विद्युत सेवा अवरुद्ध हुँदा २ सय ५० घरधुरीका नागरिकलाई समस्या

  ०८१ मङ्सिर १४ गते

सिमकोट गाउँपालिका–७ स्थित धारापोरी गाउँ नजिकै रहेको सडक भत्किएपछि विद्युत सेवा अवरुद्ध हुँदा धारापोरी र चौगानफयाका २ सय ५० घरधुरीका नागरिकलाई समस्या भएको छ । गत कात्तिक १८ गते माथिबाट आएको सुख्खा पहिरोले हिल्दुम विद्युत वितरण केन्द्र सिमकोटद्वारा सञ्चालित विद्युत सेवा अवरुद्ध भएपछि सिमकोट गाउँपालिका–७ धारापोरी र चौगानफयाका २ सय ५० घरदुरी अन्धकारमय जीवन बिताउन बाध्य भएका हुन् ।

सडक अवरुद्ध भएपछि धारापोरीका अधिकांश बिरामीहरूलाई सास्ती भएको छ । सडक अवरुद्ध हुँदा विद्यार्थी, किसान, महिला, अपाङ्गता भएका व्यक्ति समस्यामा परेको स्थानीय जीवन सिंहले बताउनु भयो । पहिरोले तीन ओटा विद्युतका पोलहरू ढालेका कारण विद्युत सेवा अवरुद्ध भएको छ । विधुत सेवा अवरुद्ध भएसँगै सो क्षेत्रका स्थानीय नागरिकले सल्लाको दियालो बाल्नु पर्ने बाध्यता रहेको अर्का स्थानीय जीवन सिंहले गुनासो गर्नुभयो । सिमकोट हिल्सा सडक खण्ड अन्तर्गतको धारापोरी र चाट्टाँगे बिच भागमा पर्ने सडकमा सुख्खा पहिरोले विद्युतको पोलहरूलाई तहसनहस बनाएपछि धारापोरीका ७० र चौगानफयाका १ सय ८० घरदुरी उज्यालोबाट वञ्चित हुनु परेको स्थानीय कृष्णबहादुर शाहीले बताउनु भयो ।

सुख्खा पहिरोले सडक भत्किएपछि बैकल्पिक बाटो नहुँदा धारापोरीका बालबालिकाहरू विद्यालय जानबाट वञ्चित भएको शाहीले बताउनु भयो । उहाँले महिला, बालबालिका, ज्येष्ठ नागरिकलाई स्वास्थ्य संस्थामा उपचारका लागि जान निकै समस्या भएको बताउनु भयो । किसानले उत्पादन गरेका खाद्यय सामाग्री ल्याउन निकै कठिन भएको उहाँको भनाइ छ ।

स्थानीय रामराज शाहीका अनुसार सल्लाको दियालो (झरो) बाल्नु पर्दा एका तर्फ वनजङ्गल फडानी हुने र अर्को तर्फ मानिसको स्वास्थ्यलाई असर गर्ने भएको छ । त्यती मात्रै नभइ मानिसहरूको आँखा कमजोरी हुनुका साथै धुवाँले वातावरणीय प्रभाव बनाउने गरेको उहाँको भनाइ छ । माथिबाट आएको सुख्खा पहिरोले सडक भत्काएपछि यातायात सेवा समेत पूर्ण रूपमा अवरुद्ध भएको छ । सडकमा माथिबाट आएको सुख्खा पहिरोका कारण २ सय मिटर सडक पुरिएकोले यातायात सेवा पूर्ण रूपमा बन्द भएको उहाँको भनाइ छ ।

निर्माण कम्पनीका स्थानीय प्रतिनिधि सरोज रावतले सडक निर्माण कार्य गर्न सुरु गरेपनि तत्काल माथिबाट सुख्खा पहिरो खस्ने गरेको हुँदा पहिरो पन्छाउने कार्य गर्न कठिन हुने बताउनु भयो ।

हिल्दुम विद्युत वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख प्रेम लामाले ढलेका पोलहरूमा गएर विद्युत मर्मत गर्दा अति ज्यान जोखिम भएकोले विद्युत सेवा अवरुद्ध भएको बताउनु भयो । अबको केही दिनमै विद्युत सेवा सञ्चालनमा आउने निमित्त प्रमुख लामाले उल्लेख गर्नुभयो ।

Photo29112024Humla


नन्द सिंह