विद्यालय भवन जीर्ण हुँदा पठनपाठनमा समस्या, गाउँपालिकाले सुनुवाइ नगरेको शिक्षक र विद्यार्थीको गुनासो
सर्केगाड गाउँपालिका–१, तुम्च स्थित देवल आधारभूत विद्यालयको भवन डेढ वर्षदेखि जीर्ण भएर पठनपाठनमा समस्या हुँदै आएको छ । जीर्ण भवनलाई मर्मतका लागि गाउँपालिकालाई अनुरोध गर्दा पनि सुनुवाइ नभएको विद्यालयका शिक्षक र विद्यार्थीले गुनासो गरेका छन् ।
पटक/पटक गाउँपालिकालाई नयाँ भवन निर्माणका लागि अनुरोध गरे पनि गाउँपालिका जनप्रतिनिधिले सुनुवाइ नगरेको विद्यालयका प्रधानाध्यापक कालिबहादुर रावतले गुनासो गर्नु भएको छ ।
गत डेढ वर्षदेखि भूकम्पले चर्किएको विद्यालयको भवनमा पठनपाठन भइरहेको छ । कक्षाकोठामा डेस्क बेन्च पर्याप्त छैनन् । भौतिक सामग्री पर्याप्त छैनन् । जस्तापाताले छाएको छानामुनि विद्यार्थीहरूले ढुङ्गामा काठको फल्याक बिछ्याएर विद्यार्थीले अध्ययन गर्नु पर्ने बाध्यता रहेको छ ।
लामो समयदेखि चिसो भुइँमा बसेर पढ्ने गरेको कक्षा ५ मा अध्ययन विष्णु शाहीले गुनासो गर्नुभयो । कक्षाकोठाको भित्ता जताततै चर्किएको छ । पानी परेको दिन त भित्ताबाट पानी पसेर कक्षाकोठा ताल जस्तै हुने गरेको छ ।
कक्षाकोठामै बसेर पढ्ने वातावरण नभएको कक्षा ६ मा अध्ययनरत कविता शाहीले गुनासो गर्नुभयो । भूकम्पले चर्किएको भवनमा डरैडरमा बस्नुपर्ने कक्षा ८ मा अध्ययनरत झरना शाहीले बताउनुभयो । विद्यालयमा पर्खाल नहुँदा पशु चौपाया कक्षाकोठाभित्र छिर्ने गरेकोले पठनपाठनमा समस्या हुने गरेको कक्षा ८ मा अध्ययनरत ज्ञानुमाया ऐडीले बताउनुभयो ।
विद्यालयमा २ सय २० जना बालबालिका त्रासमा पठनपाठन गर्न बाध्य भएको प्रधानाध्यापक रावतको भनाइ छ । उहाँका अनुसार विद्यालयका लागि गाउँपालिकासँग भौतिक संरचनाको माग गरे पनि कसैले सुनुवाइ गरेका छैनन् ।
इन्सेक अनलाइनमा ०८० कात्तिक ५ गते प्रकाशित भएकाेमा समाचारमा सर्केगाड गाउँपालिका शिक्षा शाखा प्रमुख विरजंग शाहीले विद्यालय भवन मर्मत र डेक्स बेन्चका लागि गाउँपालिकाले पहल गर्ने बताउनु भएकाे थियाे ।
त्यस्तै सो विषयमा गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीले हाल पालिकाले भवन निर्माण गर्न सक्ने अवस्था नभएको तर केही भौतिक संरचनाका लागि आफू पनि सहयोगमा जुट्ने भने पनि ०८१ असार अन्तिम भइसक्दा पनि गाउँपालिकाले हालसम्म केही गर्न नसकेको विद्यालय स्रोतले जनाएको छ ।
उक्त विषयमा गाउँपालिका उपाध्यक्ष कार्कीलाई बुझ्दा उहाँले संघसंस्था वा प्रदेश, संघ सरकारले अनुदान दिएपछि मात्रै सम्भव हुने बताउनु भयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
प्रहरी हिरासत जीर्ण हुँदा थुनुवालाई बसोबासमा समस्या
जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासत निकै जीर्ण हुँदा थुनुवालाई बसोबासमा समस्या भएको छ । द्वन्द्वकालमा ध्वष्त भएको प्रहरीको हिरासत मर्मत गरी प्रयोगमा ल्याएपनि जीर्ण अवस्थामा रहँदा थुनुवाहरूलाई बसोबासमा समस्या भएको…
जिल्ला सदरमुकाममा खानेपानीको अभाव
जिल्ला सदरमुकामसमेत रहेको खाँडाचक्र नगरपालिका–१, मान्म बजारमा तीन हप्तादेखि खानेपानीको चरम अभाव भएको छ । जीर्ण अवस्थामा रहेका खानेपानीका पाइपहरू फुटेर पुरै पानी जङ्गलमा जाने भए पनि नगरपालिका र उपभोक्त…
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती
शुक्लाफाँटा नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि त्यस क्षेत्रका ज्येष्ठ नागरिकहरुले सास्ती खेप्नुपरेको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन सरकारले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता…
पहिरोले क्षति गरेको विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित
भीमदत्त नगरपालिका–९ मुसेट्टीस्थित सरस्वती आधारभूत विद्यालयको भवनमा ०८१ भदौ अन्तिम साता अविरल वर्षासँगै आएको पहिरोले विद्यालयको भवनमा क्षति पुर्याएपछि पठनपाठन प्रभावित भएको छ । सडक छेउमै सरस्वती आधारभूत विद्यालय छ…
यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा जिल्ला अदालत, कैलालीले धनगढी उपमहानगरपालिका–२ का हरीश कार्कीलाई कात्तिक २१ गते डेढ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश…