विद्यालयमा विद्याथीहरु चिसो भुइँमा बसेर पठनपाठन गर्न बाध्य

सर्केगाड गाउँपालिका–६ गिउँसी स्थित जनजागरण आधारभूत विद्यालयका विद्यार्थी भूइँमा बसेर पठनपाठन गर्न बाध्य भएका छन् । गत असोजमा गएको अविरल वर्षाले विद्यालय भवन निकै जीर्ण अवस्थामा भएपछि सो विद्यालयका विद्यार्थी चिसो भुइँमा बसेर पठनपाठन गर्न बाध्य भएका हुन् ।

लामो समयदेखि विद्यार्थीहरू चिसो फोहोर भुइँमा ढुँगा बिछ्याएर पठनपाठन गर्दै आएका छन् । ‘चिसो भुइँमा बसेर पढ्नु परेको कक्षा पाँचमा अध्ययनरत दिनेश लाबडले गुनासो गर्नुभयो ।  पानी परेको दिन त भित्ताबाट पानी पसेर कक्षाकोठामा ताल हुँदा पठनपाठनलाई समस्या हुने गरेको गुनासो गर्नुभयो ।

त्यस्तै कक्षा पाँच कक्षामा अध्ययनरत सुरेश शाहीको अनुसार कक्षाकोठामा ढुङ्गा, काठको फल्याक बिच्छ्याएर पढ्नु पर्ने बाध्यता छ । लामो समयदेखि जीर्ण अवस्थामा रहको विद्यालयलाई अवलोकन गर्नका लागि स्थानीय सरकारसँग पटकपटक माग राख्दा पनि स्थानीय तहले नै बेवास्ता गर्ने गरेको शिक्षक नन्दलाल लवाडले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेगमल लाबडका अनुसार विद्यालय नै जोखिम अवस्थामा छ, समयमै पाठ्यपुस्तक पनि आइपुग्दैनन्, पढाइमा झन बाधा आउँछ करिब दुई सय जना भन्दा बढि विद्यार्थीको भविश्यमाथि खेलबाड गरेजस्तो महसुस गराएको छ । स्थानीय तहले पनि जोखिम अवस्थामा रहेको विद्यालयलाई त्यति ध्यान नदिएको उहाँले बताउनु भयो । कक्षाकोठाका भित्ता पनि चर्किएका छन् । पानी परेको दिन जस्ता पाताबाट पानी चुहिने भएकाले कक्षाकोठामा ताल बन्ने गरेको स्थानीय अभिभावक रुपधन लाबडले जानकारी गराउनुभयो ।

सर्केगाड गाउँपालिका शिक्षा शाखा प्रमुख बिरजन शाहीले विद्यालय भवन मर्मत र डेक्सबेन्चका लागि गाउँपालिकाले पहल गर्ने मात्रै प्रतिक्रिया दिनु भएको छ । स्थानीय तहले भवन निर्माण गर्न सक्ने अवस्था छैन । सङ्घ वा प्रदेश सरकारले अनुदान दिएपछि मात्र सम्भव हुने उहाँले बताउनुभयो ।

Photo20230108Humla


नन्द सिंह