बन्द विद्यालय सुचारु गर्न मानव अधिकार समूहको माग

  ०७९ पुस २८ गते

बन्द रहेको डाक्नेश्वरी नपा–६ स्थित जनता माध्यमिक विद्यालय कटैया फत्तेपुर यथाशिघ्र सञ्चालनमा ल्याउन मानव अधिकार समूह र बाल अधिकार समूहले माग गरेका छन्।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा डाक्नेश्वरी नगरपालिकामा गठित मानव अधिकार समूह र बाल अधिकार समूहले शिक्षा विकास तथा समन्वय इकाइसमक्ष विद्यालयलाई यथाशिघ्र सञ्चालनमा ल्याउन माग गरेका हुन्।

इकाइका प्रमुख राजदेव यादवसमक्ष प्रस्तुत ज्ञापनपत्रमा स्थानीय जनप्रतिनिधिको प्रयासबाट सञ्चालनमा ल्याउन नसकिएको विद्यालय यथाशिघ्र सञ्चालनमा ल्याउन आवश्यक पहलकदमीका लागि माग गरिएको छ ।

IMG-20230111-WA0014

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले शिक्षाको अधिकारबाट वञ्चित हुनु पर्दा भविष्य अन्यौल बनेको र नजिकिएको परीक्षा बिग्रने चिन्ता बढेको बताउनु भयो । विद्यालयमा विद्यार्थीहरूको पठनपाठनलाई नियमित गरी उनिहरूको शिक्षाको अधिकार संरक्षण गर्नु पर्ने मानव अधिकार समूहका अध्यक्ष चिन्तामणि चौधरीले बताउनु भयो ।

इकाइका प्रमुख यादवले समस्याप्रति गम्भिर ध्यानकर्षण भएको भन्नुहुँदै समस्याबारे बुझेर समाधानको पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । समूहहरूले आफ्ना मागपत्र राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश, इन्सेक मधेस प्रदेश कार्यालय र डाक्नेश्वरी नगरपालिकाको शिक्षा शाखालाई समेत दिएको छ ।

२०५३ सालदेखि सुचारु रहेको बाटो नम्बरी भन्दै देवनारायण यादवले घेराबेरा गरेर बन्द गरेपछि विद्यालयले आवतजावत गर्न बाटो नभएको बाध्यता जनाउँदै पुस १८ गतेदेखि विदा दिँदा पठनपनठन पूर्णतया ठप्प भएको हो ।

विद्यालय बन्दा हुँदा कक्षा १२ सम्म पढाइ हुने विद्यालयमा अध्ययनरत  करिब ५ सय ५० जना विद्यार्थी पठनपाठनबाट वञ्चित भएका हुन्।


मनोहरकुमार पोखरेल