विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित

  ०८१ मङ्सिर २६ गते

चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी नहुँदा शौचालय प्रयोगविहीन भएको विद्यालयका प्रधानाध्यापक लोकराज देवकोटालले बताउनु भयो । ‘विद्यार्थीलाई खानेपानी त हुँदैन । शौचालयको त कुरै छोडौँ । पिउने पानी घरबाटै ल्याउने शौचालय पनि घरमै जानुपर्छ’ - उहाँले भन्नुभयो ।

Photo11122024Surkhet2

त्यस्तै प्रदेशको राजधानी सुर्खेतमा समेत विद्यालयमा शौचालयको अवस्था त्यस्तै छ । त्रिपुरेश्वर माध्यमिक विद्यालय ढोडेखालीमा कक्षा ९ अध्ययनरत कुशल उपाध्यायले विद्यालयको शौचालय बालमैत्री र वातावरणमैत्री नहुँदा समस्या भएको बताउनु भयो । ‘प्रयाप्त शौचालय छैनन् । चाहेको बेला शौचालय जान सकिँदैन । धेरै भिडभाड हुन्छ । त्यसमा पनि दुर्गन्धित हुन्छ । जसका कारण धेरै विद्यार्थीहरु शौचालय प्रयोग नगरी बस्न बाध्य छन्’ - उहाँले भन्नुभयो ।

शौचालयकै कारण छात्राहरूको पढाइमा समेत प्रभाव परेको छ । कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयका रोशनी गुरुङले आफ्नो विद्यालयमा किशोरीमैत्री शौचालय नभएको भन्दै गुनासो गर्नुभयो । ‘छात्र र छात्राको शौचालय एकैपट्टी नजिकै जोडिएकोले अप्ठारो महशुस हुन्छ । महिनावारीको समयमा प्याड फेर्नपनि समस्या हुन्छ । शौचालय आउन जान समेत टाढा छ । कैयौँ दिन त आफू शौचालय जाँदा कक्षामा शिक्षकले पढाइरहेका हुन्छन्’ - उहाँले भन्नुभयो ।

शौचालयमा साबुन पानी नहुँदा त्यसले झनै समस्या पारेको प्रभात माध्यमिक विद्यालय कोलडाँडाका कक्षा १० मा अध्ययनरत गणेश खड्का बताउनुहुन्छ । ‘शौचालयमा प्राप्त मात्रामा पानी छैन । त्यसैमाथिपनि प्लास्टिकजन्य फोहोरले हैरानी हुन्छ । शौचालय गइसकेपछि साबुन पानीले हात धुनुपर्छ भन्ने यही विद्यालयमा सिकाइन्छ । तर, विद्यालयमा नै साबुन छैनन्’ - उहाँले भन्नुभयो । राम्रो शौचालय र बालबालिकामैत्री वातावरण नहुँदा सिकाइमा समस्या भएको उहाँको भनाइ छ ।

कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्रामका सहायक प्रधानध्यापक डिल्लीराम चपाईंले विभिन्न समस्याका बावजुत शौचालय व्यवस्थापन गर्न समस्या भइरहेको बताउनु भयो । ‘विद्यालयमा विद्यार्थीको चाप धेरै छ । संरचना कम छन् । त्यसैले समस्या भइरहेको छ । शौचालय व्यवस्थापनका विषयमा विभिन्न निकायसँग समन्वय भइरहेको छ’ - उहाँले भन्नुभयो । विद्यालयले बनाइदिएको नियम विद्यार्थीले पालना नगरेका कारण उक्त समस्या आएको उहाँले बताउनु भयो ।

नगरपालिकाबाट यस्ता समस्या समाधान गर्नका लागि आवश्यक पहल भइरहेको वीरेन्दनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख धिरेन्दप्रसाद शर्माले बताउनु भयो । ‘विद्यालयमा व्यवस्थित शौचालय हुन आवश्यक छ । तर, सिमित स्रोत र साधनका कारण व्यवस्थित गराउन सकिएको छैन । यस विषयमा नगर कार्यपालिकाको समेत ध्यानाकर्षण भएको छ । छिट्टै यो समस्या समाधान हुन्छ’ - प्रमुख शर्माले भन्नुभयो ।

कर्णाली प्रदेशका विद्यालयहरूमा शौचालय अभावले छात्रछात्राको पढाइमा प्रभाव पारेको छ । विशेषगरी, ग्रामीण क्षेत्रका विद्यालयहरूमा यो समस्या अझै बढी देखिन्छ । स्वास्थ्य जोखिम, शिक्षाको गुणस्तरमा कमीजस्ता समस्या देखिएका छन् । त्यसैले कर्णालीका विद्यालयहरूमा आधारभूत पूर्वाधार सुनिश्चित नगरिएसम्म शैक्षिक विकासको लक्ष्य हासिल गर्न कठिन हुनेछ । यसका लागि दीर्घकालीन रणनीति र तात्कालीन पहल दुवै आवश्यक छन् ।

Photo11122024Surkhet1


जगतदल जनाला विक