विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय शान्ति दिवस मनाईँदै

'दिगो शान्तिः राष्ट्र निर्माणको आधार' भन्ने मूल नाराका साथ असोज ५ गते ३५ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस देशका विभिन्न जिल्लाहरूमा विविध कार्यक्रम गरी मनाईंदैछ ।

इन्सेक सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका अनुसार विभिन्न संस्थाहरूको संयुक्त आयोजना तथा शान्ति समिति कैलालीको संयोजनमा बिहान शान्ति पदयात्रा गरिएको छ । र्‍यालीको समापनसँगै आयोजित कोणसभामा विभिन्न व्यक्तिहरूले स्थायी शान्तिका लागि सबै आआफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिएका थिए ।

photo20160921kailali

इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराका अनुसार कास्कीमा बिहान र्‍याली निकाल्नुका साथै अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले समाजमा रहेको विभेद र सुशासन अभावले गर्दा उत्पन्न द्वन्द्वले समाजमा अशान्ति फैलाएको बताए । उनले शान्ति प्रवर्धन गर्ने काम भनेको एक राष्ट्रमा मात्र सिमित नभई विश्वभरि नै आवश्यक पर्ने बताए ।

photo20160921kaski photo20160921kaski1

इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार सन्धीखर्कमा बिहान प्रभातफेरी गरिएको छ । त्यसपछि आयोजित प्रवचन कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले दिगो विकास र शान्तिको लागि संविधान कार्यन्वयन गर्नुपर्ने बताएका छन् । उनीहरूले असोज ४ गते काठमाडौं उपत्यकामा विभिन्न विद्यालयमा गरिएको बम विस्फोटन र विस्फोटक पदार्थ राख्ने कामको विरोध गरे ।

त्यसैगरी दिगो शान्ति राष्ट्र विकासको आधार मूल नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा मध्यपश्चिमाञ्चल क्षेत्रका बाँके, बर्दिया, सुर्खेत, जुम्ला र दाङ जिल्लामा विभिन्न कार्यक्रमका साथ शान्ति दिवस मनाइएको समाचार सम्बन्धित जिल्ला प्रतिनिधिबाट प्राप्त भएको छ ।

इन्सेक बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डेका अनुसार स्थानीय शान्ति समितिको आयोजना तथा इन्सेक, हरप्लेस, फातिमा फाउण्डेसन, विग्रुप, सूचना तथा मानव अधिकार केन्द्र र महेन्द्र बहुमूखी क्याम्पसको सहकार्यमा असोज ५ गते शान्ति निर्माणमा नागरिक दायित्व विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले राजयले प्रवाह गर्ने सेवा सुविधाहरू व्यवस्थित भए स्थायी शान्ति कायम रहने बताए ।

नागरिक र सरकारी स्तरबाट हिंसा न्यूनीकरण गर्दै शान्ति स्थापनाका लागि प्रयासहरू गरिनुपर्ने प्रजिअ पन्थले जोड दिए । शान्ति सुव्यवस्था अनुभूति गर्ने कुरा भएको बताउँदै प्रजिअ पन्थले कानुन कार्यान्वयन निष्पक्ष र इमान्दारितापूर्वक गरिए शान्ति कायम गर्न मद्दत पुग्ने बताए ।

इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक भोला महतले शान्ति स्थापनाका लागि सबैले आआफ्नो ठाँउबाट प्रयास गर्नुपर्ने बताए । जिल्ला प्रहरी कार्यालयका एसपी टेकप्रसाद राईले शान्ति विना कुनै काम असम्भव भएकाले आफ्नो अधिकार खोज्दा अर्काको अधिकार हनन् नहोस भन्ने प्रति सबै सचेत हुनुपर्ने बताए ।

photo-20160922-banke

दाङ जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार सशस्त्र द्वन्द्वका क्रममा अभिभावक गुमाएका दाङका पाँच जना बालबालिकालाई स्थानीय शान्ति समिति दाङले शैक्षिक सामग्री वितरण गरेको छ । असोज ५ गते घोराहीमा एक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले शैक्षिक सामग्री प्रदान गरेका हुन् । सशस्त्र द्वन्द्वमा बुबा गुमाएपछि आमाले समेत छोडेर गएका टुहुरा पाँच जना बालबालिकालाई शैक्षिक सहयोग गरिएको स्थानीय शान्ति समिति दाङका संयोजक नरेशजङ्ग राणाले बताए । शैक्षिक सहयोग पाउनेमा श्रीगाउँ गाविस-२ बागरका सन्तुराम चौधरी, प्रविण चौधरी, प्रमिता चौधरी, एमएसएन चौधरी र जानकी सार्की रहेका छन् । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले द्वन्द्वपछि सिर्जित अशान्तिको दुरी घटाउन राज्यले प्रयास गरिहेको भन्दै विकासका लागि दिगो शान्ति स्थापना हुनुपर्ने बताए ।

सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाका अनुसार स्थानीय शान्ति समिति सुर्खेतले असोज ५ गते क्षेत्रीय अस्पताल सुर्खेतका बिरामीलाई फलफूल वितरण गरेको छ । अस्पतालका ९५ जना बिरामीलाई फलफूल वितरण गरिएको स्थानीय शान्ति समितिले जनाएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले विश्व शान्ति स्थापनाका लागि सबै पक्ष सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए । यसैगरी बर्दिया र जुम्ला जिल्लामा पनि अन्तर्राष्ट्रिय शान्ति दिवस सम्पन्न भएको सम्बन्धित जिल्ला प्रतिनिधिले जानकारी गराएका छन् ।

इन्सेक भोजपुर जिल्ला प्रतिनिधि किरण राईका अनुसार स्थानीय शान्ति समितिको अगुवाई र विभिन्न सङ्घसंस्थाको आयोजनामा विविध कार्यक्रमको आयोजना गरी शान्ति दिवास मनाइएको छ । शान्ति दिवसको अवसरमा सदरमुकामको लोकतान्त्रिक गेटदेखि चारभञ्ज्याङसम्म र्‍याली गरेर जिल्ला विकास समितिको हलमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले दिगो शान्ति र स्थायित्वको लागि सबैको भूमिका वराबरी हुने भएकाले सबैले शान्तिको लागि अग्रसर हुनुपर्ने बताए ।

इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालका १ सय जना बिरामीलाई फलफूल वितरण गरिएको छ । स्थानिय शान्ति समिति सप्तरीले बिरामीलाई फलफूल वितरण गरिएको स्थानीय शान्ति समितिका संयोजक निरन्जन झाले बताए ।

इन्सेक धनुषा जिल्ला प्रतिनिधि विनोद कुमार रविदासका अनुसार स्थानीय शान्ति समिति, इन्सेक, ओरेकलगायत सङ्घसंस्थाले असोज ५ गते साँझ धनुषाको जनकपुरमा दिप प्रज्जवलन गरी अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइएको छ ।

त्यसैगरी स्थानीय शान्ति समिति धनुषाको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरी शान्ति दिवस मनाइएको छ । शान्ति दिवसको अवसर पारेर समितिले प्रकाशन गरेको ‘शान्ति सन्देश स्मारिका–२०७३’ समेत विमोचन गरिएको छ । दिगो शान्तिको लागि एक जुट भई राजनीतिक समझदारी बढाएर अघि बढनु पर्ने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाईंले बताए ।

द्वन्द्वकालीन घटना अर्थात गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घन घटनामा दुवै पक्षबाट पीडित भएकोले पीडितलाई न्याय र पीडकलाई कानुनी घठघरामा ल्याउनु पर्ने स्थानीय शान्ति समितिका पुर्व संयोजक कोमलकान्त झाले बताए ।

इन्सेक मोरङ् जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईका अनुसार असोज ५ गते विराटनगरमा दिप प्रज्वलन गरिएको छ । जनआन्दोलन चोकमा साँझ भेला भएर विश्व शान्ति र घर शान्तिको कामना गर्दै दिप प्रज्वलन गरिएको हो । कार्यक्रममा स्थानीय शान्ति समिति मोरङका अध्यक्ष महेश रेग्मीले असन्तुष्ट पक्षको मागलाई सम्बोधन गर्दै संविधान कार्यान्वयन गरेर देशमा दीगो शान्ति स्थापना गर्नुपर्ने बताए ।

इन्सेक खोटाङ् जिल्ला प्रतिनिधि सुनिता मगरका अनुसार असोज ५ गते अन्तरक्रिया गरिएको छ । स्थानीय शान्ति समितिका संयोजक श्यामकुमार राईले द्वन्द्व कालमा बेपत्ता पारिएका व्यक्तिका परिवार र विस्थापित परिवारको न्याय र पुनःस्थापनाका लागि सक्रियताका साथ साथ कार्य गरिने बताए ।


अनलाइन डेस्क