विवरण फरक परेपछि भूकम्प पीडितको अनुदान निकासा रोकियो

ओखलढुङ्गाका ६ सय ८५ घरधुरी भूकम्प पीडितका नाममा अनुदान सम्झौता भए पनि पीडितहरूको विवरण फरक परेपछि अझै रकम निकासा हुन सकेको छैन । सम्झौता गर्दा नाम, निस्सा नम्बर र नागरिकता नम्बर नमिलेपछि अनुदान निकासा नभएको बताइएको छ । विवरण फरक परेपछि भूकम्प पीडितहरू अुनदानको रकम पाउने कि नपाउने भन्ने अन्यौलमा परेका छन् ।

गाविसमा खटिएका कर्मचारीहरूले अनुदान सम्झौता गराउँदा लेखेको विवरण र पुनः निर्माण प्राधिकरणका इञ्जिनियरहरूले लिएको विवरणमा मेल नखाएका ६ सय ८५ घरधुरी भूकम्प पीडितको अनुदान निकासा नभएको जिविसका कम्युटर अपरेटर पदरम परियारले बताए ।  विवरण सच्याउनसमेत समस्या भएपछि अनुदान निकासा पठाउन नसकिएको परियारको भनाइ छ ।

अनुदान सम्झौतामा भएको विवरण सच्याएर ४ सय ५५ घरधुरीको विवरण कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाए पनि १ सय ६८ जनाको मात्र विवरण मेल खाएकाले अझै ४ सय १५ घरधुरी भन्दा बढी भूकम्प पीडितहरूको अनुदान निकासा हुन सकेको छैन ।

अनुदान निकासा गराए पनि वितरणमा भएको ढिलाइले अहिलेसम्म १७ हजार ३ घरधुरी भूकम्प पीडितमध्ये आधा पीडितहरूलाई मात्र अनुदान वितरण भएको जनाइएको छ ।


शिवप्रसाद ढुङ्गाना