विवरण नमिल्दा ४१ जना लाभग्राहीले पहिलो किस्ता अनुदान रकम पाएनन्

भूकम्पबाट आवासमा क्षति पुगेर लाभग्राहीको सूचीमा सूचीकृत ओखलढुङ्गाका ४१ जना लाभग्राहीले अनुदान सम्झौता गरेपनि अहिलेसम्म पहिलो किस्ता अनुदान रकम पाउन सकेका छैनन् ।

अभिलेख राख्ने क्रममा नामनामेसी एक परिवारको, क्रम सङ्ख्या अरूकै भएको, एक व्यक्तिको नामबाट अरूलाई भुक्तानी भएको जस्ता समस्याले उनीहरूले अनुदान नपाएका हुन् ।

जिल्ला समन्वय समिति, भूकम्पीय आवाश परियोजनाको जिल्ला कार्यन्वयन इकाई, कोष तथा लेखा नियन्त्रण कार्यालय र राष्ट्रिय पुनः निर्माण प्राधिकरणको अभिलेखमा गडबडी भएपछि भूकम्प पीडित समस्यामा परेका हुन् ।

ओखलढुङ्गाका ७० जनाको विवरणमा यस्तो समस्या भएपनि अरूको समाधान भएको र ४१ जनाको समस्या समाधान भएको छैन । मानेभञ्ज्याङ् गाउँपालिका अन्तर्गतका वडाहरूमा यस्ता समस्या देखिएको हो । समस्या समाधानको प्रयास भइरहेको पुनः निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयले जनाएको छ । समितिका प्रमुख युवराज खरेलले समस्या समाधानका लागि पुनः निर्माण प्राधिकरणमा लेखी पठाएको दावी गरेका छन् ।

सरकारले चालु आर्थिक वर्षमा दोस्रो किस्ता समेत लिइसक्नु पर्ने समयावधि तोकेको छ । पहिलो किस्ता समेत लिन नपाएका पीडितहरूले घर निर्माण नै थालेका छैनन् । चालु आवको दुई महिना मात्र बाँकी हुँदा पहिलो किस्तासमेत नपाएपछि आफूहरूले अनुदान नपाउने हो कि भनेर पीडितहरू गाउँपालिकामा आउने गरेपनि समाधानको उपाय नभएको मानेभञ्ज्याङ् गाउँपालिकाका प्रमुख मोतिराज राईले बताए । लामो समयदेखि यस्तो समस्या आएपनि सरोकारवाला निकायले चासो नदिएको पीडितको गुनासो छ ।


शिवप्रसाद ढुङ्गाना