विभिन्न जिल्लामा सुरक्षा सम्वेदनशील मतदान केन्द्रको पहिचान
दोस्रो चरणमा स्थानीय तहको निर्वाचन गर्न लागिएको विभिन्न जिल्लामा जिल्ला सुरक्षा समितिले सम्वेदनशील मतदान केन्द्रको पहिचान गरिएको इन्सेकका जिल्ला प्रतिनिधिहरूले जनाएका छन् ।
इन्सेक बाजुरा जिल्ला प्रतिनिधि पदम सिंहका अनुसार ७० मतदान स्थल र ९२ मतदान केन्द्र तोकिएको बाजुरा जिल्लाका मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले जानकारी दिए ।
यसमा ३३ ओटा अति सम्वेदनशील, ३० ओटा सम्वेदनशील र नौ ओटा सामान्य रहेको विश्लेषण गरी सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाएको जनाइएको छ ।
निर्वाचन कार्यालय बाजुराले निकालेको अन्तिम मतदाता नामावली अनुसार ३२ हजार ५ सय २१ पुरूष, ३२ हजार ४ सय २७ महिला र दुई जना तेस्रो लिङ्गी गरी ६४ हजार ९ सय ५० जनाले मताधिकार प्रयोग गर्न पाउने भएको जिल्ला निर्वाचन अधिकारी शुभद्रा गौतमले जानकारी दिइन् ।
इन्सेक दाङ जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार जिल्ला सुरक्षा समितिले दाङका १ सय ३६ मतदान स्थल सम्वेदनशील रहेको जनाएको छ । त्यस्तै चार मतदान स्थल अति सम्वेदनशील र ११ मतदान स्थल सामान्य रहेको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले बताए ।
१ सय ५१ मतदान स्थल र ३ सय ५१ मतदान केन्द्र रहेको दाङमा शहरी क्षेत्रका मतदानस्थल सुरक्षित र सामान्य रहेको सुरक्षा समितिले जनाएको छ ।
दुर्गम तथा नेपाल-भारत सिमानाका मतदान स्थललाई अति सम्वेदनशील मतदान स्थलका रूपमा वर्गीकरण गरी सुरक्षा रणनीति तर्जुमा गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी धिरजप्रताप सिंहले बताए ।
सुरक्षा समितिले दाङमा नेपाल कम्युनिष्ट पार्टीले सडक सञ्जालले नजोडिएको क्षेत्र र नेपाल-भारत खुला सीमा नाकालाई सुरक्षा चुनौतीको रूपमा लिएको जनाइएको छ । २ लाख ९१ हजार १ सय ५० मतदाता सङ्ख्या रहेको दाङमा निर्वाचन सुरक्षाका लागि २ हजार ३ सय सुरक्षाकर्मी परिचालन गरिने एसपी सिंहले बताए । दाङमा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका छन् ।
इन्सेक भोजपुर जिल्ला प्रतिनिधि किरण राईका अनुसार स्थानीय तह निर्वाचनको क्रममा जिल्लाको ५६ मतदान केन्द्र सुरक्षाका दृष्टिले सम्वेदनशील क्षेत्रका रूपमा पहिचान गरिएको छ ।
भौगोलिक आधारसँगै निर्वाचनविरूद्ध गतिविधि गर्ने समूहहरूका कारण उक्त क्षेत्र सुरक्षाका कारण सम्वेदनशील क्षेत्र रहेको छ । निर्वाचनको सुरक्षा सतर्कताका लागि नेपाल प्रहरी र म्यादी प्रहरी खटाइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ८७ मतदानस्थल तथा १ सय ४१ मतदान केन्द्रका लागि आवश्यक पर्ने ४ सय ९२ जना म्यादी प्रहरी खटाइएको निर्वाचन अधिकृत केवलप्रसाद रेग्मीले जानकारी दिए ।
जिल्ला सुरक्षा समितिले ५६ मतदान केन्द्रलाई सुरक्षाका दृष्टिले सम्वेदनशील केन्द्र रहेको पहिचान गरेको छ । अन्य ८५ केन्द्र सामान्य रहेको समितिले जनाएको छ । सुरक्षामा समस्या आउने देखिएमा तत्काल नेपाली सेनाका दुई ओटा हेलिकप्टरले समेत सुरक्षा दिने व्यवस्था गरिएको छ । दुई नगरपालिका, सात गाउँपालिका र ८१ वडामा १ लाख ५ हजार ५ सय ४७ मतदाता छन् ।
इन्सेक प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार जिल्ला सुरक्षा समितिले जिल्लाका ३५ ओटा मतदान स्थल अति सम्वेदनशील रहेको जनाएको छ । १ सय ८६ ओटा मतदानस्थल र १ सय ५१ मतदान केन्द्र रहेकोमा ३५ ओटा मतदानस्थल अति सम्वेदनशील रहेको समितिले निष्कर्षनिकालेको हो ।
स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजवुद बनाउन जिल्लामा विभिन्न मतदान केन्द्र र मतदान स्थललाई वर्गीकरण गरी सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।
प्यूठानमा दुई नगरपालिका र सात गाउँपालिका रहेका छन् । जिल्लामा कूल मतदाता सङ्ख्या १ लाख २७ हजार ४ सय ४७ जना रहेको निर्वाचन कार्यालय जनाएको छ ।
इन्सेक दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्र सिंह कार्कीका अनुसार दार्चुलाका नौ ओटा तहका ११ ओटा मतदान केन्द्र अति सम्वेदनशली रहेको जिल्ला सुरक्षा समिति दार्चुलाले जनाएको छ । एक नगरपालिकासहित तीन गाउँपालिकाका उक्त मतदान केन्द्रहरू अति सम्वेदनशील रहेको जनाएको हो ।
जिल्लाभरीका १ सय १० ओटा मतदान स्थलमा १ सय २८ मतदान केन्द्र रहेका छन् । जसमा १० ओटा सम्वेदनशीलमा राखिएकेा जिल्ला प्रहरी कार्यालयका डिएसपी केदार खनालले जानकारी दिए । जिल्लामा ७३ हजार ५१ जना मतदाता रहेका छन् । जिल्लामा पुरूष मतदाता ३६ हजार ७ सय २८ र महिला मतदाता ३६ हजार ३ सय २३ जना रहेका छन् ।
जिल्लाको सबैभन्दा टाढाको मतदान केन्द्र व्यास गाउँपालिकाको वडा नम्बर १ को मोती महिला सङ्घ आधारभूत विद्यालय टिङ्कर हो । जहाँ ९४ पुरूष र १ सय ५ महिला गरी १ सय ९९ मतदाता छन् भने सोही वडाको कैलाशपति माध्यमिक विद्यालय छाङ्गरूमा १ सय ४५ पुरूष र १ सय ७३ महिला गरी ३ सय १८ जना मतदाता रहेका छन् ।
व्यास गाउँपालिकाको यी दुवै मतदान केन्द्रमा पुग्न सदरमुकाम खलङ्गाबाट चार दिनको पैदल दुरीमा पर्छ । अहिले निर्वाचनको लागि मतदान केन्द्र व्यासमै कायम गरिएको कारण मतदाताहरू समेत व्यास जान सुरू गरेको नगेन्द्र तिंकरीले जानकारी दिए ।
निर्वाचनमा खटिने कर्मचारी र मत पेटिकासहितको टोली असार ७ गते खलङ्गाबाट हिँड्ने गरी तयारी भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी केदार खनालले जानकारी दिए । भौगोलिक रूपमा विकट भएको कारण कडा सुरक्षा व्यवस्थाका साथ नेपालकै बाटो भएर व्यास पठाउन लागिएको हो । व्यासका मतदाता भने, भारतीय बाटोको प्रयोग गर्दै जाने गरेका छन् ।
व्यास सदरमुकाम खलङ्गाबाट २९ कोष टाढा पर्छ । यस्तै सदरमुकाम खलङ्गाबाट टाढा रहेको अपि हिमाल गाउँपालिकाको वडा नम्वर १, २, ३ मा पनि कर्मचारी पठाउने तयारी गरेको छ । सदरमुकाम खलङ्गाबाट दुई दिनको दुरीमा पर्ने अपि हिमाल गाउँपालिकाको घुसा खण्डेश्वरी २६ कोषको दुरीमा रहेको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्मा गाउँपालिका–४ घर भई जयपृथ्वी नगरपालिका–९ चौडमा कोठा भाडामा लिएर बन्दैआएका २१ वर्षीय पवन बोहरालाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ ।…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मुसिकोट नपा–५, रुकुम पश्चिमका ३० वर्षीय मिलन वनलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले…
स्वास्थ्यकर्मीको लापरबाहीका कारण सीताको मृत्युभएको परिवारको आरोप
मालिकार्जुन गाउँपालिका–४ ऐरीछानाका ४५ वर्षीया सीता धामीको स्वास्थ्यकर्मीको गम्भीर लापरबाहीका कारण ज्यान गएको परिवारजनको आरोप छ । ०८१ फागुन २१ गते परिवार नियोजन मिनिल्याप शिविरमा उहाँको शल्यक्रिया बिगारेको कारण महिलाको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–७, हर्नेयाका १९ वर्षीय शिव मल्लाहलाई चैत ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २ गते यौन दुर्व्यवहार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया सुस्तमनिस्थिति तथा बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका—८ लोहपुरका १८ वर्षीय राम साउदलाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…