विभिन्न जिल्लाबाट नेकपाका कार्यकर्ता गिरफ्तार

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका रामेछाप इञ्चार्ज भएको अभियोगमा प्रहरीले ३८ वर्षीय यादव ढुङ्गेललाई गिरफ्तार गरेको इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि सविना केसीले जनाएकी छन् ।

काभ्रेको चौरी देउराली घर भएका ढुङ्गेललाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले चैत १५ गते भक्तपुरको सूर्यविनायकबाट गिरफ्तार गरी १७ गते भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेको प्रहरी परिसर भक्तपुरका डिएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।

मादक पदार्थ सेवन गरी प्रहरीलाई अभद्र व्यवहार समेत गरेकाले प्रहरीले अभद्र व्यवहार गरेको अभियोगमा मुद्दा दर्ता गरी थप अनुसन्धान जारी राखेको उनले जानकारी दिए ।

पडितका आफन्तले भने ढुङ्गेललाई बेपत्ता पारेको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काठमाडौँमा चैत १७ गते नै जीवन रक्षाको माग गर्दै उजुरी दिएका छन् ।

इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा विसीका अनुसार बुटवल उमनपा–१० कालिकानगरमा फागुन ३० गते विष्फोटक पदार्थ (बम) राखेको आरोपमा प्रहरीले गुल्मी जिल्ला छत्रकोट गाउँपालिका–१ स्थायी घर भई बुटवल उमनपा–९ बस्ने ४० वर्षीय महेन्द्र टण्डनलाई चैत १५ गते बुटवलबाटै गिरफ्तार गरेको छ ।

आरोपित टण्डन नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेको र फागुन ३० गते बुटवल उमनपा–१० कालिकानगरस्थित सिद्धार्थ राजमार्गमा विष्फोटक पदार्थ (बम) राख्ने व्यक्ति भएको प्रहरीको आरोप छ ।

घटनाका विषयमा इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले विभिन्न स्थानमा विष्फोटक पदार्थ (बम) राख्ने काममा संलग्न रहेका टण्डनलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको बताए ।

इन्सेक मोरङ जिल्ला प्रतिनिधि ईन्दिरा भट्टराईका अनुसार मोरङ सेक्रेटरी नवराज भट्टराईलाई प्रहरीले चैत १४ गते गिरफ्तार गरेको छ ।

ग्रामथान गाउँपालिका ५ स्थित काकरमारी भन्ने ठाउँमा चैत १४ गते साँझ सडक दुर्घटनामा परेर घाइते भएका भट्टराईलाई उद्धार गरेर उपचारका लागि अस्पताल ल्याएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

मे ३ प ११८० नम्बरको मोटरसाइलबाट लडेर भट्टराई घाइते भएकाले उपचारका लागि कोशी अञ्चल अस्पताल लगिएको थियो ।

सोही क्रममा विप्लव नेतृत्वको पार्टीका सेक्रेटरी भएको खुलेपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

टाउकोमा चोट लागेका भट्टराईको कोशी अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सोही दिन धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जनाएको छ ।


अनलाइन डेस्क