विद्यालय भर्ना अभियानमा समेत जातीय विभेद भएको आरोप

  ०७६ जेठ ६ गते

सदरमुकाम चैनपुरस्थित वडा प्रहरी कार्यालय नजिकै रहेको नमुना निमाविमा विद्यालय परिचरदेखि प्रधानाध्यापक हुँदै विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत दलित समुदायको रहेको भन्दै विद्यालय भर्ना अभियानमा समेत जातीय विभेद हुँदै आएको आरोप छ ।

विद्यालय दलित समुदायकै लागि मात्र भनेर स्थापना तथा सञ्चालन नगरिएको भएपनि सो विद्यालयमा दलित शिक्षक भएको भन्दै स्थानीय गैरदलित समुदायले आफ्ना बालबालिका भर्ना गर्न नमानेको दलित समुदायको आरोप छ ।

कक्षा ६ सम्म पढाइ हुने यस विद्यालयमा गैरदलित समुदायले आफ्ना बालबालिका  भर्ना गर्दैनन् ।

हरेक वर्ष ९५ प्रतिशतभन्दा बढी दलित समुदायका विद्यार्र्थी मात्रै भर्ना हुने गरेको विद्यालयको तथ्याङ्कले देखाएको छ ।

पुरातनवादी सोच, दलित समुदायप्रति हेर्ने दृष्टिकोण र जातीय छुवाछुतकै कारण गैरदलित अभिभावकले विद्यालयमा छोराछोरी भर्ना गर्न नचाहेको सो विद्यालयका शिक्षकहरूको भनाई रहेको छ ।

चार ओटा जीर्ण भवन रहेको यस विद्यालयमा अहिले दलित समुदायकै विद्यार्थी मात्रै भएकाले भौतिक संरचनादेखि पठनपाठनमा समेत कसैले चासो नदिएको विद्यालय व्यवस्थापन समितिको आरोप छ ।

विद्यालयमा सदरमुकाम र आसपासका वादी, कामी, सुनार, रसाइली, दमाईलगायतका दलित समुदायका बालबालिका मात्रै अध्ययन गर्दै आएका छन् ।

दरबन्दी, राहत, बाल कक्षा र परिचर गरेर जम्मा आठ जना शिक्षक तथा कर्मचारी रहेको यस विद्यालयमा विभिन्न सहयोगी संस्थाले शैक्षिक सामग्री सहयोग गर्दै आएका भए पनि गैरदलित समुदायले बालबालिका भर्ना गर्न भने नमानेको शिक्षक धीरेन्द्र सिंह बताउँछन् ।

गैरदलित समुदायका अभिभावक भने पढाइ राम्रो नहुने र भौतिक संरचना पनि राम्रो नभएका कारण छोराछोरी अन्य विद्यालयमा भर्ना गर्ने गरेको बताउँछन् ।

विगत १७ वर्षदेखि आफूले विद्यालयमा समेत जातीय विभेद भोग्दै आएको प्रधानाध्यापक गजेन्द्र रसाइलीले बताए ।

उनले भने–‘२०५८ सालदेखि प्रधानाध्यापकको जिम्मेवारी समाल्दै आएको छु । विद्यार्थीलाई आकर्षण गर्न र शैक्षिक गुणस्तर बृद्धि गर्ने उद्देश्यले विद्यालय पोशाक, कापीकलमलगायतका शैक्षिक सामग्री वितरण गर्दै आएको छु । तर, पनि गैरदलित अभिभावकहरू जातीय कारण नै विद्यार्थी भर्ना गरिहेका छैनन् ।

‘आफू दलित समुदायकै भएका कारण दलित हेडसर भएको विद्यालयमा छोराछोरी पढाउनु हुन्न भन्ने गैरदलित अभिभावकको मानसिकता भएका कारण यस्तो अवस्था आएको हो ।’–प्रधानाध्यापक रसाइलीले बताए ।

हरेक वर्ष सञ्चालन गरिने भर्ना अभियानका क्रममा अभिभावकले ‘दलितको विद्यालय हो’ भर्ना गर्नुहुँदैन भनेको सुन्दा आफूलाई दुःख लाग्ने गरेको शिक्षिका कविता सुवर्णकारले बताइन् ।

२०४१ सालमा स्थापना भएको विद्यालयमा सुरूमा गैरदलित समुदायका विद्यार्थीहरूको बाहुल्यता  रहेता पनि विस्तारै वादी र दलित समुदायका विद्यार्थीको सङ्ख्या बढ्दै गएका कारण गैरदलितका बालबालिकाहरूले विस्तारै विद्यालय छोडदै गएका हुन् ।


रमेश केसी