विद्यालय परिसरमा भेटिएको ‘शङ्कास्पद बस्तु’ नेपाली सेनाद्वारा डिस्पोज

थुलुङ दूधकोशी गाउँपालिका–९ लोखीमस्थित जनता माध्यमिक विद्यालय परिसरमा असार ९ गते फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

सदरमुकामदेखि एक दिनको पैदल दूरीमा रहेको विद्यालयमा फेला परेको शङ्कास्पद बस्तु नेपाली सेनाको गोरखनाथ गण खोटाङबाट खटिएको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको नेपाली सेनाका क्याप्टेन शिव कार्कीले बताए ।

घटनास्थल टाढा भएकाले साँझ ६ बजेमात्र उक्त बस्तु डिस्पोज गरेको क्याप्टेन कार्कीले बताए । उनका अनुसार स्थानीयलाई त्रसित पार्नका लागि सो बस्तु राखिएको हो ।

असार ७ गते बर्खे विदा भएर बन्द भएको विद्यालयमा असार ९ गते तारले बाँधेर रातो कपडामा राखिएको उक्त बस्तु स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

विद्यालय प्राङ्गणमा राखिएको उक्त बस्तु फेला परेपछि प्रहरीलाई खबर गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तरकुबीर राईले बताए ।

गाँउपालिका अध्यक्ष भूपालसिंह राईले असार ९ गते एक विज्ञप्ति जारी गर्दै विद्यालय शान्ति क्षेत्र भएको र विद्यालयमा त्यस किसिमको कार्य हुनु निन्दनीय भएको उल्लेख गरेका छन् ।


भोजराज कार्की