विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जेठ १३ गते आह्वान गरेको नेपाल बन्दको छिटफूट घटना बाहेक सामान्य जनजिवन प्रभावित भएको इन्सेक जिल्ला प्रतिनिधिहरूले जनाएका छन् ।

सङ्घीय राजधानी काठमाडौँका भिन्न ठाँउहरूमा जेठ  १२ गते बम विष्फोट गराइएका कारण त्यसको असर जेठ १३ गतेको नेपाल बन्दमा देखिएको छ ।

काठमाडौँ, ललितपुर, भक्तपुरलगायतका जिल्लाका विद्यालयहरू बन्द गरिएका कारण बालबालिकाको पठनपाठन प्रभावित भयो ।

इन्सेक काठमाडौँ जिल्ला प्रतिनिध बिमला पौडेलका अनुसार उपत्यकामा सवारी साधन अत्यन्त कम मात्रामा चलेका कारण यात्रुहरू अलपत्र परेका थिए ।

जेठ १२ गते उपत्यकाको विभिन्न ठाउँमा भएका बम विष्फोटका कारण जनमानसमा त्रास फैलिएको उनले जानकारी दिइन् ।

इन्सेक सिन्धुली जिल्ला प्रतिनिधि बिमला पाण्डेका अनुसार विपी राजमार्गमा सवारी साधनलाई प्रहरीले स्कटिङ गरेर सञ्चालन गरायो । सिन्धुलीका ग्रामीण क्षेत्रमा भने सवारी आवागमन हुन सकेको छैन ।

दुधौली नगरपालिका–८ को खोरभञ्ज्याङमा बिहान भेटिएको शङ्कास्पद वस्तुका कारण सर्वसाधारणमा त्रास फैलिएको थियो ।

सडकको बीचमा ‘नेपाल बन्द छ, खतरा’ लेखेर सकेट बम जस्तो शङ्कास्पद वस्तु भेटिएपछि उक्त सडक आसपासमा त्रास फैलिएको थियो ।

शङ्कास्पद वस्तु भेटिएपछि नेपाली सेनाको उदयपुरको टोलीले उक्त वस्तु डिस्पोज गर्न खोज्दा बम नभएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी लोकदर्शन थापाले बताए ।

इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार भरतपुर महानगरपालिका– १५ रामपुरमा जेठ १३ गते प्रेसर कुकर बम फेला परेकोमा नेपाली सेनाले डिस्पोज गरेको छ । जेठ १३ गते बिहान ११ बजेको समयमा उक्त बम फेला परेको कुँवरले जनकारी दिए ।

इन्सेक दोलखा जिल्ला प्रतिनिधि उद्धव पोखरेलका अनुसार बन्दले दोलखाको जनजीवन प्रभावित भएको छ । बन्दको प्रभाव जिल्लाको सवारी साधनको आवागमनमा देखिएको छ भने कलेज,विद्यालयमा कक्षा सञ्चालन भएनन् ।

लामो तथा छोटो दुरीमा चल्ने यातायातका साधन चलेका छैनन् । जिल्ला सदरमुकाममा भने निजी तथा भाडाका सवारी साधन केही मात्रामा चलेका भए पनि निर्बाध रूपमा सवारी साधन नचल्दा यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिनाई भएको छ ।

इन्सेक रसुवा जिल्ला प्रतिनिका हेमनाथ खतिवडाका अनुसार बन्दका कारण जिल्लामा नियमित रूपमा चल्ने सवारीका साधनहरू चलेका छैनन् ।

कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकालगायत अधिकांश विद्यालयहरू बन्द रहेका कारण विद्यार्थीहरूको नियमित पठनपाठनमा असर परेको खतिवडाले जनकारी गराएका छन् ।

सिन्धुपाल्चोकका इन्सेक जिल्ला प्रतिनिधि नातिबाबु धितालका अनुसार नेपाल बन्दका कारण जिल्लाभरी रहेका ५ सय ६२ विद्यालयहरू बन्द हुँदा ३० हजार ७ सय ७४ जना विद्यार्थीहरूको पठनपाठन अवरूद्ध भएको छ ।

जिल्लामा सर्वजनिक सवारीमा साधनहरू पुर्णरूपमा ठप्प भएका छन् । यसरी सवारीका साधनहरू बन्द हुँदा लामो दुरीका यात्रुहरू अलपत्रमा परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जानकारी दिएका छन् ।

इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि सविना केसीका अनुसार २ सय विद्यालयहरू बन्द भएका छन् । विद्यालय बन्द हुँदा सबै विद्यालयको पठनपाठन ठप्प भएको छ ।

बन्दका कारण अधिकांश सरकारी कार्यालयमा सेवाग्राही र कर्मचारीको उपस्थिति समेत ज्यादै न्यून देखिएको छ ।

बन्दका कारण सार्वजनिक सवारीका साधनहरूको चाप कम रहे पनि कुनै अप्रिय घटना नभएको महानगरीय प्रहरी परिसरका एसपी हिमालयनकुमार श्रेष्ठले जानकारी दिएको उनले बताइन् ।

इन्सेक नुवाकोट जिल्ला प्रतिनिधि नवदिप श्रेष्ठका अनुसार  पासाङल्हामु मार्गको त्रिशूली–ककनी तथा गल्छी–देवीघाट सडकखण्डको बीचमा बम फेला परेको छ ।

विदुर नगरपालिका–५ पिपलटार र बेलकोटगढी नगरपालिका कोल्पुटारमा बम फेला परेको हो । पिपल्टारमा प्रेसर कुकर बम र कोल्पुटारमा पेट्रोल बम फेला परेको र दुवै बम निष्क्रिय परिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।

बन्दका कारण सार्वजनिक यातायातकाका साधनहरू फाट्फुट रूपमा प्रहरीको स्कटिङमा चले भने सबै शिक्षण संस्थाहरू बन्द रहेका छन् ।

इन्सेक धादिङ जिल्ला प्रतिनिधि सीताराम अधिकारीका अनुसार नेपाल बन्दका कारण धादिङका शिक्षण संस्था, यातायात र बजारहरू सञ्चालन आउन सकेनन् ।

सरकारी तवरबाट व्यापक प्रहरी परिचालन गरी सुरक्षाको कडा व्यवस्था गरेको जनएपनि असुरक्षाको कारण देखाउँदै सदरमुकामका निजी विद्यालयहरूले सार्वजनिक सूचना नै जारी गरेर विद्यालय बन्द गरे ।  अन्य स्थानमा सार्वजनिक विद्यालय र निजी विद्यालयहरू सबै बन्द रहे  ।

यसैगरी बन्दको क्रममा थाक्रे गाउँपालिका–६, महादेबबेसी, थाक्रे गाउँपालिका–५, आठकिला र धुनिबेसी नगरपालिका–६ नौबिसे नजिकै राखिएको विष्फोटक पदार्थ नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राजकुमार वैद्धवारले जानाकारी दिए ।

इन्सेक रामेछाप जिल्ला प्रतिनिधि नवराज पथिकका अनुसार मन्थली नगरपालिका–६ हात्तीटारमा जेठ १३ गते ट्रिपरमा अपरिचित व्यक्रिहरूको समूहले आगजनी गरेको छ । तीन जनाको समूहमा आएका व्यक्तिहरूले चालकलाई ओराली आगजनी गरेको प्रहरीले जनाएको छ ।

सिन्धुलीको खुर्कोटबाट मन्थली आउँदै गरेको ना ८ ख ३७७० नम्बरको ट्रिपर आगलागीबाट पुर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर शेष अदालतले जानकारी दिए ।

यसैबिच मन्थली नगरपालिका–६ हात्तीटारमा राखिएको नक्कली बमका कारण जेठ १३ गते केही समय त्रास फैलिएको थियो ।

इन्सेक कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेका अनुसार नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आह्वान गरेको बन्द क्रममा जिल्लामा बजार, यातायात, कलकारखाना शैक्षिक संस्था ठप्प हुनुका साथै विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको थियो ।

पोखरा मनपा–८ सिर्जनाचोक र फिर्केको पुल बीचमा रहेको एनसेल कार्यालय नजिक भेटिएको बमलाई नेपाली सेनाको कालिभजन गणको टोलीले निष्क्रिय पारेको छ ।

बम जेठ १२ गते राति नै भेटिएको भएपनि राति निष्क्रिय पार्दा जनजीवन त्रसित हुने भएकोले बिहान निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।

पोखरा मनपा–९  स्थित दरवारथोक पार्टी प्यालेसनजिक  र पोखरा मनपा–६ नारेश्वरचोकस्थित सडकको पेटीमा भेटिएको शङ्कास्पद वस्तुलाई समेत नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

यसैगरी अन्नपूर्ण गाउँपालिका स्थित नौडाँडामा भेटिएको शङ्कास्पद वस्तु र अन्नपूर्ण गाउँपालिका–५ र ६ जोड्ने धोतीखोलाको पुलमा पनि शङ्कास्पद वस्तु फेला परेकोमा निष्क्रिय पारेको छ ।

निकै व्यस्त बजार नयाँपुलको करिब ५ सय मिटर पर रहेको वडा नम्बर ५ र ६ को बिचमा रहेको पुलमा शङ्कास्पद वस्तु फेला परेको वडा नम्बर ६ का वडाध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए ।

बम निष्क्रिय पार्ने सेनाको टोलीले बम निष्क्रिय पारेको वडा नम्बर ५ का वडाध्यक्ष जीवननाथ पौडेलले जानकारी दिए । जेठ १३ गते माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकपुलमा पनि शङ्कास्पद बस्तु भेटिएको थियो ।

इन्सेक गोरखा जिल्ला प्रतिनिधि हरिराम उप्रेतीका अनुसार बन्दका क्रममा जेठ १३ गते बिहानैदेखि गोरखामा सार्वजनिक यातायात चलेनन् भने बजार, कलकारखाना र शैक्षिक संस्था पुर्ण रूपमा बन्द रहे ।

जिल्लाबाट छुट्ने लामो दुरीको सवारी नचल्दा यात्रुलाई गन्तब्यमा पुग्न सकस भएको छ । जिल्लामा कुनै अप्रिय घटना भने नभएको जिल्ला प्रहरी कार्यालय, गोरखाका एसपी भोला रावलले बताए ।

पोखराबाट गोरखकाली मन्दिर आएका भक्तजनलाई स्कर्टिङ गरेर आबुखैरेनीसम्म छाडिएको उनले बताए । अन्य यात्रुले पनि सुरक्षा मागे स्कर्टिङ गरेर गन्तव्यमा पुर्‍याउने उनको भनाई छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार जेठ १३ गते बुलिङटार गाउँपालिका अध्यक्ष शशिकिरण बास्ताकोटीको घर नजिकै सिलिण्डर बम विष्फोट भएको छ ।

अध्यक्ष बस्ताकोटीको घर भन्दा केही पूर्व खालि खेतमा जेठ १३ गते बिहान सिलिण्डर विष्फोट भएको इलाका प्रहरी कार्यालय, बुलिङटारका सई सुन्दर गुरुङले जानकारी दिए ।

सिलिण्डरमाथि मोटरसाईकलको टायर र दाउरा राखी आगो लगाएर बम विष्फोट गराइएको भेटिएको सई गुरुङले बताए ।

क्यापबाट ग्यास लिक भएका कारण ठुलो रूपमा विष्फोट हुन नपाएको प्रहरीको भनाई छ । विष्फोटको आवाज र आगलागी भएको थाहा पाएपछि प्रहरी र स्थानीयले आगोलाई नियन्त्रणमा लिएका थिए ।

इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार जिल्लामा दुई ठाउँमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।

बन्दीपुर गाउँपालिका–१ स्थित नाहाला र व्यास नपा–१२ स्थित मुसेखोलामा फेला परेको शङ्कास्पद वस्तु कृष्णदल गण चापाघाटबाट खटिएको सेनाको टोलीले निष्क्रिय पारेको छ ।

जिल्ला प्रहरी कार्यालय, तनहुँका डिएसपी लीलाराज लामिछानेले शङ्कास्पद वस्तु निस्क्रिय पारिएपछि जनजीवन सामान्य बनेको जानकारी दिए ।

पृथ्वीराजमार्ग अन्तर्गत नाहालाको बीच सडकमा कित्लीमा प्लाष्टिकले र मुसेखोलामा गमलालाई सेतो प्लाष्टिकले बेरेर राखेको अवस्थामा शङ्कास्पद वस्तु फेला परेको थियो ।

शङ्कास्पद वस्तु निष्क्रिय पारिएपछि सवारी साधन निर्वाध रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

इन्सेक लमजुङ जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीम्याग्दी जिल्ला प्रतिनिधि अमृत बास्कुनेका अनुसार ति जिल्लामा बन्दको सामान्य प्रभाव मात्र देखियो । बन्दका कारण शैक्षिक संस्था, बजार, लामो दुरीको यातायात प्रभावित भएपनि दुवै जिल्लामा अप्रिय घटना भएनन् ।

इन्सेक सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाका अनुसार पुर्वी सुर्खेतको गोचेखोलामा यात्रु बसमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले आगजनी गरेका छन् ।

गुर्भाकोट नपा–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसमा सो पार्टीका  कार्यकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ ।

हतियारसहित आएका उनीहरूले बिहानको साढे एक बजेतिर बसका स्टाफ र सबै यात्रुहरूलाई ओरालेर आगजनी गरेको प्रहरीले जनायो ।

आगजनीबाट बस पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार जिल्लाको जनजीवन सामान्य रहेको छ । बन्दमा विद्यालय यातायात सेवा वित्तिय संस्था, बजार बन्द भएपनि अरू अप्रिय घटना भने नभएको प्रहरीले जनाएको छ ।

सल्यान जिल्ला प्रतिनिधि मिना बुढाथोकीका अनुसार बन्दको प्रभाव सल्यानमा सामान्य रह्यो । बन्दका क्रममा विद्यालय, यातायात, बजार र शैक्षिक संस्था बन्द रहे । जिल्लामा छोटोदुरीका सवारी साधन पुर्ण रूपमा बन्द रहे ।

अत्यावश्यक र लामो दुरीका सवारी साधन स्कर्टिङ गरेर गन्तव्य सम्म पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय, सल्यानका पञ्चलाल गोलेले जानकारी दिए ।

जाजरकोट जिल्ला प्रतिनिधि दिनेशकुमार श्रेष्ठका अनुसार बन्दका क्रममा शिक्षण संस्था, यातायात र पसलहरू ठप्प भए । जिल्लामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टा छुट्टै सुरक्षा गस्ती भएको प्रशासनले जनाएको छ ।

मुगु जिल्ला प्रतिनिधि जीवन सेजुवालका अनुसार जिल्लाका चारै स्थानीय जनजीवनमा प्रभावित भएको छ ।

नेकपाले गरेको नेपाल बन्दको घोषणले जिल्लाको छायाँनाथ रारा नगरपालिका, सोरु, खत्याड र मुगुम कार्मारोङ्ग गाउँपालिकामा रहेका सबै सरकारी तथा निजी विद्यालय बन्द रहे ।

सदरमुुकाम गमगढी बजारमा रहेका कार्यालय तथा यातायात बन्द भएको थियो । बन्दका कारण सदरमुकाम गमगढीबाट अन्यत्र जाने सडक यातायातका साधन सदरमुकाममै रोकिए भने मुगु आउने यातायातका साधन बिच बाटोमै रोकिए ।

बजार र सडक यातायात बन्दले प्रभावित भएपनि जिल्लाको सुरक्षाको अवस्था भने सामान्य रहेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमेरेले जानकारी दिए ।

रुकुम पश्चिम जिल्ला प्रतिनिधि मनिषा केसीका अनुसार प्रहरी चढेको गाडी रोक्न खोजेको भन्दै जेठ १३ गते विप्लव नेतृत्वको नेकपाका एकजना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

सादा पोसाकका प्रहरी चढेको एउटा गाडी र ३ ओटा मोटरसाइकल रोकेर चाबी खोस्न थालेपछि प्रहरीले आठबिसकोट नपा–४ का २० वर्षीय गोपीलाल बिकलाई गिरफ्तार गरेको हो ।

रुकुम–डोल्पा सडक खण्डको छोटीबगरदेखि डोल्पातर्फ जाँदै गरेका प्रहरीलाई बन्दको दिनमा गाडी किन चलाएको भन्दै चाबी खोस्न थालेपछि छोटीबगरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका इन्स्पेक्टर प्रमोद क्षेत्रीले जानकारी दिए ।

नेकपा जिल्ला कमिटी सदस्य समेत रहेका बिकलाई जिल्ला ल्याएर मुद्दा प्रक्रिया अगाडि बढाइने उनले बताए ।

डोल्पा जिल्ला प्रतिनिधि विष्णु देवकोटाका अनुसार बन्दको प्रभाव परेन । डोल्पाका १ सय १५ सामुदायिक विद्यालय यार्सागुम्बाको कारण बन्द भइसकेकाले शिक्षण क्षेत्रमा कुनै असर नपरेको हो । जाजरकोट–डोल्पा सडक खण्डमा निर्वाध रूपमा यातायातका सवारी साधनहरू चलेको प्रहरीले जनायो ।

सदरमुकाममा बन्द ‘सफल बनाउ’ भन्ने नारा अङ्कित पर्चा छरिएको पाइएपनि बन्दको कुनै असर नपरेको जिल्ला प्रहरी कार्यालय, डोल्पाका डिएसपी अवदेश बिष्टले बताए ।

अर्घाखाँची  जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार सन्धिखर्क नपा–२ को बाँगी खोला र अर्घाखाँची शिक्षा क्याम्प्सको गेटमा झुण्ड्याएर राखिएको बमलाइ नेपाली सेनाले निष्क्रिय पारेको छ ।

नवलपरासी पश्चिम जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार सुनवल नपा–४ स्थित नगरपालिका कार्यालयको अगाडि फेला परेको पेट्रोल बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।

कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार चन्द्रौटा, जितपुर, गोरुसिङ्गे, तौलिहवा लगायतका स्थानहरूमा बन्दको प्रभाव परेको छ ।

नेत्र विक्रम चन्दको गाँउ शिवगढीमा आवत जावत गर्ने नागरिकहरूलाई प्रहरीले विशेष निगरानी राखेको छ ।

बन्दको पूर्व सन्ध्यामा जेठ १२ गते सामुदायिक अस्पताल र वाणगङ्गा पुल नजिकै बम विष्फोट गराएको भएपनि कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

इन्सेक दाङ जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार पूर्वपश्चिम राजमार्गको भालुवाङमा रोकिएका १ सय ५० सवारी साधनलाई प्रहरीले स्कटिङ गरेर गन्तव्यमा पठाएको जिल्ला प्रहरी कार्यालयका एसपी बेलबहादुर पाण्डेले बताए ।

धनुषा जिल्ला प्रतिनिधि विनोद कुमार रविदासका अनुसार बन्दका कारण प्रदेश नम्बर २ को अस्थायी राजधानी समेत रहेको जनकपुरधाममा प्रदेश सभाको बैठक स्थगित भएको छ ।

प्रदेश सभाको सचिवालयले विप्लव नेतृत्वको नेकपाको बन्दको कारण देखाउँदै जेठ १३ गते बस्ने भनिएको प्रदेश सभा बैठक नै स्थगित गरेको हो ।

दिउँसो २ बजे बोलाइएको बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सुरक्षा अवस्थालाई ध्यानमा राखेर बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले बताए ।

सचिव यादवका अनुसार प्रदेश सभाको वैठक जेठ १४ गते दिउँसो २ बजेको लागि बोलाइएको छ । त्यस्तै बन्दको कारण लामो तथा छोटो दुरीको यातायात बन्द भएकोले सर्वसाधारण मर्कामा परेका छन् भने विद्यालयहरुमा पठनपाठन अबरूद्ध भएको छ ।

रौतहट जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत चन्द्रपुरमा जेठ १३ गते प्रेसर कुकर बम फेला परेको छ ।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले चन्द्रपुर मुख्य चोकभन्दा झण्डै १ सय मिटर पुर्व पट्टी राजमार्गमा चाउचाउको कार्टुनमा उक्त बम राखेको प्रहरीले जनाएको छ ।

बमको हल्लाले बिहानैदेखि यातायात पुर्णरूपमा प्रभावित भएको छ । नेपाली सेनाको टोलीद्वारा उक्त बमलाई डिस्पोज गरेको छ ।

बिहान ५ बजे उक्त स्थानमा शङ्कास्पद बस्तु रहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी टोली पुगेको थियो ।

इन्द्रबक्स गण पुरेनवा गौरबाट गएको नेपाली सेनाको टोलीले उक्त बम डिस्पोज गरेको प्रहरी कार्यालय रौतहटका एसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

जेठ १२ गते साँझ काठमाडौँ स्थित विभिन्न ठाँउमा बम विष्फोटको घटना भएपछि हाल रौतहटमा सुरक्षा ब्यवस्था कडा बनाइएको छ ।

महोत्तरी जिल्ला प्रतिनिधि अजय कुमार साहका अनुसार बर्दिवास नगरपालिका कार्यालय नजिक जेठ १३ गते बिहान फेला परेको कुकर बम सेनाले निष्क्रिय पारेको छ ।

पूर्वपश्चिम राजमार्ग छेउ स्थित नगर कार्यालयको मूल गेट नजिक कुकर बम भेटिएको थियो । प्लाष्टिकको डोरीले बाँधिएको कार्टुनभित्र २.६ लिटर क्षमताको कुकर रहेको र बाहिरबाटै विद्युत तार सहित भेटिएको थियो ।

प्रमुख जिल्ला अधिकारी उमेश ढकालले सेनाको डिस्पोजल टोलीले उक्त बम डिस्पोज गरेको बताए ।

बन्दका कारण महोत्तरीमा यातायात प्रभावित भएको छ । पूर्वपश्चिम राजमार्ग, बिपी राजमार्ग र वर्दिवास जलेश्वर सडक खण्डमा बिहानैदेखि सवारीसाधन चलेनन् ।

इन्सेक दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार नेपाल बन्दको प्रभावको कारण यातायात, विद्यालयमा असर परेको छ ।
बन्दका कारण छोटो तथा लामो दुरीका यातायातका साधन ठप्प रहेका छन् । बन्दको हल्ला चलेसँगै बिहानैदेखि सवारी साधन चल्न सकेनन् ।
यस्तै यस क्षेत्रमा रहेका अधिकांश विद्यालयहरु बन्द रहे । सदरमुकाम खलंगाकै अधिकांश विद्यालयसम्म विद्यार्थी आउन सकेनन् ।
महाकाली नगरपालिका–४ को दुई स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ । जेठ १२ गते राति १० बजे खार खलङ्गा सडकको बङ्गाबगड खानेपानी ट्याङ्की नजिक र सोमबार बिहान सदरमुकाम खलङ्गा विद्यालय नजिकै सङ्कास्पद वस्तु फेला परेको हो ।
बङ्गाबगडमा फेला परेको होक्स बमलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली गएर डिस्पोज गरेको हो ।

इन्सेक ललितपुर जिल्ला प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार शिक्षण संस्थाहरू बन्द रहे भने सार्वजनिक सवारी साधन छिट्फुटरुपमा चले ।
जिल्लाको अन्य अवस्था सामान्य रहेको पाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताए । जिल्लामा भाडाका सबारीसाधन नचल्दा यात्रुहरु प्रभावित भएको पाइएको छ ।
भैँसेपाटी र टुटेपानीमा शङ्कास्पद वस्तु भेटिएकोमा नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय पारेको प्रहरीले जनायो ।


अनलाइन डेस्क