विद्युत लाइनमा पावर नहुँदा विद्यालयको आईसिटि ल्याव प्रयोग बिहिन

  ०७९ भदौ ९ गते

अदानचुली गाउँपालिकाकोे केन्द्र रहेको श्रीनगर सुर्योदय माविमा आईसिटी ल्याव प्रयोग बिहिन भएका छन । आइसिटि ल्याव सञ्चालन गरेको एक वर्ष वितिसक्दा पनि विद्युत लाइनमा पावर नहँुदा आइसिटि ल्याव प्रयोग बिहिन बनेका हुन् ।

सो ल्याव स्थापना गरेर शिक्षक तथा विद्यार्थीलाई कम्प्यूटर शिक्षा पठनपाठनमा सहज होस भन्ने उदेश्यका साथ नेपाल सरकार संचार तथा सुचना प्रबिधि मन्त्रालय र उर्जा विकास मन्त्रालयको साझेदारीमा आर्थिक बर्ष २०७८÷७९ मा विद्यालयमा २० वटा कम्प्यूटर सेट पु¥याई जडान गरिएको एक बर्ष भईसक्दा समेत विद्युत लाइनमा पावर नहुँदा प्रयोग बिहिन भएका छन ।

कक्षा ६ देखि ८ सम्म कम्प्यूटर शिक्षा भएपनि शिक्षा मन्त्रालयले कम्प्युटर शिक्षा बिषय ल्याए देखिनै विद्यालयमा अध्ययन गर्दै आएका छन् । तर कम्प्यूटर शिक्षा आएदेखि अहिलेसम्म उक्त विद्यालयमा अध्ययन गरेका विद्यार्थीले कुनै प्रयोगात्मक कक्षा लिन समेत नपाएको सो विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्र वीरबहादुर बुढाले गुनासो गर्नु भयो ।

गत वर्ष विद्यालयमा नयाँ कम्प्युटर जडान हुँदा सबै विद्यार्थीले आ–आफ्नो कम्प्युटर प्रयोग गरेर अध्ययन गर्न सहज हने भएको आशा पलाए पनि पावर अभावका कारण हामीहरूको आशा सपनामै सिमित भएको छात्र बुढाको भनाई छ ।

पहिले कम्प्युटर नहँुदा प्रयोगात्मक कक्षा लिन समस्या भए पनि अहिले कम्प्यूटर सेट प्रयाप्त हँुदा पावर नभएपछि प्रयोग बिहिन भएको हो । विभागले गत बर्ष अदानचुलीको पाल्सस्थित कैलाशपुरी मावि र सुर्योदय माविका लागि कोभिड १९ महामारीको समयमा हेलिकप्टरको महङ्गो भाडा तिरेर ल्याए पनि प्रयोग बिहिन भएका छन ।

दुबै विद्यालयका लागि २० कम्प्यूटर सेट, चार सिसि क्यामरा सहितको १ सेट, युपिएस सोलार सिस्टम र फाईबर नेट समेत जडान गरिएको छ । उत्त विद्यालयमा राखिएका सामाग्री प्रयोगमा ल्याउनका लागि जम्मा पाँच किलोवाट क्षमताको पावरको आवश्यक परेको थियो तर त्यसको अन्य कुनै उपाय नभएको सुर्यदय माविका शिक्षक हरि प्रसाद आचार्यले बताउनु भयो ।

शिक्षक आचार्यका अनुसार विद्यालयमा दुई किलोवाड क्षमताको सोलारले नभ्याएपछि विद्यालयको कम्प्युटर ल्याव सञ्चालनमा आउन सकिरहेको छैन । यसैबीच अदानचुली गाउँपालिका भरीका माविमा कम्प्यूटर ल्याव सञ्चालन गर्नुपर्ने भएपनि प्रयाप्त स्रोत नहँुदा विद्यालयमा केही सामाग्री प्रयोग बिहिन हुन पुगेको शिक्षक आचार्यको भनाई छ ।


नन्द सिंह