विद्यालय परिसरभित्र शिक्षकको हत्या, घटनाका आरोपित गिरफ्तार

  ०७८ भदौ ३० गते

गुराँस गाउँपालिका–८ मालिका मावि लालीकाँडा मुकुट्कका शिक्षक ४२ वर्षीय नगेन्द्रबहादुर बिसीको ०७८ भदौ २९ गते विद्यालय परिसरभित्र हत्या भएको छ ।

दुईजना छोरा अध्ययनको लागि कोहलपुरमा बस्दै आएको र पत्नी काम विशेषले दैलेख सदरमुकाम गएको समयमा विद्यालय नजिक घर भएका शिक्षक बिसीलाई विद्यालयको नयाँ भवनको ‘बरण्डा’ मा धारिलो हतियारले घाँटी रेटी हत्या गरिएको अवस्थामा स्थानीयले फेला पारेको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजीत सुनारले बताउनुभयो ।

इन्स्पेक्टर सुनारका अनुसार पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी र घटनास्थलमा फेला परेको चप्पललाई आधार बनाएर प्रहरीले गुराँस गाउँपालिका–८ की २६ वर्षीया मुना खड्कालाई भदौ २९ गते गिरफ्तार गरेको छ ।

मृतकको शव परीक्षण भदौ ३० गते दैलेख जिल्ला अस्पतालमा गरिएको डा. जीवन ज्ञवालीले जानकारी दिनुभयो ।

शव बुझेको र दाहसंस्कार भदौ ३१ गते गरिने मृतकका दाजु टोपबहादुर बुढाले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

‘राति अबेलासम्म विद्यालय नजिकै आफ्नै छिमेकीको पसलमा भलाकुसारी गरेको व्यक्ति बिहान विद्यालय परिसरमा हत्या गरिएको अवस्थामा फेला पर्नुले घटना सुनियोजित हो’ मानव अधिकार रक्षक सञ्जाल दैलेखका जिल्ला संयोजक विशाल सुनार भन्नुहुन्छ ।

घटनाको प्रभावकारी अनुसन्धान र दोषीलाई कानुनी कारवाहीका लागि अधिकारकर्मीले सरकारसँग माग गरेका छन् ।


अमर सुनार