विद्यालय बन्द गरेर शिक्षक–विद्यार्थी यार्सा संकलन गर्न लेकतिर, पठनपाठन बन्द

यार्सा संकलन गर्न शिक्षक–विद्यार्थीहरु लेकतिर गएपछि साइपाल गाउँपालिका क्षेत्रका विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाभरिका शिक्षक, अभिभावक र विद्यार्थी यार्सागुम्बा संकलनका लागि लेक उक्लिएपछि कक्षा सञ्चालन गर्ने अवस्था नहुँदा विद्यालय बन्द गरिएको हो ।

यार्सा संकलनको मौसम सुरु भएकाले ०८१ वैशाख २४ गतेदेखि असार १ गतेसम्म गाउँपालिकाभरिका विद्यालय बन्द गरिएको साइपाल गाउँपालिकाका शिक्षा संयोजक खडकबहादुर बुढाले बताउनु भयो ।

अभिभावक, शिक्षक र विद्यार्थी सबैजसो विद्यालय छोडेर जडीबुटी संकलनका लागि लेकतिर जाने भएकाले गाउँपालिका शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुको अन्तरक्रियाबाट वर्षे र हिउँदे बिदामा मिलान हुने गरी कम्तीमा तीन साताका लागि विद्यालय बन्द गर्नुपरेको उहाँले बताउनु भयो ।

जडीबुटी संकलन गरिने यो सिजनमा यहाँ हरेक वर्ष अधिकांश विद्यालय बन्द हुने गरेका छन् । गाउँपालिकाभरीका नौ ओटा सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी यार्सालगायत अन्य जडीबुटी संकलनका लागि अभिभावकसँगै लेकतिर जाने गरेका छन् ।

अन्न उत्पादन कम हुने स्थानीयले जेठ र असार महिनामा संकलन गरिने जडीबुटी बेचेर वर्षभरिको खर्च चलाउँदै आएका छन् । त्यसका लागि कतिपय घरमा ताल्चा लगाएर लेकतिर जाने गरेको धलौन माध्यामिक विद्यालय, धलौनका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बसन्त बोहराले बताउनु भयो  ।

यार्सा सिजन सुरु भएसँगै जिल्लाका साइपाल, सुर्मा, मष्टा, छविसपाथिभेरा गाउँपालिका र बुंगल नगरपालिका लगायतका बासिन्दा लेक उक्लिने चटारोमा रहेको स्थानीय घुरन बोहराले बताउनु भयो । साइपाल गाउँपालिकाले वैशाख २४ गतेबाट यार्सा संकलन गर्नु पर्ने सूचना जारी गरे पनि स्थानीय वैशाख दोस्रो सातादेखि नै लेकतिर गइसकेका छन् ।

यार्सा संकलनका लागि शिक्षक, अभिभावक र विद्यार्थीहरु लेकतिर जाने भएकाले साइपाल गाउँपालिका भित्रका विद्यालय वर्षेनी तीन महिना बन्द हुने गर्दछन् । वैशाख पहिलो हप्ता विद्यालय भर्ना भई यार्सा संकलन गर्न लेकतिर हिँडेका विद्यार्थी असारमा मात्रै फर्कने गर्दछन् । आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय पढ्ने बालबालिका यार्सा संकलन गरी आर्थिक उपार्जन गर्ने गर्दछन् ।

विद्यार्थीहरू तीन महिना विद्यालय उपस्थित नभएपछि पाठ्यक्रमको पढाइ अधुरो रहने भएकाले विद्यार्थीले परीक्षामा कम अङ्क ल्याउने गरेको काँडा माध्यामिक विद्यालयका शिक्षक गोरख बोहोराले बताउनु भयो ।

यस भेगमा १० वर्ष उमेरका बालबालिकादेखि ६० वर्ष उमेर समूहका ज्येष्ठ नागरिक समेत यार्सा संकलन गर्न जाने गर्दछन् । ज्येष्ठ नागरिक भन्दा बालबालिकाले नै यार्सागुम्बा बढी टिप्ने भएकाले यार्सा टिप्ने समयमा अभिभावकले बालबालिकालाई आफूसँगै लेकतिर लग्ने गर्दछन् । अहिले माथिल्लो क्षेत्रका बस्तीमा विद्यालय मात्र बन्द होइन गाउँ नै सुनसान हुनेगरेको स्थानीय शंकर बोहराको भनाइ छ । यार्सा संकलनका लागि स्थानीयहरु पाटन उक्लिएपछि गाउँ सुनसान भएको बोहराले बताउनुभयो ।


सत्यराज सिंह