विद्यालय र शिक्षा शाखामा तालाबन्दी, विद्यार्थी र सेवाग्राही मार्कामा

  ०७८ मङ्सिर १३ गते

नेपालको संविधान २०७२ को धारा ३१ (१) मा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने व्यवस्था गरिएको भएपनि भिमदत्त नगरपालिकास्थित सामुदायिक विद्यालयहरु बन्द गरिएपछि विद्यार्थीहरु पठनपाठनबाट वञ्चित भएका छन् ।

सरकारले वृद्धि  गरेको पारिश्रमिक चार महिना बितिसक्द समेत पाउन नसकेको विरोधमा बाल विकासका शिक्षक र विद्यालयमा कार्यरत कर्मचारीहरुले मङ्सिर ८ गतेदेखि विद्यालय तथा भिमदत्त नगरपालिका शिक्षा शाखामा तालाबन्दी गरपछि विद्यार्थी तथा सेवाग्राहीहरु समस्यामा परेका हुन् ।

photo20211126kanchanpur (1)

आर्थिक वर्ष २०७८ / ०७९ को बजेट भाषणमा सरकारले सामुदायिक विद्यालयमा कार्यरत बालविकासका शिक्षक र कर्मचारीको मासिक तलब १५ हजार रुपियाँ पुर्‍याउने घोषणा गरेको थियो । जसमध्ये सरकारले ८ हजार रुपियाँ उपलब्ध गराउने र बाँकी ७ हजार रुपियाँ स्थानीय तहले उपब्ध गराउने उल्लेख छ ।

सरकारले व्यवस्था गरेको पारिश्रमिक भिमदत्त नगरपालिकाले उपलब्ध नगराएको भन्दै बालविकासका शिक्षक र कर्मचारीहरु मङ्सिर ९ गतेदेखि सामुदायिक विद्यालय बन्द गरी भिमदत्त नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेर धर्ना तथा विरोधमा उत्रिएका छन् ।

नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी हुदाँ सेवाग्राहीहरु मार्कामा परेका छन् भने विद्यालय बन्द हुँदा विद्यार्थीहरुको पठनपाठन बन्द भएको छ ।

विद्यार्थीहरुको त्रैमासिक परीक्षा सञ्चालन गर्नु पर्ने समयमा शिक्षकहरुले विद्यालय बन्द गरी सञ्चालन गरेको आन्दोलनले बालबालिकाको पठनपाठन अवरुद्ध भएको भिमदत्त नगरपालिका–१० मटैनाका अभिभावक माया कलौनीले गुनासो गर्नु भयो ।

16 days campaignNepali

उहाँले भन्नु भयो– “विद्यालय बन्द गरिएका कारण विद्यार्थीहरु मार्कामा परेका छन् । त्रैमासिक परीक्षा स्थगित गरिएको छ । विद्यालय बन्द गरिएपछि कक्षा ९ र १० को रजिष्टेशन फर्म भर्न समेत समस्या उत्पन्न भएको छ ।”

शिक्षकहरुले शिक्षा शाखामा तालाबन्दी गरेपछि कार्यालयबाट प्रवाह गरिने दैनिक सेवा, शिक्षासँग सम्बन्धीत सम्पूर्ण कार्य, कार्यसम्पादन मूंल्याङ्कन, शिक्षक कर्मचारीको माग फारम भर्न, विद्यालयको तथ्याङ्क अद्यावधिक गर्न, शिक्षकहरुको तलब, परीक्षा व्यवस्थापनलगायत अन्य प्रशासनिक कार्यमा समस्या भएको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘सेवाग्राहीहरु दैनिक कार्यालयमा आउने गरेका छन् । तर, शिक्षा शाखामा लगाइएको तलाबन्दीका कारण सेवा नलिकनै फर्किने गरेका छन् । तालाबन्दी गरिएको चार दिन बितिसक्दा पनि तालाबन्दी खुलाउन पहल गरेको देखिदैन ।’

photo20211126kanchanpur (2)

नेपाल विद्यालय कर्मचारी परिषद, कञ्चनपुरका कोषाध्यक्ष मेख नाथले सरकारले वृद्धि गरेको शिक्षकहरुको पारिश्रमिक अन्य पालिकाहरुले उपलब्ध गराउँदै आएका भएपनि भिमदत्त नगरपालिकाले आलटाल गर्दै आएकोले विद्यालय तथा शिक्षा शाखामा तालाबन्दी गरेर आन्दोलन गर्नु परेको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘राज्यले दिएको सुविधा नपाउँदा आन्दोलन गर्नु परेको हो । ,सरकारले तोकेबमोजिमको पारिश्रमिक नपाएसम्म चरणबद्ध आन्दोलन जारी राख्छौँ ।’

न्यून पारिश्रमिकमा काम गर्दै आइरहेका बालविकास शिक्षक, कर्मचारी र लेखा समुहका कर्मचारीमाथि विभेद र उपेक्षा गरी सरकारले तोके अनुसारको पारिश्रमिक नपाएपछि बालविकासका शिक्षक र विद्यालय कर्मचारीहरुले आन्दोलन गर्न बाध्य भएको नेपाल बालविकास शिक्षक संघर्ष समिति, कञ्चनपुरका सचिव लक्ष्मी पाण्डेले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘बाध्य भएर विद्यालय बन्द गर्नु परेको छ । विद्यार्थीहरु मारमा पर्दा समेत सरोकारवाला निकाय गैर जिम्मेवार बन्दै गएको छ । संघीय सरकारले शिक्षकहरुका लागि विनियोजन गरेको बजेट स्थानीय तहले आफू अनुकुल खर्च गर्ने गरेको छ ।’

photo20211126kanchanpur (3)

भिमदत्त नगरपालिकाका प्रवक्ता हिमाल चन्दले बालविकास कक्षाहरुमा विद्यार्थी सङ्ख्या न्यून रहेको भएपनि नगरपालिकामा १ सय ५० भन्दा बढी बालशिक्षक र १ सय भन्दा बढी कर्मचारी रहेका कारण अनुगमन समिति निर्माण गरी योग्यता र आवश्यकताका आधारमा बजेटको व्यवस्था गरी कार्यान्वयन गर्ने बताउनु भयो ।

शिक्षक र कर्मचारीहरुले गरेको आन्दोलनका  कारण पठनपाठनमा समस्या हुनुका साथै नगरपालिकाबाट प्रवाह गरिने सेवाहरु पनि प्रभावित भएकाले समस्याको समाधानका लागि प्रक्रिया अगाडी बढेको उहाँले बताउनु भयो ।

 


लिली कुँवर