विभेदको पराकाष्टाः नागरिकतामै कुकुर कामी !
नागरिकताको प्रमाणपत्र वितरण गर्ने दैलेखमा तत्कालिन नापी अधिकृत दुर्गाप्रसाद गिरीको नागरिकता टोलीले कविराम कामी नाम बताउँदाबताउँदै ‘कुकुर कामी’ नाम राखेर नागरिकता दिएको कविरामले आरोप लगाउनु भएको छ ।
२०४६ जेठ ७ गते गाउँमै गएको नागरिकता टोलीले नागरिकतामै ‘कुकुर कामी’ लेखिएको कारण ३३ वर्ष यता उहाँ गाउँसमाजका भेलामा जान छोड्नुभएको छ ।
२०१७ पुस २५ गते जन्मनुभएका कविराम कामीलाई तत्कालिन मेहेलतोली गाउँ पञ्चायतका प्रधानपञ्च बखतबहादुर खड्काको सिफारिसमा यो नागरिकता दिइएको हो ।
त्यसबेला मेहेलतोली गाउँ पञ्चायत, अहिलेको सङ्घीय पुनर्संरचना अघि मेहेलतोली गाविस थियो ।
नागरिकतामा मेहेलतोली गाउँ पञ्चायत–६ लेखिएको ठाउँ सङ्घीय पुनर्संरचनापछि अहिले भगवतीमाई गाउँपालिका ६ नं. वडामा पर्दछ ।
नागरिकतामा ‘कुकुर कामी’ लेखिएका कविराम, भुण्टो कामीका कान्छो छोरा हुनुहुन्छ । कविरामभन्दा अघि ६ जना दाजुहरूको मृत्युपछि जन्मेका र कुकुर नाम राखे बाँच्न सक्छन् भन्ने पण्डितको सल्लाह र अन्धविश्वासका कारण राखिएको नाम थियो ‘कुकुर’ ।
उहाँ त बाँच्नुभयो तर नागरिकतामा ‘कुकुर’ लेखिएकै कारण उहाँ आफैँ, पत्नी, सात छोराछोरी १३ नातिनातिनीहरू फलानोको पत्नी, फलानोको छोराछोरी वा फलानोको नातिनातिनी भन्न नाम उच्चाहरण गर्न लज्जित हुनु परेको छ ।
जेठी छोरी लक्ष्मी (३२)को जाजरकोटको जुनिचाँदेमा विवाह भएको छ । एक छोरा र तीन छोरी जन्माइसकेकी उहाँले बुबाको नाम ‘कुकुर’ उल्लेख गरी नागरिकता लिन अप्ठ्यारो परेर नागरिकता निलएको बताउनु भएको छ ।
माइली छोरी कल्पना (२६)को भगवतीमाई गाउँपालिका–७ तौलुममा विवाह भएर दुई छोरी जन्मिइसकेका छन् । उहाँले पनि यही समस्याले नागरिकता नबनाएको बताउनु भएको छ ।
जेठो छोरा जयबहादुरले (२९) मलेसियामा तीन वर्ष काम गर्नु भयो । बुबाको नाम ‘कुकुर’ लेखेर पैसा पठाउन गाह्रो लागेर पठाउन नसकेको उहाँ बताउनुहुन्छ ।
कान्छी छोरी रत्ना (२३) र माइलो छोरा सन्तराम (२०)ले नागरिकता बनाउनुभएको छ तर बुबाको नाम ‘कुकुर’ लेखिएकै कारण त्यो नागरिकता देखाउन अप्ठ्यारोले गाउँका समूहमा बस्ने, सामुदायिक क्रियाकलापमा सहभागी वा प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता सरकारले दिएको आयआर्जन कार्यक्रममा सहभागी हुन नगएको रत्नाले बताउनु भयो ।
साइलो छोरा पप्पु (१८) कक्षा ८ मा पढ्दा चार वर्ष अघि विद्यालयमा साथीहरुले जिस्काएकै कारण बिचैमा पढाइ छाड्नु भयो । अहिले उहाँ भारतमा मजदुरी गर्नुहुन्छ । कान्छो छोरा शिवराज (१६) अहिले गाउँकै एक विद्यालयमा कक्षा १० मा पढ्दै हुनुहुन्छ ।
साथीहरुले जिस्काइदिने गरेकै कारण शिवराज पनि हतोत्साहित हुने गरेको आफूले पनि महसुस गरेको खड्गदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद रेग्मीले सुनाउनु भयो ।
उहाँले भन्नु भयो-‘बुबाको नाम थाहा पाएर पनि साथीहरुले जिस्काउने गर्छन् । हामीले त्यसो नगर्नु भनेर सम्झाउने चाहिँ गरेका छौँ ।’
जन्मँदै छोराहरू मर्न थालेपछि कविरामको जस्तै मेहेलतोली र छिमेकी गाउँ जगनाथमा समेत त्यो समयका करिव ६ जनाको नाम ‘कुकुर’ भन्ने गरिएको थियो । समाजका अगुवाहरुले सभ्यताको विपरित हुने भन्दै (न्वारन) राशीको नाम लेखाए ।
कविरामले नागरिकता लिएकै समय अर्थात दुर्गाप्रसाद गिरी टोली प्रमुख खटिइ आएको बेला जगनाथका उतिबेलाका जनप्रतिनिधि र सामाजिक अगुवाहरुले ‘कुकुर’ नाम भन्ने गरिएका तीन जनामध्ये प्रेमबहादुर दमाई, पदमबहादुर कामी र धनबहादुर कामीले कुकुरबाहेकको नामबाट नागरिकता पाउनु भयो ।
जगनाथमा नागरिकता बाँडेको एक सातापछि मेहेलतोली पुगेको टोलीका प्रमुख गिरीले दस्तखत गर्दा नागकिरतामै ‘कुकुर’ नलेखौँ भनेर रोकेको भए बदलिन सक्थ्यो ।
नागरिकताको प्रमाणपत्रसम्बन्धी सिफारिसमा प्रधानपञ्चबाट सही गराउनु अघि त्यसबेलाका गाउँपञ्चायतका सचिवले ध्यान पुर्याएको भए कविराम कामी लेखिएको हुन्थ्यो ।
मेहेलतोलीमा त्यो बेला तीन जनाको नाम ‘कुकुर’ लेखेरै नागरिकता दिइएको विवरण प्राप्त भएको छ । अरु दुई जनाको निधन भइसकेको छ । अरु दुई जना कविराम भन्दा १५–२० वर्ष जेठा हुनुहुन्थ्यो । नागरिकतामै ‘कुकुर’ नाम लेखिएका सबै जना दलित मात्र हुनुहुन्छ ।
‘बाँचुन भनेर राखिएको नाम बदल्न सकिन्थ्यो, हाम्रो गाउँमा बदल्यौँ’ भगवतीमाई गाउँपालिका–४ जगनाथका स्थानीय बासिन्दा पूर्व शिक्षक कृष्णप्रसाद अधिकारीले सुनाउनु भयो ।
उहाँले भन्नु भयो-‘घरकाले बिगारेको नाऊँ, ठालुले बिगारेको गाऊँ’ उखान त्यसै चलेको होइन ।
दमाई कामीहरुकै नाम बिगारेर राख्ने श्रृङ्खला अझै पनि कायम रहेको अधिकारकर्मी मनिषा बिकको टिप्पणी छ । ‘यो जातीय विभेदको स्वरुप हो ।’-उहाँको तर्क छ ।
अगाडिका सन्तानहरु मरिरहन थालेपछि बाँचुन भनी ‘कुकुर’ क्षेत्री, बाहुन वा ठकुरीलाई भनिएन ? मनिषाको प्रश्न छ ।
कविराम कामीको नागरिकतामा ‘कुकुर कामी’ लेखिएकै विषयमा दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलसमक्ष राख्दा उहाँले के कसरी सुधार गर्न सकिन्छ ? प्रक्रिया के हुनसक्छ मन्त्रालयमा सोधेर भन्न सकिने जानकारी दिनु भयो ।
यही समस्यबारे गृह मन्त्रालको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका इञ्चार्ज सहसचिव डा. भीष्मकुमार भुसालले नागरिकतामै ‘कुकुर कामी’ लेखिनु आपत्तिजन भएको टिप्पणी गर्नु भयो ।
उहाँले भन्नुभयो-‘यसले धेरै अपमान बोध गराएको होला भन्ने सहजै महसुस भएको छ, नाम बदल्ने बारे समाधानको पहल हुन्छ ।’
अमर सुनार
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)
साउन ३१ गते ३ सय ९९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
भाइ बुहारीमाथि एसिड प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
भाइ बुहारीमाथि एसिड प्रहार गर्ने दार्मा गाउँपालिका–३ चम्पुटाकुरा निवासी ५० वर्षीय बेचे रावतलाई जिल्ला प्रहरी कार्यालय, सल्यानले साउन ३१ गते गिरफ्तार गरेको छ । ४९ वर्षीय भिम बहादुर रावत, उनकी…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
सुनवल नगरपालिका– ५, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन…
आठ वर्षसम्म विद्यालय भवन पूर्णनिर्माण हुन नसकेपछि विद्यार्थीहरु चुहिने छाँनोमूनि अध्ययन गर्न बाध्य
बुढिनन्दा नगरपालिका–२ स्थित जनप्रकाश माविको १५ कोठे भवन निर्माण सम्पन्न हुन नसकी आठ वर्षदेखि अलपत्र भएपछि विद्यार्थीहरु पुरानो चुहिने भवनको छाँनोमूनि बसेर अध्ययन गर्न बाध्य भएका छन् । भारतीय दुताबासको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ बर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका ३२ बर्षीय पन्नालाल रौनियारलाई साउन २९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरू पन्नालाल र १९ वर्षीय बानर…