विद्यालय र बालबालिकालाई चुनावमा प्रयोग नगर्ने राजनीतिक दलको प्रतिबद्धता

  ०७९ वैशाख १८ गते

कर्णाली प्रदेशस्थित क्रियाशील राजनीतिक दलहरूले विद्यालय र बालबालिकालाई चुनावी अभियानका गतिविधिमा संलग्न नगराउने प्रतिबद्धता जनाएका छन् ।

बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेशको आयोजनामा सुर्खेतमा गरिएको एक कार्यक्रममा ठूला विभिन्न आठ ओटा राजनीतिक दलहरूले वैशाख १७ गते उक्त प्रतिबद्धता जनाएका हुन् ।

विद्यालय र बालबालिका शान्ति क्षेत्र भएको भन्दै राजनीतिक दलहरूले आयोजना गर्ने आमसभा, जुलुस, र्‍याली जस्ता कुनै पनि गतिविधिमा संलग्न नगराउने प्रतिबद्धता गरेको अभियानका प्रदेश संयोजक टीकाराम आचार्यले जानकारी दिनु भयो ।

बालबालिकासम्बन्धी ऐन ०७५ को दफा ७ संरक्षण अधिकार उपदफा ७ मा राजनीतिक उद्देश्यका लागि बालबालिकाको प्रयोग गर्न नपाइने व्यवस्था अनुसार नै राजनीतिक दलहरूले उक्त प्रतिवद्धता गरेको संयोजक आचार्यको भनाइ छ ।

उक्त प्रतिबद्धतामा भनिएको छ–‘बालबालिका र शिक्षकलाई कुनै पनि प्रकारका राजनीतिक गतिविधिहरू धर्ना, जुलुस, आमसभा जस्ता कार्यक्रममा सहभागी गराउदैनौँ । विद्यालय तहमा राजनीतिक भातृ सङ्गठनहरूको गठन गर्दैनौँ ।’

‘बालबालिकालाई राजनीतिक तवरले पक्ष विपक्षमा सहभागिता गराउने र दलगत विचार व्यक्त गर्न लगाउँदैनौँ । राजनीतिक दल र नेतृत्वले व्यक्त गर्ने विचार स्वस्थ आलोचनाहरू गर्दा बालबालिका, महिला, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई प्रत्यक्ष असर पुग्ने भनाइ, उखान टुक्काहरू प्रयोग गर्दैनौँ । परिवार, समाज र विद्यालयमा कुनैपनि बहानामा बालबालिका विरूद्ध कुनैपनि किसिमका शारीरिक सजाय, मानसिक हिंसा, शोषण, दुर्व्यवहार र भेदभाव हुन दिदैनौँ ।’–प्रतिबद्धतामा उल्लेख छ ।


पूर्णबहादुर खड्का