विमानस्थलमा नुन थन्किएपछि हुम्लाका नागरिक नुन खानबाट वञ्चित
हुम्ला जिल्लाका लागि नेपाल सरकारले सहुलियत दरमा उपलब्ध गराएको नुन सुर्खेत र जुम्लामा अलपत्र परेपछि स्थानीयबासी नुन खानबाट वञ्चित भएका छन् । ठेकेदारले समयमै हवाई ढुवानी गर्न नसकेपछि साल्ट ट्रेडिङ्ग कर्पोरेसनबाट ठेक्कामा लिएको नुन सुर्खेत र जुम्लाको विमानस्थलमा अलपत्र परेको हो ।
नुन समयमै ढुवानी गर्न नसक्दा विमानस्थलमा सडेको पाइएको छ । विमानस्थल बाहिर रहेका नुनका बोरा च्यातिएर घाम, पानीले गर्दा सडेको अवस्थामा रहेको छ । आर्थिक वर्ष२०७३/०७४ मा ढुवानी गरिनु पर्ने नुन जिल्लामा नपुग्दै काम नलाग्ने अवस्थामा पुग्नु ठेकेदारको लापरवाहीले भएको स्थानीयाबासी गणेश बोहोराले आरोप लगाए ।
निर कार्गो सर्भिसका सञ्चालक तेजबहादुर महतले हुम्लाका लागि ४ हजार क्वीन्टल नुन, प्रति क्वीन्टल ८ हजार १५ रुपियाँ ठेक्कामा लिएको तर समयमा ढुवानी गर्न नसक्दा बेवारिसे अवस्थामा रहेको पाइएको छ । ठेकेदारले अहिलेसम्म २ हजार क्वीन्टल नुन मात्र जिल्लामा ढुवानी गरेको साल्ट ट्रेडिङ्ग कर्पोरेसन हुम्लाका प्रमुख राजबहादुर लामाले जानकारी दिए ।
नेपाल सरकारले हुम्ला लगायत अन्य दुर्गम जिल्लामा सहुलियत दरमा भानु ब्राण्डको नुन बिक्री वितरण गर्दै आएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेसनले हुम्लामा प्रति किलो नुन नौ रुपैयाँमा बिक्री गर्ने गरेको छ । सहुलियत दरमा उपलब्ध हुने नुन हुम्लाका श्रीनगर, र्सर्केगाड, हिल्सा र सिमिकोटबाट बिक्री वितरण हुने गरेको छ ।
२ हजार क्वीन्टल नुन ढुवानी भइसकेको र बाँकी २ हजार क्वीन्टललाई ल्याब परीक्षण गरी फिर्ता लैजान कर्पोरेसन तयार भएको नेपाल साल्ट ट्रेडिङ्ग, क्षेत्रीय कार्यालय, नेपालगञ्जका प्रमुख मनोज चौधरीले जानकारी दिएका छन् ।
ठेकेदारले कार्यालयबाट नुन किनेर लगिसकेको तर हुम्लामा पुगेपछि मात्र सोको ढुवानी दाबी गर्न सक्ने प्रावधान भएको चौधरीले बताए । आयोडिनयुक्त नुनको समयावधि दुई वर्षको हुने र आयोडिन उडेर नगएमा यसको पुनः प्रयोग गर्न मिल्नेसमेत चौधरीको भनाइ छ ।
नेपाल सरकारले हरेक वर्ष हवाई स्थलमार्गबाट नुनको ढुवानी गर्ने गरेको भएतापनि नुनका ठेकेदारले बेलैमा ढुवानी गर्न नसक्दा उपभोक्तालाई समस्या पर्ने गरेको छ । ठेकेदारले आफ्नो फाइदा अनुकूल काम गर्ने गरेको र सर्वसाधरणलाई नुनको जहिले पनि अभाव हुने गरेको स्थानीयबासीहरूको गुनासो रहेको छ ।
हुम्लाको नुन जुम्ला र नेपालगञ्जमा बेवारिसे हुनु तर हुम्लीले चाहेको नुन प्राप्त गर्न नसक्नु दुर्भाग्य रहेको चङ्खेली गाउँपालिका-१ का तिलक बोहोराले बताए ।
सरकारले दिने सहुलियत दरको नुन समयमै नपाउँदा १८ दिन लगाएर भेडाबाख्रामा बोकाएर चीनको ताक्लाकोट जान बाध्य हुने स्थानीयबासीको भनाइ छ । सर्केगाड गाउँपालिका-८ का कलबहादुर ऐडी भन्छन्-'भेडा बाख्रा, बस्तुभाउ पालेको छु । नुन धेरै चाहिन्छ । तर, नजिक रहेको वितरण केन्द्र र्सर्केगाडमा कहिले नुन आउँछ र वितरण हुन्छ थाहा हुँदैन ।'
नन्द सिंह
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
यज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
यज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको विषयमा इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…