विद्युतीय कारोबार ऐन, २०६३ का उजुरी कोशी प्रदेशका जिल्ला प्रहरीमा दर्ता र जिल्ला अदालतबाट मुद्दा चल्न सुरूआत

  ०८१ भदौ ११ गते

नेपाल सरकारको ०८० असार ५ गतेको निर्णयपछि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार साइवर क्राइमका मुद्दा देशभरका जिल्ला प्रहरी कार्यालयमा दर्ता र जिल्ला अदालतबाट चल्ने भएको छ ।

नेपाल प्रहरीको साइवर व्यूरोमा उजुरी दर्ता र काठमाण्डौँ जिल्ला अदालतबाट मुद्दा चल्ने साइवर क्राइमका मुद्दा मन्त्रीपरिषद्को निर्णयपछि देशभरका जिल्ला प्रहरी कार्यालयमा दर्ता हुन थालेको छ ।

नेपाल सरकारको निर्णयसँगै कोशी प्रदेशका जिल्ला प्रहरी कार्यालयमा साइवर क्राइमका उजुरी दर्ता भएको र जिल्ला अदालतबाट मुद्दा चल्न सुरूआत भएको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार नेपाल सरकारको निर्णयपछि जिल्ला अदालतमा साइबर अपराध सम्बन्धी एउटा मुद्दा कानुनी प्रक्रियामा छ । जिल्ला प्रहरी कार्यालयले खाँदबारी नगरपालिका–१० चन्दनपुरका २३ वर्षीय प्रज्वल दीप धौलाकोटीले सामाजिक सञ्जाल फेसबुकमा हैरानी गर्ने, अश्लिल शब्दहरू प्रयोग गरी गाली गलौज गरेको आरोपमा ०८० चैत ८ गते गिरफ्तार गरेपछि सोही मुद्दा अहिले जिल्ला अदालतमा चलिरहेको छ । सामाजिक सञ्जालको दुरूपयोग गरी यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आरोपितविरूद्ध जिल्ला अदालतमा ०८० चैत २५ गते विद्युतीय कारोबार ऐन, २०६३ अनुसार साइवर अपराध सम्बन्धी दर्ता गरेको मुद्दा अदालतमा चलिरहेको हो । सो मुद्दामा जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको चैत २५ को आदेशले १ लाख रुपियाँ धरौटी माग गरेको थियो । अदालतको आदेशलगत्तै धरौटी बुझाएर रिहा भएका आरोपितविरूद्ध मुद्दा चालु अवस्थामा छ । त्यस्तैगरी गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिकाबाट गिरफ्तार गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले सङ्खुवासभा प्रहरीको सहयोगमा चिचिला गाउँपालिका-२ का ३२ वर्षीय केशरमान राईलाई ०८० माघ २ गते गिरफ्तार गरेको थियो । आरोपित राईलाई सङ्खुवासभा प्रहरीले ०८० माघ ३ गते थप अनुसन्धानका लागि साइबर ब्यूरोमा पठाएको थियो । आरोपित राई १ लाख रुपियाँ धरौटी बुझाएर रिहा भएका छन् । राईमाथिको मुद्दा जिल्ला अदालत,काठमाण्डौँमा कानुनी प्रक्रियामा छ ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार नेपाल सरकारको निर्णयपछि जिल्ला प्रहरी कार्यालयमा साइवर क्राइमको एक ओटा उजुरी दर्ता भएर कानुनी कारबाहीमा अघि बढेको छ । जिल्ला प्रहरी कार्यालयमा ०८० माघ २३ गते सामाजिक सञ्जाल फेसबुकमा अश्लिल शब्द प्रयोग गरी यौनजन्य दुर्व्यवहार गरेको आरोपमा सुनकोशी गाउँपालिका-९ का ४१ वर्षीय हितराज कार्कीविरुद्ध पीडित पक्षले उजुरी गरेको थियो । आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा ०८० फागुन २३ गते साइवर क्राइम सम्बन्धी मुद्दा दर्ता गरी कारवाही अघि बढाएको छ । प्रहरीमा उजुरी परेलगत्तै फरार भएका आरोपित ०८० चैत ४ गते अदालतमा आँफै हाजिर भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजय कार्कीले बताउनु भयो । कार्कीमाथिको मुद्दा हाल कानुनी प्रक्रियामा छ ।

पाँचथर प्रतिनिधि इवारा जवेगु लिम्बूका अनुसार नेपाल सरकारको निर्णयपछि जिल्ला प्रहरी कार्यालयमा साइवर क्राइमको एक ओटा उजुरी दर्ता गरिएको छ । इलाम जिल्ला, रोङ गाउँपालिका-५ का ३४ वर्षीय सफल कार्कीले सामाजिक सञ्जाल फेसबुकमा अश्लिल भिडियो, फोटा प्रयोग गरी चरित्र हत्या हुने गतिविधि गरेको आरोपमा २१ वर्षीया युवतीले ०८० पुस २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमन्तराज भण्डारीले बताउनु भयो । डिएसपी भण्डारीले जिल्ला प्रहरी कार्यालयमा नेपाल सरकारको निर्णय भन्दा पहिले नै उजुरी भएको र कानुनी प्रक्रिया अघि बढेको भएपनि सरकारको निर्णयपछि सो मुद्दा जिल्ला अदालतमा चलाउन सहज भएको बताउनु भयो । सरकारको निर्णय अघि नेपाल प्रहरीको साइवर अपराध केन्द्रीय अनुसन्धान व्यूरोसँग परामर्शपछि मुद्दा चलाउनुपर्ने बाध्यात्मक अवस्था हटेको बताउनु भयो । आरोपितलाई प्रहरीले पुस २३ गते गिरफ्तार गरी जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम माघ १८ गते मुद्दा दर्ता गराएको छ । जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालको माघ १९ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा छन् । हाल मुद्दा कानुनी चलिरहेको छ ।

तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार नेपाल सरकारको निर्णयपछि जिल्ला प्रहरी कार्यालयमा १५ वर्षीया बालिकाको चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा गतिविधि गरेको आरोपमा म्याङलुङ  नगरपालिका-१ का १६ वर्षीय दुई र १५ वर्षीय दुई गरी चार जना बालकविरूद्ध साइवर क्राइमविरूद्ध उजुरी दर्ता भइ अदालतमा मुद्दा चलेको छ । आरोपितविरूद्ध पीडित पक्षले ०८० मङ्सिर २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी लगत्तै आरोपितलाई सोही दिन गिरफ्तार गरी जिल्ला अदालतमा पुस २६ गते प्रहरीले विद्युतीय कारोबार ऐन, ०६३ बमोजिम जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलको पुस १८ गतेको आदेशले १ लाख रुपियाँ धरौटीमा रिहा थिए । हाल कानुनी प्रक्रियामा छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहालले नेपाल सरकारको निर्णय अघि उजुरी दर्ता वा अदालतमा मुद्दा दर्ता गर्दा साइवर क्राइमका मुद्दामा नेपाल प्रहरीको केन्द्रीय व्यूरोसँग समन्वय गर्नुपर्दा प्रक्रिया ढिला हुने गरेको भएपनि सरकारको निर्णयपछि जिल्लाबाटै उजुरी दर्ता र कानुनी कारबाही अघि बढाउन सहज भएको बताउनु भएको छ ।

खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार जिल्लामा साइवर क्राइमका उजुरी तीन ओटा दर्ता भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ का १८ वर्षीय रन्जल राईले ०८० भदौ २२ गते सामाजिक सञ्जालमा चरित्र गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय मनोज गिरीविरूद्ध सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोपमा आरोपितविरूद्ध ०८० भदौ २२ गते जिल्ला प्रहरी कार्यालयमा साइवर क्राइम शीर्षकमा उजुरी दर्ता गराए । आरोपितले सामाजिक सञ्जालमा मानमर्दन र अश्लिल गाली गरेको पीडितले बताए । पत्रकारिताको आडमा मनोज गिरीले जथाभावी लेखेको भन्दै गिरीविरूद्ध नेपाल पत्रकार महासङ्घ, खोटाङ शाखाले भदौ २८ गते प्रहरीमा उजुरी दियो । आरोपित गिरीलाई प्रहरीले ०८० असोज २० गते गिरफ्तार गर्यो । गिरीले सामाजिक सञ्जालमा चरित्र हत्या गरेको भन्दै गिरीविरूद्ध हलेसी तुवाचुङ नगरपालिका–७ का ३१ वर्षीय सर्वधन बस्नेतले ०८० असोज १९ गते उजुरी दिए । आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा ०८० असोज २५ गते तीन ओटै उजुरीमा एकमुष्ठ साइवर क्राइम शीर्षकमा मुद्दा दर्ता गर्यो । जिल्ला अदालतका न्यायाधीश सुवासबाबु पुरीको असोज २५ गतेको आदेशले एञ्जलको मुद्दामा ३० हजार रुपियाँ, पत्रकार महासङ्घको मुद्दामा २५ हजार रुपियाँ र सर्वधन बस्नेतको मुद्दामा ३० हजार रुपियाँ धरौटी माग गर्यो । आरोपित गिरी सोही दिन धरौटी बुझाएर रिहा भएको अदालतका श्रेस्तेदार सीताराम खड्काले बताए । हाल मुद्दा कानुनी प्रक्रियामा छ । नेपाल सरकारले साइवर क्राइमा उजुरी जिल्ला प्रहरी कार्यालयमा र मुद्दा दर्ता जिल्ला अदालतमा हुने निर्णय ०८१ असार ५ गतेदेखि गरेको भएपनि जिल्ला साइवर क्राइमका उजुरी गएको आर्थिक वर्षदेखि नै परेको र कारबाहीका लागि प्रहरीले मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वेनु कार्कीले बताउनु भयो । नेपाल सरकारको निर्णयपछि साइवर क्राइमका मुद्दामा कानुनी प्रक्रिया झन् छिटो बनाउन सहज भएको इन्स्पेक्टर वेनु कार्कीको भनाइ छ ।


इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर