विद्यालय भवन निर्माणको काम अलपत्र, पठनपाठनमा समस्या

  ०७९ भदौ ३१ गते

दार्मा गाउँपालिकामा तीन वटा विद्यालय भवन निर्माणको काम अलपत्र पर्दा पठनपाठनमा समस्या भएको छ । बजेट अभावमा दार्मास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रातामाटास्थित नवसर्वसाधारण मावि र दार्माकोटस्थित नेपाल राष्ट्रिय माविको भवन निर्माणकार्य विगत एक दशकदेखि अलपत्र परेको स्थानीयको आरोप छ ।

साविकको शान्ति तथा पुर्ननिर्माण मन्त्रालयको सहयोगमा निर्माण गर्न थालिएको नवसर्वसाधारण मावि र राष्ट्रिय माविको दुईकोठे भवनको काम अहिलेसम्म पर्खालमा मात्रै सीमित छ । आधारभूत विद्यालयमा भने छाना हालिएको छ । बजेट अभावका कारण अलपत्र परेको भवन निर्माणका लागि स्थानीय तहले समेत बेवास्ता गरेको नवसर्वसाधारण माविका प्रद्यानाध्यापक विनोद रोकायाले गुनासो गर्नुभयो ।

‘आधाभन्दा बढी काम त भइसकेको छ, स्थानीय तहले सहयोग गरे भवन निर्माण सक्न सजिलो हुन्थ्यो, उहाँले भन्नुभयो, ‘भवन र कक्षाकोठा अभावका कारण विद्यार्थी कोचाकोच गरेर पढाउनु पर्ने बाध्यता छ । उहाँका अनुसार भवन अभावमा एउटा कक्षाकोठालाई २ भागमा विभाजन गरी कक्षा १ र २ कक्षाका बालबालिका पढाउनुपर्ने अवस्था रहेको छ । यसअघिका जनप्रतिनिधिले अन्य कार्यालयले सुरु गरेको काममा स्थानीय तहले बजेट विनियोजन गर्न मिल्दैन भनेपछि निर्माण अलपत्र परेको उहाँले बताउनुभयो ।

निर्माण कार्य अलपत्र पर्दा भवनका भित्ता, झ्याल र ढोका काम नलाग्ने भइसकेको नेरामावि दार्माकोटका प्रद्यानाध्यापक हेमन्त ओलीले बताउनुभयो । उहाँका अनुसार १९ लाख बजेटमध्ये करिब ७ लाख रुपियाँ खर्च भइसकेको छ । करिब ७० प्रतिशत निर्माणको काम सकिएको भवन अलपत्र पर्दा पठनपाठनमा असर परेको उहाँको भनाइ छ । ‘विद्यालयको भरपर्दो स्रोत छैन, उहाँले भन्नुभयो, ‘स्थानीय तह र अरू निकायले सहयोग नै गरेनन् ।

साविक जिल्ला विकास समितिमार्फत काम सुरु गरिएको भवन निर्माणको काम करिब ९० प्रतिशत सम्पन्न भएपनि प्रयोग गर्न नसकिएको राष्ट्रिय आधारभूत विद्यालयका प्रद्यानाध्यापक सुरेश खड्काले बताउनुभयो । उहाँका अनुसार थप बजेट नआएपछि काम गरेका मजदुरलाई अहिलेसम्म ज्याला दिन सकिएको छैन । विद्यालयमा ३० जना मजदुरले करिब एक महिना काम गरेका थिए । १३ लाख रुपियाँको बजेटमा बन्न लागेको भवनमा करिब ८ लाख रुपियाँ खर्च भएको विद्यालयले जनाएको छ ।

नवसर्वसाधारण माविको दुईकोठे भवनका लागि १३ लाख, राष्ट्रिय माविका लागि १९ लाख र आधारभूत विद्यालयका लागि १३ लाख रुपियाँ विनियोजन गरी मन्त्रालयले ०६८÷०६९ देखि निर्माण थालेको थियो । तर, एक वर्ष नबित्दै शान्ति तथा पुर्ननिर्माण मन्त्रालय भङ्ग भएपछि निर्माणकार्य अलपत्र परेको हो ।

दार्मा गाउँपालिकाका शिक्षा शाखा प्रमुख रोमप्रसाद पाण्डेले साविकको जिल्ला विकास समितिले सञ्चालन गरेका योजनामा पालिकाले बजेट विनियोजन गर्न नमिल्ने बताउनुभयो । ‘जुन निकायले योजना सञ्चालन ग¥यो, त्यही निकायले सम्पन्न गर्नुपर्ने नियम छ, उहाँले भन्नुभयो, ‘हामीले सबै विद्यालयमा प्राथमिकताका आधारमा पूर्वाधार निर्माणको योजना बनाएका छौं । उहाँले छिट्टै ती विद्यालयको पनि समस्या समाधान हुने बताउनु भएको छ ।
PhotoSalyan20220916.


मिना बुढाथोकी