए ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको लागि सोसम्बन्धी जानकारीमूलक सामग्री प्रशारण गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यलय परिसरमा राखिएको टेलिभिजन समेत आइतबार उद्घाटन गरिएको छ ।

सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई सूचना र जानकारी प्रदान गर्नु राज्यको कर्तव्य भएको बताए ।


इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलय पोखरा