विधिको पालना भए मात्र मानव अधिकारको पूर्ण प्रत्याभूति हुने

विधिको पूर्ण पालना भएमात्र मानव अधिकारको पूर्ण प्रत्याभूति हुने कुरामा जोड दिइएको छ । ६९ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकार सञ्जाल नेपालगञ्जको आयोजना तथा इन्सेक, फियान, उच्च अदालत बारलगायत सङ्घ संस्थाहरूको संयुक्त सहकार्यमा मङ्सिर २४ गते नेपालगञ्जमा आयोजित मानव अधिकार र सङ्घीयता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासका न्यायाधीश सारङ्गा सुवेदीले उक्त कुरामा जोड दिएकी हुन् ।

सुवेदीले विधि निर्माणको साथै विधिको पूर्ण पालना गर्न सके मात्र मानव अधिकारको सम्मान, प्रवर्धन र पालना हुने बताइन् । उनले अधिकारसँगै नागरिक कर्तव्य पनि महत्वपूर्ण रहेको बताइन् ।

सङ्घीय इकाइ प्रहरी कार्यालय नेपालगञ्जका एसएसपी महेशविक्रम शाहले मानव अधिकारले निर्दिष्ट गरेका बुँदाहरूको पालना गर्न सके मानव अधिकारको पूर्ण पालना हुने बताए ।

नेपालगञ्ज उपमनपाका प्रमुख धवल शमशेर राणाले राजनीतिक चेतना फैलिँदै गए मानव अधिकारको सम्मान हुने बताए । उनले स्थानीय तहमा मानव अधिकारको सम्बर्धन र सङ्रक्षणमा आफू प्रतिबद्ध रहेको बताए ।

खजुरा गाउँपालिकी उपप्रमुख एकमाया बिकले स्थानीय तहका जनप्रतिनिधिहरूले मानव अधिकारका विषयवस्तुहरूप्रति सचेत बन्नुपर्ने धारणा राखिन् । उनले ऐन नियम बनाउन मानव अधिकारकर्मीहरूको सुझाव सल्लाह आवश्यक रहेको बताइन् । उनले मानव अधिकारलाई सही ढङ्गले उपभोग गर्न राजनीतिक दलहरूको मूख्य भूमिका रहेको बताइन् ।

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय निर्देशक मुरारी खरेलले आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकारको ख्याल गर्नुपर्ने बताए ।

उच्च अदालत बारका अध्यक्ष बलबहादुर चन्दले सङ्घीय संरचनाका जनप्रतिनिधिहरू मानव अधिकारको विषयमा सचेत रहनुपर्ने धारणा राखेका थिए ।

इन्सेक क्षेत्रीय संयोजक भोला महतले मानव अधिकारको विषयवस्तु उठान गर्दा परम्परागत मात्र नभई समय सापेक्षरूपमा अगाडि बढ्नुपर्ने बताए । गैसस महासङ्घ कावा अध्यक्ष समना भट्टराईले मानव अधिकार लिने दिने भन्दा पनि आत्मसाथ गर्ने विषय भएको बताइन् ।


विनोद पाण्डे