विद्यालयमा समेत जातीय विभेद कायमै

  ०७७ चैत ३१ गते

पञ्चेश्वर गाउँपालिका–४ स्थित कैलपाल आधारभुत विद्यालयमा अहिले पनि जातीय विभेद कायमै रहेको पाइएको छ ।

कैलपाल आधारभुत विद्यालयमा ०६२ सालदेखि दिवाखाजा पकाउँदै आइरहेका तेजराम सार्कीलाई विद्यालय व्यवस्थापन समितिले निर्णय नै गरेर दिवाखाजा पकाउने कामबाट हटाएको छ ।

९० प्रतिशत विद्यार्थी र पढाउने शिक्षक समेत दलित समुदायकै भएपनि गैरदलित बालबालिकाले दिवाखाजा खान नमानेपछि व्यवस्थापन समितिले खाजा पकाउने कामबाट आफूलाई हटाएको तेजराम सार्कीले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– “मलाई  दिवाखाजा पकाउने कामबाट हटाएर विद्यालय खोल्ने र बन्द गर्ने जिम्मेवारी दिइएको छ । हाल खाजा पकाउने जिम्मेवारी चन्द थर भएका व्यक्तिलाई दिइएको छ । मेरो पक्षमा विद्यालयका शिक्षकहरुले समेत बोल्ने आँट गरेनन् ।”

तत्कालीन जिल्ला शिक्षा कार्यालय हुँदा विद्यालय परिचरमा नियुक्त भएका सार्कीले स्थानीय तहको सरकार आएपछि आफू समस्यामा परेको गुनासो गर्नु भयो ।

नेपालको संविधानमा मौलिक हक अन्तर्गत जातीय छुवाछुत तथा विभेद गर्न नपाइने व्यवस्था भएको र जातीय विभेद विरुद्धका कानुनहरु समेत निर्माण भइसकेको अवस्थामा समाजमा अझै जातीय विभेद कायम भएकोले त्यसको असर विद्यालयमा पनि परेको कैलपाल आधारभुत विद्यालयका शिक्षक मनोजराम औजीले बताउनु भयो ।

उहाँले भन्नु भयो– “पढाउने शिक्षक पनि एक जना मात्र गैरदलित समुदायको हुनु हुन्छ । बाँकी हामी आठ जना दलित समुदायकै शिक्षक छौँ । तर, दलितले पाकएको दिवाखाजा केही गैरदलित बालबालिकाले नखाएपछि समस्या देखियो । शिक्षकहरुले जबरजस्ती खुवाउने कुरा पनि भएन । त्यसैले विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर गैरदलितलाई दिवाखाजा पकाउने जिम्मेवारी दिएका हुन् ।”

समाजमा अहिले पनि जातीय विभेद कायमै भएका कारण यस्तो समस्या आएको विद्यालयका प्रधानाध्यापक उदिराम औजीले बताउनु भयो ।

उहाँले भन्नु भयो– “विद्यालयमा अन्य कुनै जातीय विभेद छैन् । दिवाखाजा पकाएको मात्र गैर दलितका विद्यार्थीले खादैनन् । विद्यालयमा परिचर सार्कीले नै पानी भर्नु हुन्छ । सबैले खाने गरेका छन् ।”

विद्यालयमा भएका समस्या शिक्षक र अभिभावक सबै मिलेर समाधान गर्नेतर्फ अघि बढेकोले सामाजिक रुपमा कायम रहेको जातीय विभेद उन्मुलन गर्न स्थानीय सरकारले पनि सघाउनु पर्ने प्रधानध्यापक औजीको भनाई छ ।


नरी बडु