विप्लव नेतृत्वको नेकपाका नेता ओलीलाई रिहा गर्न सर्वोच्चको आदेश

  ०७८ असार ३१ गते

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता हेमन्तप्रकाश ओलीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय प्रकाश कुमार ढुङ्गाना र मनोजकुमार शर्माको असार ३१ गतेको इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

मानवीय दृष्टिकोणबाट संवेदनशिल भई अस्पताल भर्ना भएको अवस्थामा उनलाई थुनामै राख्ने जिल्ला र उच्च अदालतको आदेश बदर गरेको सर्वोच्चले जनाएको छ ।

‘पछि मुद्दामा प्रमाण बुझ्दै जाँदा ठहर बमोजिम हुने गरी प्रस्तुत मुद्दामा हाल मुद्दा पुर्पक्षका लागि साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नुहोला’, आदेशमा भनिएको छ ।

सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार हाल ओलीको मुटुमा समस्या देखिएको र अस्पतालमा भर्ना भएको भनि अस्पतालबाट समेत लेखि आएको आदेशमा उल्लेख छ ।

नेता ओली मुटुमा समस्या देखिएपछि केहीदिन पहिले सहिद गंगालाल हृदय रोग केन्द्रमा भर्ना हुनु भएको थियो ।

उहाँलाई प्रहरीको विशेष टोली र काभ्रे प्रहरीको संयुक्त टोलीले ०७५ सालको चैत १२ गते काभ्रेबाट गिरफ्तार गरेको थियो ।

ललितपुरको नख्खुमा भएको बम विस्फोटको घटना ओलीकै योजनामा भएको आरोपमा प्रहरीले मुद्दा चलाएको थियो ।

ओली उपर हातहतियार तथा खरखजना, विस्फोटक पदार्थ, राजद्रोह र सङ्गठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालत ललितपुरमा मुद्दा विचाराधिन छ ।

२०७६ साल जेठ १० गते जिल्ला अदालतले उहाँलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उहाँ त्यस आदेशविरुद्ध उच्च अदालत हुँदै सर्वोच्च पुग्नु भएको थियो ।


विमला पौडेल